एक महिलाले चार वर्षको अन्तरालमा चार जनाविरुद्ध आफूलाई जवरजस्ती करणी गरेको मुद्दा दायर गरेकी छन्। तुलसीपुर निवासी ३१ वर्षीया महिलाले फरक÷फरक मितिमा चार जना विरुद्ध मुद्दा दायर गरेको पाइएको छ।
ती महिलाले २०७२ कात्तिक १५ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा विष्णु आचार्यविरुद्ध मुद्दा हालेकी थिइन्। जिल्ला अदातलले आचार्यलाई उक्त अभियोगमा दोषी ठहर गर्दै ७ वर्ष कैदको फैसला सुनायो। उनी हालै ४ वर्षे जेल सजाय भुक्तान गरी रिहा भएका छन्।
तिनै महिलाले २०७५ साल पुस २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा लक्षमण गैरेलाई आफूलाई जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालिन। हाल गैरे पूर्पक्षका लागि थुनामा छन्। गत जेठ २७ गते उनै महिलाले ईप्रका तुलसीपुरमा दुईजना विरुद्ध जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालेकी छन्।
ती महिलोको जाहेरी परे लगत्तै प्रहरीले तुलसीपुरको बसपार्क प्रहरी चौंकीमा कार्यरत ३६ वर्षीय हवलदार मानबहादुर गुरुङ र बबई गाउँपालिका निवासी २७ वर्षीय किशोर खड्कालाई पक्राउ गरी थुनामा राखेको छ।
ती महिलाले मुद्दा हालेकै दिन ईप्रका तुलसीपुरले उनीहरुलाई पक्राउ गरी थुनामा राख्दै आएको छ। पीडित भनिएकी ती महिलाले आफुलाई प्रहरी हवल्दार गुरुङ र खड्काले मिलेर जेठ २१ राति जवरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएकी छन्।
प्रहरी स्रोतका अनुसार पीडितको जाहेरीमा प्रहरी हवल्दार र सर्वसाधारण खड्काले ती महिलालाई उनकै कोठामा गएर जवरजस्ती करणी गरेको उल्लेख छ। पक्राउ परेका दुबैजना विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जवरजस्ती करणी अभियोगमा प्रहरी हवल्दार चन्दलाई सफाई
एकजना महिलालाई जवरजस्ती करणी गरेको अभियोग खेपेका अर्का एकजना प्रहरी हवल्दारले झन्डै ४ महिना पछि अदालतवाट सफाई पाएका छन्।
ईलाका प्रहरी कार्यालय फुलवारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दमाथि स्थानीय एक दलित महिलाले आफुमाथि जवरजस्ती करणी गरेको अभियोगसहितको मुद्दा दिएपछि प्रहरी हवल्दार चन्द पक्राउ परेका थिए। उक्त अभियोगमा उनी झन्डै ४ महिना बढी प्रहरी हिरासतमा बस्नु परेको थियो।
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले गत फागुन २ गते राति सवा १० बजेतिर घरमा साना बच्चा बच्चीसँग बस्दै आएकी २१ बर्षीया ती महिलाई पानी खाने बहानमा घर भित्र प्रवेश गरी जवरजस्ती करणी गरेको भन्ने बेहोराको मुद्दा प्रहरीमा होलेकी थिइन्।
राति नै पीडित महिलाले हारगुहार मागेपछि गाउँलेले प्रहरी हवल्दारलाई लखेटेर भगाएका थिए। भागेका उनी ईप्रका छिरे। गाउँलेले जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेलाई तत्कालै खवर गरेपछि ईप्रका तुलसीपुरको टोलीले उक्त दिन राति नै प्रहरी हवल्दार चन्दलाई पक्राउ गरेर तुलसीपुर ल्याएको थियो।
लगतै एसपी पाण्डे र ईप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाही लगायतका प्रहरी अधिकारीले पीडितको गाउँमा पुगेर घटनाबारे सार्वजनिक रुपमै छलफल गरेका थिए। त्यहाँ पनि गाउँले सबैले प्रहरी हवल्दारकै बदमासी औंल्याएका थिए। तर प्रहरी हवल्दार चन्दलाई दाङ देउखुरी जिल्ला अदालतले हालसालै उक्त अभियोगमा सफाई दिएको छ। अदातलको सफाई पछि हवल्दार चन्द झन्डै १५ दिन अगाडि थुना मुक्त भएर घरमा गएका छन्।
आर्थिक चलखेलको आशंका
यसै विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले पीडित पक्ष पैसाको लोभमा परेर वयान बदलेको हुन सक्ने आशंका व्यक्त गरे। ‘हामीले मुद्दा चलाउँछौँ, तर त्यो बीचमा पीडित पक्ष आर्थिक प्रलोभनमा पर्छ र वयान बदल्छन्, त्यसले प्रहरीलाई उल्लु बनाउने खेल हुँदै आएको छ’ एसपी पाण्डेले भने।
उनले ठूलो आर्थिक चलखेलको प्रलोभनमा पारेर पीडितलाई पीडकका आफन्तले वयान फेर्न लगाएको हुन सक्ने बताए। ‘जिल्ला अदालतले सफाई दिएपनि मैले अझैं हवल्दार चन्दलाई हाजिर गराएको छैन,’ एसपी पाण्डेले भने ‘अब हामी जिल्ला भन्दा माथिको अदालतमा अपिल गर्न जाने छौँ।’ अरु अदालतले पनि सफाई दिए भने मात्रै हवल्दार चन्दलाई कार्यालयमा हाजिर लगाउनु ठिक हुने एसपी पाण्डेले बताए।