उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले योगले अल्छिपना घटाउँदै काममा एकाग्रता ल्याउने बताएका छन्।
तुलसीपुरको अरनिको मैदानमा बुधबार एकाबिहानै भेटिएका उनले ५ दिनसम्म चलेको योग विज्ञान शिविरमा नियमित बिहान ४ बजे नै पुगेर योग अभ्यास गरे।
मुख्य न्यायाधीश सुवेदीले योग अभ्यासले मानिसमा शारीरिक र मानसिक सन्तुलन कायम गर्न सघाउने अनुभूति गरेको बताए।
‘अल्छिपना घटेर गएको छ। मन हल्का भएको छ र सोचाइमा परिवर्तन आएको मैले महशुस गरेको छु,’ सेतोपाटीसँग सुवेदीले भने।
साथै उनले योगले कुनै पनि काममा एकाग्रह भएर लाग्न उत्प्रेरणा पैदा गर्ने भन्दै संभव भएसम्म सबैलाई योग गर्न आग्रह गरे।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे पनि उक्त शिविरिमा पाँचै दिन बसेर योग अभ्यास गर्ने मध्येका एक व्यक्ति हुन्।
समापनको दिन उनले पनि योग अभ्यासले धेरै कुरा फरक ढंगले सोच्न र बदल्न सहयोग पुग्ने धारणा राखे।
‘पाँच दिन योग गर्दा यसले मलाई आनन्दित तुल्यायो। योगले ममा नयाँ उर्जा थपेको छ,’ मेयर पाण्डेले भने।
तुलसीपुरमा चलेको योग शिविरमा पुरुषभन्दा महिला सहभागीको संख्या धेरै थियो।
उक्त योग कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का पनि सहभागिता थियो।
उनले पनि योग स्वास्थ्यका लागि लाभदायिक भएको बताए। मानिसका शारीरिक र मानसिक विकारहरू अन्त्य गर्न योग सहयोगी बन्ने खड्काले विश्वास व्यक्त गरे।
पाँच दिनसम्म चलेको कार्यक्रममा तुलसीपुर क्षेत्रका उद्योगी,व्यवसायीलगायतको समेत उपस्थिति रहेको थियो।
दैनिक झन्डै ३ देखि ४ हजारको संख्यामा तुलसीपुरवासी एकै ठाउँमा भेला भएर योग अभ्यास गरेको यो नै पहिलो पटक हो।
पछिल्लो समय जिल्लामा पनि योग अभ्यास गर्नेहरूको संख्या बढ्दै गएको छ।
प्रदेश नं. ५ का योग प्रभारी घोराही निवासी प्रेम शाहले जिल्लामा झन्डै १ सय ३० वटा जति योग केन्द्रहरू रहेको जानकारी दिए। विगत १५ वर्षदेखि योग गर्दै आएका शाहले आफ्नो शरीर र मन मस्तिष्कलाई सफा राख्न योगले सहयोग गर्ने हुँदा यसप्रतिको आकर्षण बढ्दै गएको जानकारी दिए। जसको प्रमुख प्रशिक्षकमा पतन्जली योग ५ नं. प्रदेशका प्रमुख प्रशिक्षक दीपक बस्याल थिए।