अज्ञात समूहले सल्यानको एउटा वडा कार्यालयमा आगजनी गरेको छ ।
आगजनीबाट छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्।
छत्रेश्वरी गाउँपालिकाका प्रेस सल्लाहाकार नविन पौडेलले आगजनी बाट सबै सामाग्री जलेर नष्ट भएको भन्ने जानकारी पाएको बताए ।
आफु काठमान्डौं रहेको जानकारी दिदैं उनले प्रहरी घटनास्थल पुगेको हुँदा क्षतिको विवरण केही बेरमा थाहा हुने बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख लगायत ईलाका प्रहरी कार्यालय लुहामका प्रहरी अधिकारीलाई फोन सम्पर्क गर्ने प्रयास भने संभव हुन सकेन ।
वडा कार्यालय भएको स्थानमा फोन सम्पर्क हुन नसक्ने हुँदा समस्या भएको स्थानीयले जानकारी दिएका छन् ।
घटनास्थल वाट फर्केका एक स्थानीय केन्द्रराज बुढाथोकीले पहिला ढुङ्गा ताल्चा फोडेर भित्र प्रवेश गरेर सबै कागजात एकै स्थानमा जम्मा गरि आगजनी गरेको देखिएको सेतोपाटीलाई बताए ।
‘ताल्चा फोडेको ढुङ्गा पनि ढोका नजिकै देखिएको थियो ।
त्यसपछि भित्र पसेर सबै कागजात, कम्प्युटर, ल्यापटप लगाएतका उपकरणहरुमा पेट्रोल वा मट्टीतेल छरेर आगो लगाएको जस्तो मैले देखे,’ वुढाथोकीले भने ,‘आगजनीबाट वडा कार्यालयको कुनैपनि सामान काम लाग्ने अवस्थामा मैले देखिन।’
मंगलवार विहान १ बजेतिर स्थानीय एक महिलाले वडा कार्यालयमा आगो बलेको देखेपछि गाउँलाई खवर गरेकी थिइन ।
‘आज ती महिलाको घरमा रोपाई रहेछ र त्यसैले उनी एक बजे विहान उठेर भात भान्सा गर्न भनि उठ्दा नजिकैको वडा कार्यालयमा आगो देखेपछि उनैले सबैलाई खबर गरेकी रहिछन्,’ बुढाथोकीले भने ।
आगो लगाउने समुहले वडा कार्यालयको दुई वटा कोठामा रहेका महत्वपूर्ण कागजात संगै ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेट जस्ता सामानलाई एकै ठाउँमा जम्ममा गरेर आगो लगाएको छ ।
कार्यालयको प्रशासन कक्ष र प्राविधिक कक्ष दुबैमा रहेका सबै कागजात र सामान जलेर नष्ट भएको बुढाथोकीले जानकारी दिए ।
स्थानीय सर्वसाधारणले वडा कार्यालयमा आगलागी भएको देखे लगतै हार गुहार गर्दै आगो निभाउन खटिएका थिए ।
आगलागी स्थलमा अहिले सल्लानका प्रहरी प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाही, घटनास्थल बाट नजिक रहेको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको स्थानीयले जानकारी दिएका छन् ।
घटनाबारे प्रहरीले त्यहाँ सोधपुछ र अनुसन्धान सुरु गरेको बुढाथोकीले जानकारी दिए ।
नेत्र विक्रम चन्द (विप्लव) समुहले आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । स्थानीयका अनुसार छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोला क्षेत्र विप्लवको राम्रो पकड भएको क्षेत्र मान्ने गरिन्छ ।