नेपाली ब्रान्ड
'यो घर कसको आलेको, खाइदिम आलु तारेको!'
पाटन दरबार क्षेत्र नजिकको एक रेस्टुरेन्टबाहिर दुई वृद्ध व्यक्तिको चित्रमा लेखिएको भनाइ हो यो।
चारैतिर मूर्ति र चित्रहरूका पसल रहेको गल्लीमा झट्ट हेर्दा नै अलि नौलो देखिने यो रेस्टुरेन्टले अधिकांश बटुवाको ध्यान खिच्छ।
बेलुनहरूले धपक्क सजाइएको, चहकिलो पहेँलो रङ र भिन्न खाले चित्र। बाहिरबाट सानो देखिए पनि भित्रको डिजाइन साँघुरो छैन। बस्नलाई पुराना टायरबाट बनाइएका 'सिट' छन्। काउन्टर झनै भिन्न, कुनै 'फुड ट्रक' जस्तो।
यो 'आलुचाः' हो - आलुका विभिन्न परिकार पाइने रेस्टुरेन्ट।
भक्तपुरको 'आलुचाः' ले केही साताअघि मात्र पाटनमा शाखा खोलेको हो। कम समयमै यहाँ पारिवारिक जमघटदेखि आलु खान झुम्मिएका तन्नेरीहरू उधूम देखिन थालेका छन्।
खाजाका रूपमा आलुका परिकार मात्र बेच्ने 'आलुचाः' ले रेस्टुरेन्ट शैलीमा नयाँपन दिने कोशिस गरेको छ। ममः, चाउमिन, पिज्जा र बर्गरजस्ता सदाबहार परिकारका ठाउँमा आलु प्रवर्द्धन गर्नु यो रेस्टुरेन्टको उद्देश्य हो। आलुकै परिकारबाट यसले आफ्नो ब्रान्ड उक्साउन सफल भएको छ।
यो नवीन सोच थाल्ने सञ्चालकहरू हुन्, दुर्गेश हाडा, आयुष्मा श्रेष्ठ र पंकज श्रेष्ठ।
यिनै तीन युवाले दुई वर्षअघि भक्तपुरमा खोलेको 'सानो र अज्ञात खाजा खाने ठाउँ' आज युवा पुस्ताबीच चर्चित छ।
उनीहरूको सहयात्रा कलेजदेखिकै हो। 'सिल्भर माउन्टेन' कलेजबाट होटल व्यवस्थापनमा स्नातक गरेका तीनै जना उतिबेलैदेखि मिल्ने साथी थिए। चार वर्ष सँगै पढेका उनीहरू पढाइपछि आ–आफ्नो भविष्यको बाटो खोज्न थाले।
दुर्गेश र आयुष्मा कलेजबाटै दुईवर्षे इन्टर्नसिपका लागि ओमन गए। पंकज भने सोल्टीमोडस्थित आफ्नै परिवारको होटल सम्हाल्न थाले।
ओमन गएका दुर्गेश र आयुष्माको मन उता रमाउन सकेन।
'नयाँ सिक्न पाइने आसले ओमन गएका थियौं,' २४ वर्षीया आयुष्माले भनिन्, 'त्यहाँ सिकाउनेभन्दा पेल्ने व्यवहार देखियो। जति राम्रो गरे पनि राष्ट्रियता हेरेर प्रमोसन गरिन्थ्यो।'
दुर्गेशको अनुभव पनि यस्तै रह्यो।
उनीहरूले तीनमहिने छुट्टीमा नेपाल आउँदा यतै केही गर्ने सोच बनाए। विदेशमा पसिना बेच्न उनीहरू तयार थिए, तर सम्मान बेच्न मञ्जुर थिएनन्।
