गर्मी मौसमसँगै वनमा आगलागीका घटनामा वृद्धि भएको छ।
सुख्खा मौसममा हावाहुरी चलेर आगो वनभरि फैलने हुँदा त्यसले वर्षेनी सैयौं हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ।
हालसम्म जिल्लाका झन्डै दुई दर्जन बढी वन क्षेत्रमा आगलागीका घटना भइसकेको छ भने एकैसाथ जिल्लाको एक दर्जन बढी वनमा आगो लागिरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए।
दाङका विभिन्न वनहरूमा गरेर हालसम्म ६ सय ३८ हेक्टर क्षेत्रमा आगलागी भइसकेको छ। त्यसबाट हजारौं साना बोट विरुवा र जीव जन्तु मरेका छन्।
सूचना अधिकारी केसीका केसीका अनुसार अम्बिकेश्वरी वन अन्तरगतको घोराही उपमहानगरपालिका वडा नं. ७ घुस्रास्थित जनभावना सामुदायिक वन, घोराहीको पाण्डवेश्वरी सामुदायिक वन, घोराहीस्थित सरस्वती सामुदायिक वन, तुलसीपुरको धारापानी सामुदायिक वन, घोराहीकै जनसेवा सामुदायिक वन, घोराहीको गोरक्ष सामुदायिक वन, घोराहीको पाण्डवेश्वरी सामुदायिक वन धारापानी, घोराहीको सरजु सामुदायिक वन, दंगिशरण गाउँपालिकास्थित सरस्वती सामुदायिक वन शान्तिनगर, घोराहीको सुनपुरस्थित डाँफे सामुदायिक वन, तुलसीपुर १३ को जनकल्यान सामुदायिक वनमा आगलागी भएको छ ।
त्यसैगरी तुलसीपुर १३ कै ब्राह सामुदायिक वन, सोही ठाउँकै चिसापानी सामुदायिक वन, बबई गाउँपालिका वडा नं. ५ स्थित खैरभट्टी सामुदायिक वन, घोराही ३ को खैरेनी सामुदायिक वन, घोराही २ को गौरी सामुदायिक वन, घोराही ४ को स्यालापानी सामुदायिक वन, सोही ठाउँकै पालुथान सामुदायिक वन, वशन्तापुर सामुदायिक वन र सोही ठाउँकै सुनपुर सामुदायिक वनमा पनि डढेलो लागेको छ।
डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले राष्ट्रिय वन, दाङ देउखुरीका अन्य केही वन क्षत्र र बाँके राष्ट्रिय निकुन्जको दाङ खण्डमा पनि आगो लागेको भए पनि त्यहाँको यकिन विवरण भने प्राप्त हुन नसकेको बताए।
वन जंगल र जीवजन्तुको नाशसँगै गाउँहरू नै जोखिममा पार्ने गरी लाग्ने आगो अधिकांश मानिसकै लापरबाहीले लाग्ने गरेको केसीले बताए। आगो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा वर्षेनी वनमा आगलागीका घटना वृद्धि हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। अधिकांश आगलागीका घटना मानिसकै कारणले हुने गरेको बताएका उनले तर केही घटना भने सुख्खा मौसम भएको हुँदा पहाडबाट ढुंगा खसेर आपसमा ठोक्किँदा आगो लाग्ने गरेको बताए।
कतिपयले मनोरञ्जनका लागि जानाजान र कतिपयले चुरोट सेवन गरेपछि लापरबाहीपूर्वक फाल्दा त्यहीँबाट आगो वनमा सल्कने गरेको केसीले बताए।
आगो लगाउनमा संलग्नको पहिचान भए वन ऐन २०४९ ले क्षतिको विगो भराउने, एक वर्ष कैद र १० हजार जरिवाना र दुबै हुन सक्ने व्यवस्था छ। तर वन डिभिजन र सामुदायिक वन उपभोक्ता महासंघले आगो लगाउनेलाई पक्राउ गर्न र कारबाही गर्न भने सकेको देखिँदैन । त्यस्तै आगो लागि सकेपछि त्यो निभाउन स्थानीय उपभोक्ता नै खटिने गरेको पाइन्छ।
वनको डढेलो मानव बस्तीसम्म आउन थालेको खण्डमा भने प्रहरी प्रशासन पनि त्यो निभाउन जाने गरेको छ। तर वारुण यन्त्र भने वनमा लागेको ढडेलो निभाउन प्रयोग भएको रेकर्ड हालसम्म जिल्लामा छैन।
आगो लाग्न नदिन र लागेपछि पनि तत्कालै नियन्त्रण गर्न सरकारले लाखौं रुपैयाँ खर्च गर्दै आएको भए पनि त्यो प्रभावकारी बन्न नसक्दा आगलागीका घटनाहरू न्यूनीकरण हुन नसकेको जानकारहरू बताउँछन्। वनमा सामान्य अग्नी रेखा बनाउने गरिएको भए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन।
वनमा लाग्ने डढेलोबाट साना ठूला वन्यजन्तु मर्नुको र वन मासिँदै आएको छ। त्यसले जैविक विविधतामा नकारात्मक असर पार्दै आएको छ।
आगो नियन्त्रणका लागि सचेतनामूलक तालिम, होर्डिङ बोर्ड राख्ने, पर्चाहरू वितरण गर्ने र उपभोक्ताहरूलाई सचेत गराउने काम हुँदै आएको भए पनि त्यो खासै उपलब्धि मुलक बन्न सकेको छैन।
वनमा गर्ने र हुने आगलागीलाई वन अपराधका रूपमा कानुनमा उल्लेख गरिएको भए पनि आगो लागउने व्यक्तिहरू भने कहिल्यै समातिएर कारबाहीमा परेको सुन्नमा आएको छैन ।