हजुरआमाका कथा
पाल्पाको माडी, पोखराथोकमा १९९० कात्तिकमा राधादेवीको जन्म भयो। कात्तिकलाई 'श्रीराधा दामोदर' महिना पनि भनिन्छ।
'कात्तिक राधाकृष्णको महिना हो, यसैले मेरो नाम राधा राखिएको हो,' ८६ वर्ष पुगेकी उनले सुनाइन्।
उनको नामको कथा रोचक भए पनि बाल्यकाल दुःखद छ।
राधा जन्मिएको नौ दिनमै बुबाको निधन भयो। सुत्केरी आमा किरिया बस्नुपर्यो। आमासँगै नौदिने बच्ची पनि लुगाफाटाबिनै काम्लो र राडीमा सुतिन्। सानी छोरीलाई दूधबाट वञ्चित गराउनु नपरोस् भनेर आमाले सँगै राखेको राधा बताउँछिन्।
'म जन्मेकै साल माघमा भुइँचालो आयो। 'तँलाई लिएर बाहिर निस्केको नि म' भन्दै आमाले पछि सुनाउनुहुन्थ्यो,' आमाका कुरा गर्दा राधाको गला भासियो।
सारीको सप्कोले आँखा पुछ्न थालिन्।
कहिलेकाहीँ उनकी आमा सबेरै कालीगण्डकी 'राम्दीघाट' मा नुहाउन जाने रहिछन्। त्यस्तो बेला उनी सिरक लाम्चो पट्याएर राधाको आड लगाइदिन्थिन्।
'मेरो हात विस्तारै पन्छाएर सिरकलाई आफू सुतेजस्तै बनाइदिएर जानुहुन्थ्यो। म बिउँझेर नदेखेपछि 'आमा हो...' भनेर चिच्याउँदै आमाहरू आउने बाटोतिरै हेरेर बसिरहन्थेँ,' उनले सुनाइन्।
राधाका तीन दाजु र एक दिदी थिए। जेठा दाजुले पहिलो श्रीमतीको निधनपछि दोस्रो बिहे गरेका थिए। बिहेलगत्तै विराटनगर सरूवा भयो।
'भाउजू सुत्केरी भएपछि स्याहार्न भनेर आमा विराटनगर जानुभयो। म बेस्सरी रोएँ। अब कहिले आउने हो, कहिले भनेजस्तै भयो,' उनले सुनाइन्।
बुबाको मुखै नदेखेको, आमाले पनि छाडेर विराटनगर गएपछि राधालाई अत्यास लाग्यो। त्यो बेला ११ वर्षकी राधाको पनि भर्खरै बिहे भएको थियो। तर माइतै बस्थिन्।
दसैंमा बल्ल आमा पाल्पा आइन्। आउनेबित्तिकै छोरालाई हप्काउँदै भनिछन्, 'एक महिनाका लागि भनेर तीन महिनासम्म राख्ने? बहिनीलाई घर पठाउनु पर्दैन?'
टीकाका दिन अरू घरबाट माइती आउँथे, राधा घर पुगिन्।
आमा पनि विराटनगरै फर्किन्। राधालाई आमासँग च्यापिएर सुतेका पलहरू खुब याद आउँथे। साह्रै नियास्रो भएपछि उनले आमालाई चिठी लेख्ने सोचिन्। 'ठूलो वर्णमाला' किताब कनिकुथि पढ्ने उनले किताबकै 'चिठी लेख्ने भाका' हेरेर लेख्न बसिन्। उक्त किताबमा 'दुलाहालाई, आमाबुबालाई' चिठी लेख्ने तरिका हुन्थे, वाक्यसहितका।
'चिठी लेख्न बसेँ, जान्दिनँ है। एउटा पाना च्यात्यो, अर्को च्यात्यो। कुच्च्याएका पाना बिहान हातभरी हुन्थ्यो। अँगेनामा हाल्थेँ। एउटा पूरै कापी च्यातेर सकेपछि बल्ल चिठी तयार भयो,' आमालाई लेखेको पहिलो चिठीको सम्झना उनलाई प्रस्टै छ, 'खाममा के लेख्नुपर्छ भनेर कान्छा दाइले सिकाइदिनु भएको थियो।'
ससुरालाई चिठी पठाइदिन भनिन्। ससुराले केही नहेरी लगिदिए। राधालाई भने चिन्ता थियो, 'राम्ररी लेख्न आउँदैन, मिल्यो कि मिलेन। पुग्ने हो कि होइन...।'
चिठी पुगेछ। त्यही बेला उनका कान्छा दाजु पनि विराटनगरै पुगेका रहेछन्।
'दाइले आमालाई बोलाएर 'हेर्नुस्, मैले पढाउने बेलामा कुट्छस् भनेर लुकाउनुहुन्थ्यो, अहिले चिठी लेख्न सक्ने भई' भनेर सुनाउनुभएछ। आमा रूनुभयो रे,' उनले भनिन्।
राधाले अलिअलि पढाइ बिहेपछि नै सिकेकी रहिछन्। तीन दाजुले पढे पनि दिदी र उनले पढेका थिएनन्।
बिहेलगत्तै राधाका श्रीमान कुलमणि देवकोटाले उनको पढाइ नभएको थाहा पाएछन्। त्यही बेला आफ्ना जेठानलाई 'राधालाई पढाइदिनू है' भनेर काठमाडौं आएका रहेछन्। कुलमणि त्योबेला तीनधारा पाठशालामा संस्कृत पढ्दै थिए।
