सल्यानका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाको सामुदायिक वनमा लागेको आगोबाट दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले शनिबार बिहान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ स्थित भूवनेश्वरी सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर सिमपानी निवासी ६५ वर्षीय पेन्टी बोहराको मृत्यु भएको जानकारी दिए।
वनको आगो निभाउने क्रममा स्थानीय ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन्। उनको जिल्लाको उपचारपछि थप उपचारका लागि बाँके जिल्लामा रेफर गरिएको जिल्ला प्रहरी प्रवक्ता पंचलाल गोलेले जानकारी दिए।
जिल्लाको शारदा नगरपालिका ९ दुवेरी टोल निवासी अन्दाजी ६३ वर्षीय गोर्बधन पुनको पनि वनमा लागेको आगोको कारण मृत्यु भएको छ। काफलखोली सामुदायिक वनमा शुक्रबार बेलुका पुनको शव डढेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक गोलेले बताए।
प्रहरीले पुन वैशाख २४ गते घरबाट गाउँघरमा हुने साँस्कृतिक कार्यक्रममा जान भनि गएको र त्यही क्रममा वनको डढेलोमा परेर मृत्यु भएको बताएको छ।
त्यस्तै, सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किदा छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा झन्डै एक दर्जन जति घर जलेर नष्ट भएको प्रहरीले बताएको छ।
दाङमा वनको डढेलोबाट एक जना घाइते
दाङमा पनि आगलागीबाट एक जना गम्भीर घाइते भएका छन्।
शनिबार दिउँसो ३ बजेतिर जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ तित्रकोटलोसे निवासी ७० वर्षीय नवराज थापा मगर गम्भीर घाइते भएका छन्।
मगरको शरीरको पछाडिको भाग जलेको प्रहरीले बताएको छ। उनको हाल लमहीमा उपचार भइरहेको छ।
आगलागीबाट मगरको घरका साथै नजिकै रहेको थप दुई वटा गोठमा समेत आगलागी हुँदा २ वटा बाख्रा र ४ वटा बंगुरको बच्चा समेत जलेर मरेको प्रहरीले बताएको छ।
आगलागीबाट झन्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।