त्यही बेला उनीहरूले पंकजको साथ पाए।
पारिवारिक होटल समाल्न थालेका पंकजलाई यो व्यवसायको ज्ञान र अनुभव थियो। दुर्गेश र आयुष्माले पनि ओमनको रेस्टुरेन्टमा थोरबहुत अनुभव संगालेकै थिए।
तीनै जना पुराना साथी मिलेर नयाँ रेस्टुरेन्ट खोल्ने निर्णय गरे।
जताततै ठूला 'ब्रान्डेड' रेस्टुरेन्ट खुलेका बेला उनीहरूलाई अन्यौल भयो। उनीहरूको मुख्य प्राथमिकता थियो- सस्तो, मिठो र धेरैको रोजाइमा पर्ने खाजा। 'यसका लागि आलु जति सहज के होला र,' उनीहरूले सोचे।
'आलु मन पराउने धेरै भए पनि खाजाका रूपमा आलुका विभिन्न परिकार कहीँ पाइँदैन,' आयुष्माले सुनाइन्, 'रेस्टुरेन्टमा आलु भन्नेबित्तिकै कि आलु-तरकारी, नभए फ्रेन्च फ्राइ वा अचार सम्झिने चलन छ। यही चलन हटाएर नयाँ परिकार चिनाउन जरुरी थियो।'
छुट्टीमा आएका आयुष्मा र दुर्गेशले पंकजसँग मिलेर आलुबारे अनुसन्धान थाले। उत्पादनदेखि त्यसबाट बनाउन सकिने खाजाबारे जानकारी बटुल्न थाले।
सबै योजना गरेर दुर्गेश र आयुष्मा ओमन फर्किए। पंकज यता आफ्नो कामसँगै नयाँ व्यवसायको योजना बनाउन थाले।
केही समयपछि आयुष्मा र दुर्गेश फेरि आए, नयाँ व्यवसाय थाल्ने उत्साहका साथ।
'हामी योजनामा अडिग थियौं,' २९ वर्षीय दुर्गेशले भने, 'दोस्रोपटक आउँदा सबै स्थिति मिलेको थियो। यसपालि रेस्टुरेन्ट खोलेरै फर्किने निधो गर्यौं।'
भक्तपुर दरबार स्क्वायर परिसरको एउटा सानो पसलमा 'आलुचाः' नामको रेस्टुरेन्ट सञ्चालन गरी दुई जना ओमन फर्किए। सबै काम पंकजलाई जिम्मा दिएर गएका थिए।
केही समयमा उनीहरूको दुईवर्षे इन्टर्नसिप सकियो। त्यसपछि फर्केर पंकजसँगै आफ्नो व्यवसायमा खट्न थाले।
विदेशको राम्रै जागिर छाडेर 'सानोतिनो' व्यवसाय थाल्दा परिवारबाट रोकतोक त आयो नै। तै 'आलुचाः' को हुटहुटी कसैले रोक्न सकेन।
सुरूआती चरण सुखद रहेन। उनीहरूका परिकार कस्ता थिए भन्ने धेरैलाई थाहै थिएन। आलु खान जानेहरू पनि कमै थिए। 'पाँच किलो आलु किन्यो भने पन्ध्र-बीस दिनसम्म बाँकी रहन्थ्यो,' आयुष्मा भन्छिन्, 'अहिले त्यत्ति आलु एक-दुई घन्टा पनि पुग्दैन।'
उनीहरूकहाँ पाइने आलुका परिकार कस्ता छन् त?
