दाङको विभिन्न भागमा आएको हावाहुरीले लाखौंको क्षति भएको छ। विद्यालय,स्वास्थ्य चौकीसहित एक दर्जन घरका जस्तापाता हावाले उडाइदिएको छ।
शुक्रबार बिहान आएको हावाहुरीले राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रा नाकास्थित स्वास्थ्य चौकीको जस्ता पाता उडाइदिएको छ।
त्यस्तै, १८ गते मध्यरातमा आएको हावाहुरीले राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोलास्थित ज्योति आधारभूत विद्यालयको जस्तापाता उडाइदिएको छ । विद्यालयको दुइटा कोठाको जस्तापाता उडाउनुका साथै बरण्डाको देवाल समेत भत्काएपछि पठनपाठन प्रभावित भएको छ।
गएरातिको हावाहुरीले जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ५ शितलपुर निवासी विभिन्न व्यक्तिहरूको घरमा क्षति पुर्याएको छ।
स्थानीय रामकुमार थापाको घरको जस्तापाता, पहल सिंह वलीको कुखुरा फर्मको जस्तापाता, विनोद बस्नेतको गोठको जस्तापाता र सोही ठाउँकै मुक्तबहादुर केसीको जस्तापाताले छाएको घर भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
देउखुरीको राजपुर गाउँपालिकामा पनि हावाहुरीले विभिन्न व्यक्तिको घरमा क्षति पुर्याएको छ।
गाउँपालिकाको वडा नं. १ निवासी बासुदेव डाँगीको घरको जस्तापाता उडाइदिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहका अनुसार स्थानीय गीता सार्की, चन्दकला विसी, गुरुङखोला निवासी विष्णुबहादुर बूढाको घर र राजपुर गाउँपालिका वडा नं. २ मटेरिया निवासी झुपलाल कुँवरको भान्से घर हावाहुरीले भत्किएको छ।
त्यसैगरी, सोही गाउँपालिकाको वडा नं. २ प्रतापुर निवासी हरिप्रसाद चौधरीको घरमा चट्याङले क्षति पुगेको छ। विवरण संकलन कार्य जारी रहेको प्रहरीको भनाइ छ ।