यात्रुबाहक बस चलाउँदै गरेका एक जना चालकलाई छारे रोग लागेपछि बस दुर्घटना भएको छ।
बिहीवार दिउँसो तुलसीपुरबाट घोराहीका लागि छुटेको लु २ ख १६०२ नम्बरको बस चालकलाई छारे रोग लागेपछि बस सडक लेन छोडेर ढुंगा थुप्रोमा ठोक्किएर दुर्घटना भएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी अन्दाजी ३६ वर्षीय यादव नेपालीलाई बस चलाउँदा चलाउँदै छारे रोग लागेर स्टेरिङमै लडेपछि माथिल्लो लेनबाट गुड्नुपर्ने बस सडकको दक्षिणतर्फको लेन नाग्दै ढुंगोको थुप्रोमा गएर ठोक्किएको हो।
उनले तुलसीपुरबाट बस चलाउँदै झन्डै १७ किलोमिटर दूरी पार गरिसकेका थिए। बस दुर्घटनामा परी ११ जना यात्रु सामान्य घाइते भएका घटनास्थलबाट ट्राफिक प्रहरी डिल्लीराज आचार्यले जानकारी दिए। बसमा झन्डै ३० जना जति यात्रु भए पनि ११ जनालाई सामान्य चोट पटक लागेको ट्राफिक आचार्यले बताए।
‘दुर्घटना परेका बस त्यहीँ बाटो मै छ। हामीले बसका मालिकलाई बोलाएर बिरामी चालकलाई उपाचर गर्न पठाएका हौं,’ट्राफिक अचार्यले भने ‘उहाँलाई के भएको हो त्यो त म ठ्याक्कै भन्न सक्दिनँ तर, लक्षण हेर्दा मृर्गी भएको जस्तै देखिन्थ्यो।’
घोराही उपमहानगरपालिका वडा नं. १० सौडीकुलामा प्रगती मेडिकल सञ्चालन गर्दै आएका एकजना स्वास्थ्यकर्मी महेन्द्र रावतले भने ती चालकलाई मृर्गी नै भएको दाबी गरे।
‘मेरै आँखा अगाडि मेरै घर अगाडि करिब सवा ४ बजेतिर एकाएक बस सडक छोडेर विपरीत लेनको ढुंगाको थुप्रोमा चढेपछि हामी दौडेर त्यहाँ पुगेका थियौं,’ स्वास्थ्यकर्मी रावतले भने ‘त्यहाँ पुग्दा यात्रु चिच्याइरहेका थिए भने चालक स्टेरिङमा घोप्टो परेर घ्याँर घ्यार गरिरहेका थिए।’ स्टेरिङमा घोप्टिएका चालकलाई आफू र परिचालकले निकालेको राउतले जानकारी दिए।
‘परिचालकलाई खुट्टा समात्न लगाएर मैले चालकको टाउको समातेर तानेर बसभित्रै सजिलो गरी सुताएका हौं,’राउतले भने।
बसको स्टेरिङभित्र चालकको खुट्टा र हात अड्केको अवस्थामा आफूहरूले उद्धार गरेको रावतले बताए।
उद्धार गर्दा चालकको मुखबाट फिज आएको तथा घ्याँर घ्याँर गरिरहेको अवस्था रहेको उनले जानकारी दिए।
‘चालकलाई मृर्गी नै भएको थियो। यो अचानक हुने गर्छ। जेहोस् आज एउटा ठूलो दुर्घटना टर्यो,’स्वास्थ्यकर्मी रावतले भने।
स्वास्थ्यकर्मी रावतले छारे रोगका बिरामीलाई सवारी साधन चलाउन दिन नहुने बताए।
‘यो कतिबेला हुन्छ केही निश्चित हुँदैन। त्यसैले छारे रोगका बिरामीले कुनै पनि बहाना चलाउनु वा त्यस्ता बिरामीलाई चलाउन दिनु गम्भीर त्रुटी हो,’ रावतले भने ।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा गत पुस ६ गते २३ जनाको मृत्यु भएपछि प्रदेश प्रहरीले सडकमै चालकको स्वास्थ्य चेकजाँच गर्दै आएको छ । तर त्यो चेकजाँचका क्रममा यस्ता गम्भीर खालका बिरामी फेला नपार्नुले सडकमा गरिँदै आएको स्वास्थ्य चेकजाँचको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको कतिपय बताउँछन्।