दाङ जिल्लाको एउटा सामुदायिक वनमा ठूलो मात्रामा अवैध रूपमा सालका रुखहरू काटिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष, त्यहाँस्थित खानेपानी सामुदायिक वनका अध्यक्षको मिलेमतोमा ठूलो मात्रामा सालका रुखहरू काटिएको भन्दै उपभोक्ताहरूले त्यसको विरोध गरेका छन्।
वडा नं. १९ का वडा अध्यक्ष रामबहादुर योगी,वनकी अध्यक्ष चन्द्रा वलीको मिलेमतोमा सामुदायिक वनको एक सय बढी सालका रुखहरू काटेर नष्ट गरेको ती उपभोक्ताले जानकारी दिए।
त्यसमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि हचुवाको भरमा वन फडानी गर्न अनुमति दिएको उनको आरोप छ।
‘मेयरदेखि वडा अध्यक्ष र वनका अध्यक्ष सबै नेकपाका भएको हुँदा प्रकृया नै पूरा नगरी हामीले वर्षौंदेखि हुर्काएका र जोगाएर राखेका सालका रुखहरू काटेर नष्ट गरिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘अरुले जे जस्तो गरेता पनि वन महासंघका काम गरेर देश विदेश घुमेका मेयर पाण्डेले त प्रकृया पूरा गर्नु पर्दथ्यो।’
विजौरीदेखि छिल्लिकोटसम्म जोड्ने ३२ किलोमिटर सडक निर्माण गर्ने सवालमा ती रुखहरू प्रकृया नै पूरा नगरी काटिएको हुँदा त्यहाँ विवाद चुलिएको छ।
१० मिटर चौडाइको सडक निर्माण गर्ने सवालमा सडक डिभिजनले सेन्टरबाट सडक लैजाने कि छेउबाट लैजाने भन्ने सवालमा कुनै पनि निर्णय नगर्दै मेयर, वडा अध्यक्ष र वन समूहका अध्यक्षको मिलेमतोमा लाखौं मूल्यका रुखहरू अवैध रूपमा काटेर नष्ट गरिएको भन्दै त्यहाँका उपभोक्ताहरूले आक्रोश पोखेका छन्।
तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेले साधारण सभाले निर्णय पारित गर्नु भन्दै वन काट्ने अनुमति दिएका थिए। तर, खानेपानी सामुदायिक वनले भने साधारणसभा नै डाकेन र त्यो निर्णय पनि नगराएर मनोमानी ढंगले रुख काटेको छ।
मेयर पाण्डेले रुख काट्न अनुमति दिनुका साथै रुखहरू काट्नको लागि उपमहानगरकै डोजर समेत पठाएर ती रुखहरु काट्न लगाएका थिए ।
एक जना वनका पदाधिकारीले पनि प्रकृया नै पूरा नगरी ठूलो मात्रामा वन फडानी गरिएको हुँदा त्यसबारेमा छानबिन भइरहेको सेतोपाटीलाई बताए।
‘कार्य योजनाबिना नै हचुवाको भरमा ठूलो मात्रामा रुखहरू काटेर नष्ट गरेको भन्ने उपभोक्ताले खबर गएपछि मैले नै उपमहानगरपालिकाको डोजरलाई रुख काट्न नदिएर फिर्ता पठाइ दिएको हुँ,’ एक जना वनका पदाधिकारीले भने, ‘त्यसपछि मलगायत डिभिजन वन कार्यालयका पदाधिकारीलाई फोनमा अनेक खालका दबाब दिन थालिएको छ।’ वनका ती कर्मचारीले प्रकृया नै पूरा नगरी मेयरले वन काट्न अनुमित दिनु गलत भएको बताए।
वडा अध्यक्ष र वन समूहका अध्यक्षले पनि स्थानीयसँग छलफल तथा परामर्श समेत नगरेको भन्ने जनगुनासो आएको हुँदा वन फडानी रोक्नु परेको जानकारी दिए।
उनले साना ठूला गरी झन्डै एक सयको हाराहारीमा सालका रुखहरू काटेर नष्ट गरिएको अवस्थामा फेला परेको हुँदा त्यसवाबारे अनुसन्धान सुरू भएको बताएका छन् ।
यो विषयमा बुझ्न खोज्दा डिभिजन वन कार्यालयका प्रमुखले कुनैपनि प्रतिक्रिया दिएनन्। तर मेयरले भने सामुदायिक वनको निर्णय अनुसार नै सडक निर्माणको लागि रुखहरू काट्नको लागि आफूले सहमति दिएको बताए।
‘छिल्लिकोट जाने पर्यटकीय मार्ग निर्माणको लागि स्थानीय खानेपानी सामुदायिक वनले ल्याएको निर्णय अनुसार मैले अनुमति दिएको हो,’ मयेर पाण्डेले भने ‘रुख काट्ने काम प्रकृयागत ढंगले नै गरिएको हुनुपर्छ।’