सुरूमा उनीहरूले 'टोर्नाडो फ्राइज', 'क्लासिक फ्राइज' र 'बटर चिकेन पुटिन फ्राइज' गरी तीन परिकार राखेका थिए।
'टोर्नाडो फ्राइज' ठूलो सिंगो आलुलाई स्प्रिङजस्तै काटेर सिन्कामा राखी तेलमा 'डिप फ्राइ' गरिन्छ। 'क्लासिक फ्राइज' भने फ्रेन्च फ्राइजजस्तै आकारमा काटिएको हुन्छ। 'बटर चिकेन पुटिन फ्राइज' मा नामजस्तै कुखुराको मासु र बटर मिसिएको हुने सञ्चालकहरूले जानकारी दिए।
अहिले 'आलुचाः' मा पन्ध्रभन्दा धेरै आलुका परिकार पाइन्छन्। सबभन्दा चर्चित 'टोर्नाडो फ्राइज' हो। दक्षिण कोरियाको चर्चित 'स्ट्रिट फुड' मा पर्ने टोर्नाडो फ्राइज 'आलुचाः' को मुख्य आकर्षण बनेको उनीहरू बताउँछन्।
'कोरियासँगै भारत र अस्ट्रेलियामा पनि चर्चित टोर्नाडो फ्राइज यहाँ भित्र्याउने सोच थियो,' दुर्गेशले भने, 'सुरूमा इन्टरनेट हेरेर बनाउने तरिका सिक्यौं। अरू परिकार भने ओमनका शेफहरूसँग सोधपुछ गरेका थियौं।'
यहाँ ४५ देखि तीन सय रूपैयाँसम्मका खाजा पाइन्छन्। त्यही भएर युवा पुस्ताको आकर्षण बढेको पंकजले बताए।
आलुका परिकार सुन्दा जति सहज देखिन्छ, व्यवस्थापन त्यत्ति नै गाह्रो छ। उनीहरूलाई सबभन्दा पहिला त भनेजस्तो आलु पाउनु नै समस्या बनेको छ।
'यहाँ पाइने आलुमा 'मोइस्चर' (पानीको मात्रा) कम हुन्छ,' २५ वर्षीय पंकज भन्छन्, 'यस्तो आलु तेलमा तार्दा चाँडै डढेर कालो हुन्छ। त्यसैले, तेलमा तार्न मिल्ने आलु बंगलादेशबाट आयात गर्नुपरेको छ।'
काम गर्ने जनशक्ति अभाव पनि उत्तिकै रहेको आयुष्मा बताउँछिन्।
'हामीले सुरूमा त कोही कर्मचारी पाएनौं,' उनी भन्छिन्, 'कलेज पढ्दै गरेका किशोरकिशोरी काम खोज्दै आए। पढाइसँगै घरव्यवहार हेर्नुपर्ने युवाहरूलाई प्राथमिकतासाथ रोजगार दिने गरेका छौं।'
आलु पकाउन गाह्रो नहुने भएकाले भर्खरका तन्नेरीलाई काममा राख्दा सहज हुने उनको भनाइ छ।
भक्तपुर र पाटन गरी 'आलुचाः' मा बाह्र जनाले काम गर्छन्। उनीहरू सबै कलेज पढ्दै गरेका तन्नेरी हुन्।
नौ लाख रूपैयाँ लगानी गरेर थालिएको आलुचाःले सातामा ४० हजारदेखि ६० हजारसम्म कमाइ गर्ने सञ्चालकहरू बताउँछन्। उनीहरूका अनुसार धेरैले आलुचाः लाई 'नेपाली म्याक डोनाल्ड्स' भन्न थालेका छन्।
म्याक डोनाल्ड्स अमेरिकी कम्पनी हो, जसको आलु फ्राइज, बर्गर लगायत परिकार चर्चित छन्।
'विदेशमा मात्र कामको अवसर पाइन्छ भन्ने हुँदैन,' उनीहरू तीनै जनाको एउटै भनाइ छ, 'यहीँ थुप्रै अवसर छन्, जुन हामीले सोचेका पनि हुँदैनौं। यस्ता अवसर खोजेर केही गर्न सक्यौं भने सफलता यहीँ छ। बेरोजगार बस्न पर्दैन, विदेशिन पनि पर्दैन।'
(यो लेख सेतोपाटीमा पहिलो पटक २०७६ असार १३ गते प्रकाशित थियो।)
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी