सुख्खा मौसम सुरू भएसँगै दाङमा आगलागीका घटनामा वृद्धि भएको छ।
दुई दिनमा दाङमा चार घरमा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
आवश्यक सावधानी नपनाउनु र आगोलागी भइसकेपछि आगो निभाउने दमकल समयमै उपलब्ध नहुनु जस्ता कारणले बढी क्षति हुने गरेको छ।
गएराति दाङको टरिगाउँ एयरपोर्ट नजिकैको एउटा काठ मिलमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित ३५ वर्षीय ऊँ बहादुर चौधरीको काठ मिलमा गएराति भएको आगलागीबाट लाखौंको काठ, काठ चिर्न प्रयोग हुने औजार, एउटा मोटरसाइकल, दुइटा साइकल लगायतका सामग्री जलेर नष्ट भएको छ।
आगलागीबाट चौधरीको रा २ प ८४०८ नम्वरको मोटरसाइकल जलेर ध्वस्त भएको छ। अग्नी पीडित चौधरीका अनुसार एउटा बजाजको १५० सिसीको पल्सर मोटरसाइकल, दुइटा साइकल, काठ चिर्न प्रयोग हुने चिरान मेसिन, खराद मेसिन, साइजर, कम्प्रेसर, कटर, ग्लेन्डरलगायतका मेसिन जलेर नष्ट भएको छ।
त्यसैगरी, विक्री गर्नको लागि तयारी अवस्थामा बनाएर राखिएका बक्स पलङ,सोफोसेट, किचेन र्याक लगायत लाखौंको काठ पनि जलेर नष्ट भएको छ।
चौधरीले गएराति सवा १२ बजेतिर स्टोर रुमबाट आफू सुतेको घरसम्म आगोको लप्का देख्दा होसहवास् उडेको बताए। आगो लागेलगत्तै गाउँले र छिमेकीलाई हारगुहार गरेपछि उनीहरूले आगो निभाउन सहयोग गरेको चौधरीले बताए।
उनले उपमहानगरपालिकाको दमकल भने ढिला गरी आइपुगेको बताए। आगो लागेको दुई घन्टापछि मात्रै दमकल आइपुगेपछि मंगलबार बिहान सवा २ बजेतिर मात्रै आगो निभाउन सम्भव भएको चौधरीले बताए। नगरपालिकाबाट एयरपोर्टको दूरी साढे २ किलोमिटरको दूरीमा पर्छ । दाङका १० स्थानीय तह मध्य हालसम्म तुलसीपुर र घोराही उपमहानगरपालिका र लमही नगरसँगमात्रै दमलक उपलब्ध छ ।
के कारणले आगोलागी भएको हो भन्ने यकिन भइसकेको छैन। तर,पीडित चौधरीले भने ‘रिसिवी’का कारण कसैले आफ्नो काठ मिलमा आगो लगाइदिएको आरोप लगाए।
‘विद्युत सर्ट भएर आगो लागेको हैन, किनकि आगो लागि रहँदा घरमा बत्ती थियो, पछि मैले नै मिटर बक्स अफ गरेको हुँ,’चौधरीले थपे ‘आगो गोदामबाट सल्केको देखिन्थ्यो । कोही दुष्टले आगो लगाइ दिएजस्तो छ।’ इलाका प्रहरी कार्यालय तुलसीपुरले भने घटनाबारेरे अनुसन्धान गर्न बाँकी नै रहेको बताएको छ ।
शान्तिनगरमा एकै परिवारका ३ घर जले
दाङको शान्तिनगर गाउँपालिकामा सोमबार दिउँसो एकै परवारको तीन घरमा आगलागी भएको छ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित जुम्लेकुलामा एकै परिवारका बुद्धिराम रेउले, गौरीलाल रेउले र कुलबहादुर रेउलेको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
ईलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार आगलागी बाट २ वटा गोरु, ६ वटा बाख्रा , २ वटा बंगुर जलेर मरेका छन्। त्यसैगरी एउटा मोटरसाइकल पनि जलेर नष्ट भएको छ । नगद, गरगहना, लत्ता कपडा तथा अन्नपात गरी लाखौंको क्षति भएको छ ।
आजभोलिको सुख्खा र हावाहुरी चल्ने मौसममा आगो पूर्ण रूपमा ननिभाउँदा मानवीय त्रुटिका कारण तीन घर जलेर नष्ट भएको उनले बताए।
सहर बजारमै भएका आगलागीका घटनामा समयमै दमकल पुग्न सक्दैन भने गाउँघरमा हुने आगोलागीका घटनामा त झनै दमकल पुग्ने सम्भावना एकदम न्यून छ। यस्ता घटनापछि भने जनप्रतिनिधिले जनताको जिउधनको सुरक्षा गर्न चासो पटक्कै दिएनन् बरु उनीहरूले आफ्नो लागि महँगा गाडी खरिदमात्रै गरेको भन्दै व्यापक आलोचना बढेको छ।