दाङ लमही-कोइलाबास सडकखण्डमा स्थानीयले आइतबार बिहानैदेखि अवरूद्ध पारेका छन्।
मुआब्जा वितरणमा भेदभाव गरेको भन्दै गढुवा गाउँपालिका वडा नं. ५ को बोधीपुर क्षेत्रका स्थानीयले ढुंगा तथा काठका मुढाहरू राखेर सडकखण्ड अवरूद्ध पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी विनोद विक्रम शाहले अवरूद्ध सडकखण्ड खुलाउने सवालमा स्थानीयसँग छलफल जारी रहेको जानकारी दिए।
स्थानीयको अवरोधका कारण सडक निर्माण कार्य बिहानैदेखि रोकिएको छ। राप्ती नदीको पुल नजिकैको बालुवा प्रशोधन केन्द्रदेखि दक्षिणतर्फ सिक्रहवा पुलभन्दा अगाडिको कल्भर्टसम्म जग्गाको मुआब्जा वितरणमा हुलाकी सडक कार्यालय बाँके नेपालगञ्जले अन्याय गरेको स्थानीयले आरोप लगाएका छन्।
दाङको सबभन्दा पुरानो नाका लमही-कोइलावास सडकखण्डमा मुआब्जा वितरण गर्ने अधिकार हुलाकी सडक कार्यालय बाँकेको जिम्मामा छ। जसले माथि उल्लेखित क्षेत्रमा प्रतिवर्गमिटर पाँचसय दररेट निर्धारण गरेर मुआब्जा वितरण गर्न थालेपछि स्थानीय आन्दोलित बनेका हुन्।
सोही सडकखण्डको चैलाही क्षेत्रमा भने प्रतिवर्गमिटर तीन हजार ६ सय र गढवा क्षेत्रमा प्रति वर्गमिटर एक हजार तीन सय निर्धारण गरिएको छ। आन्दोलनरत स्थानीयले गढवामा निर्धारण गरिएको दररेट आफूहरूले पनि पाउनुपर्ने माग गर्दै आन्दोलन थालेका छन्।
३३ किलोमिटर लामो सडक क्षेत्रमा पर्ने जग्गाको लगत समेत छुटेको स्थानीयले गुनासो गरेका छन्।
आन्दोलनरत स्थानीयले माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी दिए।
स्थानीयले सोमबारदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन्।
दाङको पुरानो नाका कोइलावासलाई पुर्नंजीवित तुल्याउने उद्धेश्यले सडक कालोपत्रेको काम भइहरेको छ।
भारतसँग जोडिने नजिकको नाकाको रूपमा रहेको कोइलावास सडक पूर्वपश्चिम राजमार्ग सञ्चालन हुनुपूर्व अस्तित्वमा रहेको थियो।
राजमार्ग बनेपछि कोइलावास नाका सञ्चालनमा आउन छाडेको हुँदा कोइलावास नाका खण्डहरमा परिणत हुन पुगेको हो।
अहिले सडक बन्न थालेपछि कोइलावासमा चहलपहल सुरू हुन थालेको छ।
जम्मा ३३ किलोमिटर सकडखण्डमध्ये हालसम्म झन्डै १४ किलोमिटर कालोपत्रे भइसकेको छ।
लमही गढवा सडकखण्डको ७ किलोमिटरमध्ये ३ किलोमिटर कालोपत्रे भइसकेको छ भने थप ४ किलोमिटरमा गिट्टी विच्छाइसकेको छ। अब थप १९ किलोमिटर जति सडक कालोपत्रे गर्न बाँकी छ।
निर्माण कम्पनीका अनुसार ३३ महिनामा निर्माण सम्पन्न गरिसक्ने सम्झौतामा कालिका कुमार जेभिले काम स्वीकार गरेको थियो। त्यो अवधि आगामी डिसेम्बर १० सम्म रहेको छ।
निर्माण कम्पनी कालिका कुमार जेभि कम्पनीका साइड इञ्चार्ज राजेन्द्र श्रेष्ठले पहाडी चिसापानीसम्म सडक कालोपत्रे भइसकेको जानकारी दिए।
पक्की नालासहित लमही–कोइलावाससम्म ३३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यमा स्थानीयको अवरोध र आन्दोलनले समस्या हुँदै आएको इञ्जिनियर श्रेष्ठले बताए।
सडक क्षेत्रमा पर्ने भौतिक पूर्वाधार नहट्दा बजार क्षेत्रमा सडक विस्तार र कालोपत्रेमा समस्या भएको हुँदा काममा केही ढिला भएको उनले जानकारी दिए।
इञ्जिनियर श्रेष्ठले काम पूरा गर्न ६ महिना जति समय थप गर्नुपर्ने स्थिति देखिएको आंकलन गरे ।
काम गर्ने कार्यादेश ६ महिनापछि मात्रै प्राप्त भएको तथा वर्षाले गर्दा केही समय काम गर्न नपाएको इञ्जिनियर श्रेष्ठले बताए।
अर्को समस्या भनेको लमही-कोइलावास सडकखण्डमा भौतिक पूर्वाधार पर्ने भएका कारण लमही र गढवा बजार क्षेत्रमा काम सुरू गर्न समस्या भएको छ। लमही बजारदेखि एक किलोमिटर र गढवा क्षेत्रको ८ सय मिटर क्षेत्रमा काम सुरू गर्न कठिनाइ भएको इञ्जिनियर श्रेष्ठले जानकारी दिए।
त्यस्तै, कोलही क्षेत्रमा ११ सय मिटर खाने पानीको पाइप बीच सडकमा रहेको हुँदा त्यसले समस्या भएको उनले बताए।