ब्रिटिस आर्मीमा भर्ती हुनुभन्दा पहिला उनको परिवारले चरम गरिबी भोगेको थियो।
उनले निकै संघर्षका साथ एसएलसी उत्तिर्ण गरे। उनको बुवाको सपना थियो छोरा ब्रिटिस आर्मी होस् भन्ने र संघर्ष गर्दै उनले बुवाको सपना पूरा गरिछाडे।
सन् १९९२/९३ तिर बुवाको त्यो सपनालाई पूरा गर्न गोरखा पल्टनमा भर्ती भए।
तर, त्यो सपना बीचमै तुहियो।
सन् २०१० अप्रिल १७ गते उनको लागि कालो दिन।
ब्रिटिस आर्मीमा भर्ती भएका उनी नेटो(उत्तर एटलान्टिक सन्धि संगठन)को मिसनमा अफगानिस्तान पुगे। त्यही दिन दिउँसो विद्रोहीले थापेको विद्युतीय धरापमा उनी परे। २५ जनाको टोलीमा दुर्भाग्यले उनीमात्र परे र दुवै खुट्टा गुमाउन पुगे।
उनी हुन्, रोल्पाका स्थायी बासिन्दा हरि बूढामगर।
‘त्यतिबेला सायद व्रिदोहीले अमेरिकाको ट्वीन टावर आक्रमणको तयारी गरिरहेको सूचना आएको थियो, त्यही भएर हामीलाई त्यहाँ खटाइएको थियो र म बीचमै धरापमा परें,’ त्यतिबेलाको क्षण सुनाउँदै उनले भने,‘हामी त्यतिबेला एउटा गाउँमा खानेपानी इनारको मर्मत गर्न इन्जिनियरसहितको टोली लिएर जाँदै थियौं।’
दुवै खुट्टा गुमाउनु परेपछि सुरूमा उनी निकै हतास भए। मनमा आत्महत्या गर्ने सोच नआएको पनि होइन। प्रयास पनि गरे ।
‘लडाइँमा गोली लाग्ला वा मरिएला भन्ने त लाग्दथ्यो,तर यसरी दुवै खुट्टा गुमाएर अपांग जीवन जीउनु पर्ला भन्ने मैले कल्पना गरेको थिइनँ,’ हरिले भने, ‘अरुको सहारामा बाँच्नुपर्ने भएकोले मर्ने सोच पनि आयो।’
ह्विलचियरको सहारामा जीवन बिताउनु पर्दा उनलाई जीवन कहालिलाग्दो भयो। संसार साँघुरिँदै गएको भान भयो र तनाव भुल्नको लागि रक्सीलाई बनाए साथी। तर
एकदिन।
दुई दिन।
तीन दिन।
आखिर कति दिन रक्सीलाई अंगालेर अघि बढ्ने? उनमा सोच आयो।
उनको संघर्षपूर्ण विगतले पनि उनलाई अप्ठेरोमा हुँदा ढाडस थप्यो ।
भने,‘रोल्पामा पैंतालिस मिनेट टाढा रहेको विद्यालयमा पढ्न जानको लागि म त्यहाँको चट्टानमा खाली खुट्टा दौडिदै जान्थें । कापी कलमको हुँदैन थियो र खरीले स्लेटमा लेख्थें । खाजा खाने पैसा हुँदैन थियो । तै पानीको सहारामा बाँच्थें। अब पनि संघर्ष गरेर बाँच्नुपर्छ भन्ने लाग्यो।’
उनले परिवारको बारेमा सोचे। अनि नियाले आफूजस्तै अपांग जीवन बिताइरहेकाहरूको जीवन। त्यसपछि आत्मसमिक्षा गर्दै मनमनै केही सृजनात्मक काम गरेर देखाउने अठोट गरे।
त्यही दौरान उनले एक दिन साहसिक मानिने खेल स्काइ ड्राइभिङमा प्रतिस्पर्धा गर्ने निश्चय गरे।
‘त्यसबाट मैले दुइटा संभावना देखेको थिएँ, कि मरिन्छ, यात विश्व रेकर्ड ब्रेक हुनेछ,’हरिले भने, ‘म आत्मविश्वासले मैदानमा उत्रिएको थिएँ । मैले सफलता प्राप्त गरे र त्यसपछि जीवनमा थप साहस थपियो।’
त्यो दिनपछि उनी मन र मस्तिष्क लगाए जे पनि संभव रहेछ भन्ने निष्कर्षमा पुगे।
‘कुनै पनि व्यक्तिको एउटामात्रै अंग चल्छ भने पनि दृढ संकल्पका साथ लागिपरे संसार टर्न गर्न सकिँदो रहेछ भन्ने विश्वासमा आज मलाई छ,’ उनले भने।
हरिले त्यही विश्वासकासाथ कृत्रिम खुट्टाकै सहाराले लण्डनमा भएको राष्ट्रिय प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा सिल्भर मेडल जिते भने आर्चरीमा गोल्ड मेडल प्राप्त गर्न सफल भए।
वेलायतको अटोवा कम्पनीले हरिलाई यो कृत्रिम खुट्टा उपहारस्वरुप प्रदान गरेको थियो।
एकपछि अर्को सफलताले जीवनमा केही गरेर देखाउन सकिन्छ भन्ने विश्वास उनमा थपिँदै गयो।
रोल्पा मिरुलका ४० वर्षीय हरि हाल लण्डनमा बस्छन्।
उनले साथीहरूसँग मिलेर रियलस्टेटको व्यापार पनि गरिरहेका छन्। निजी विद्यालय लगायत केही सामाजिक संघसंस्थामा पनि उनको संलग्नता छ।
अहिले हरि आफ्नो जीवनदेखि खुसी नै छन्।
‘अब मेरो एउटा इच्छा छ। त्यो हो, विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने,’ उनले थपे, ‘मेरो त्यो चाहना निकट भविष्यमै पूरा हुने विश्वास छ। यदि म सगरमाथा चढ्न सफल भए भने त्यो एउटा विश्वमै किर्तिमान हुनेछ।’
उनी सन् २०२० को एक्सपिडिसन टिममा सगरमाथा आरोहणमा जाने निश्चित भइसकेको छ।
आफू र आफ्नो मातृभूमिको नाम विश्वमा चिनाउन आफूले सगरमाथा चढ्ने योजना बनाएको हरिले बताए।
हरिको सगरमाथा अभियान र आरोहण टिमको नाम भने ‘लाइफ इज अल एवाउट एभरेष्ट’ हो।
हरि र उनको टिमले अघिल्लो वर्ष नै सगरमाथा चढ्ने तयारी गरेको थियो। तर नेपाल सरकारले दुवै आँखा नदेख्ने र दुवै खुट्टा नभएकालाई सगरमाथा चढ्ने अनुमति नदिएपछि हरि समस्यामा परेका थिए ।
हरिले सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेर अपिल गरे । सर्वोच्च भने हरिको पक्षमा उभियो।
हरिले यो भन्दा पहिले कृत्रिम खुट्टाकै सहाराले ६ हजार ५८ मिटर अग्लो चोलु सिफारु हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन्।
‘म मेरो नेपाल र वीर गोरखालीका नेम र फेम विश्वभर फैलाउन सगरमाथा चढ्न चाहन्छु, किनकि मलाई सक्छु भन्ने आत्मविश्वास छ,’ हरिले भने।
उनका अनुसार हालको कृत्रिम खुट्टाबाट सगरमाथा चढन उपयुक्त हुँदैन।उनले अर्को प्रकृतिका कृत्रिम खुट्टाको जोहो भइसकेको बताए।
खुसी हुँदै उनले भने, प्रतीक्षा छ त सन् २०२० को।