दाङमा प्रहरीले गाँजा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ।
प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा आफैं फैलिएका हजारौं गाँजाका बोट खोजेर नष्ट गरेको छ। जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले डेढ सातामा सुर्खेत र सल्यानसँग सीमाना जोडिएको पश्चिम बबई गाउँपालिकादेखि भारतीय सीमानजिकको देउखुरी तथा गढवा गाउँपालिकासम्मका बोटहरु नष्ट गरिएको जानकारी दिए।
प्रहरी, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा आइतबार पनि जिल्लाको लमही नगरपालिका अन्तर्गतको सतवरिया क्षेत्रमा गाँजाका बोटहरु नष्ट गर्ने अभियान जारी रहेको उनले बताए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लमहीस्थित देउपुरको सार्वजनिक बाटो तथा बाँझो खेतमा फैलिएको सयौं गाँजाको बोटहरु नष्ट गरिएको छ।
त्यस्तै देउखुरीको गढवा गाउँपालिकास्थित बोधिपुर क्षेत्रमा ३ बिघा, लमही नगरपालिका वडा नं. ८ को स्वर्गद्धारी गुठीको आश्रम क्षेत्र र बबई गाउँपालिकाको गुरुङ चौतारी क्षेत्रमा गाँजाका बोटहरु नष्ट गरिएको प्रहरी प्रवक्ता शाहले बताए। प्रहरीले यो अभियान अझैं केही दिन जारी राख्ने जानकारी दिएको छ।
उत्पादन र सेवनमा गाँजा प्रतिवन्धित भएकाले खोजी खोजी नष्ट गर्नु परेको प्रहरीले जनाएको छ। ‘गाउँघरमा प्राकृतिक रुपमा जागेको गाँजाले धेरैलाई दुव्र्यसनी बनाउन सक्ने खतरा रहन्छ’ डिएसपी शाहले भने ‘त्यही भएर गाँजा खोजी खोजी नष्ट गर्ने अभियान सुरु गरेका हौैँ।’
जिल्लाका दुरदराज र कुना कन्दरामा आफै प्राकृतिक रुपमा जागेको गाँजा क्षेत्रमा अम्मली बढ्दै गएको भन्ने सूचनाको आधारमा गाँजाको बोटहरु नष्ट गर्न थालिएको उनले बताए।