दाजुले बहिनीका लागि किताब, कापी, कलम ल्याइदिएर सिकाउन थाले। लेख्ने-पढ्ने काम दिएर दिनभर खेतीपातीमा व्यस्त हुन्थे। राधा भने दिनभर साथीहरूसँग खेल्नै मस्त। दाजुले दिएका काम सकिँदैन थियो। साँझ फर्केपछि दाजुले गाली गर्थे। गल्ती गर्दा पिटपाट पनि पार्थे। यस्तोमा आमाले बचाउ गर्थिन्।
'बाउले टुहुरी छोडेकी मेरी छोरीलाई तैंले कुटी-कुटी पढाउने, कसका छोरीले पढेका छन् ल भन्' भन्दै आमाले जोगाउने रहिछन्।
'दाजुले पढ्न आइज भन्ने, पिट्छ भनेर आमाले जोगाउने। फेरि दाजु भन्ने, 'ज्वाइँले भनेको भएर कोशिश गरेको हुँ, लैजानुस् तपाईंकी छोरी' भन्ने। मेरो पढाइको निहुँमा आमाछोराको डिसकस हुन्थ्यो,' उनले हाँस्दै सुनाइन्, 'पछि मैले लेखेको चिठी सुनेर आमा धेरै खुसी हुनुभएछ।''
'अंग्रेजी पनि आउँछ तपाईंलाई,' उनले बोलेका शब्दले तानिहाल्यो।
'आउँछ नि। इङ्गलिस बोल्न धेरै पढ्नै पर्छ भन्ने छैन, अभ्यासले पनि जानिन्छ। म धेरै नपढे पनि चाइना डुलेँ, अमेरिका डुलेँ,' उनले भनिन्। सञ्चारका लागि भाषा चेत भए पुग्छ भन्ने राधाको बुझाइ छ।
राधाका श्रीमान कुलमणि कवि थिए। उनले राजा त्रिभुवनकै पालादेखि कविता लेखेर दरबारमा बुझाउने गरेको राधा बताउँछिन्। राधाका अनुसार श्रीमानले लेखेका कविता पछिसम्म पनि हनुमान ढोका संग्रहालयमा राखिएको थियो रे। राजा महेन्द्रले पनि कुलमणिका कविता मनपराएर दरबारमा भेट्न बोलाएका थिए रे।
'कवि सम्मेलन हुँदा श्रीमानले पाल्पाबाटै खाममा राखेर कविता पठाउनुहुन्थ्यो,' उनले भनिन्।
'तपाईंले पनि पढ्नुभयो उहाँका कविता?'
'सबै पढिनँ, चर्चित भएकाहरू चाहिँ सुनेँ,' उनले भनिन्, 'बुहारीलाई कहाँ कविता-सविता पल्टाएर हेर्ने मौका मिल्नु नि। घरका कामधन्दाले फुर्सद हुन्थेन। पाल्पामा पानीको दुःख थियो। ढुङ्गेधाराबाट बोक्नुपर्थ्यो। धान रोप्नेदेखि कुट्नेसम्मका काम।'
'अनि घरमा सबै जना पढ्नुहुन्थ्यो?'
'अक्षर सबैले चिनेका थिए। ससुरा र बुढा ससुरा दुवै शिक्षक हुनुहुन्थ्यो। दुइटा नन्द घरैमा सिलोटमा लेख्दै पढ्ने,' उनले भनिन्, 'हाम्रोतिर स्कुल थिएनन्। कि काठमाडौं आउनुपर्यो कि पाल्पा सदरमुकाम। पञ्चायतपछि पो जहीँतहीँ स्कुल भए।'
श्रीमान कुलमणिलाई पनि ससुराले पढ्न पठाएका होइन रहेछ। दुई छोराको मृत्यु भएपछि कुलमणिलाई घरै राखेर पढाएका रहेछन्। बाबुको खल्तीबाट तीन सय रूपैयाँ निकालेर काठमाडौं गएर तीनधारामा भर्ना भएका रहेछन्।
'अनि काठमाडौं गएका केटासँग कसरी बिहे छिनियो त?'
'त्यहाँ (घरतिरका) एक भाइलाई मेरा जेठा बाको छोरी दिएको थियो। पहिलेदेखिको नातो भएकाले कुरा चल्यो। १५/२० दिन बाँकी राखेर बिहे पनि छिनियो। सारा काम सकिइसक्यो। उहाँ भने काठमाडौंमै। बिहेसम्म बेहुला नआए, अर्को खोज्नुपर्छ भन्दै जिस्क्याउँथे मलाई। पछि मेरा जेठा बाका छोरा गएर लिएर आउनुभयो।'
राधा र कुलमणिको देखभेटबिनै बिहे भयो। २००२ सालमा बिहे हुँदा राधा ११ वर्षकी थिइन् भने कुलमणि १७ का। बिहेपछि पनि श्रीमानको अनुहार झल्याकझुलुक मात्र देखेको उनी सुनाउँछिन्। त्यो बेला श्रीमानश्रीमतीले पनि खुलेआम बोल्न कहाँ पाइन्थ्यो र!
'उहाँले घर आएकाबेला मलाई देख्नुहुन्थ्यो रे। 'म बोल्न खोज्थेँ, तिमी लाज मान्थ्यौ' भनेर सुनाउनुहुन्थ्यो पछि,' उनले सम्झिइन्, 'नभए त एउटा ढोकाबाट उहाँ भित्र पस्ने, अर्कोबाट म बाहिर निस्कने। यस्तै हुन्थ्यो।'
देवकोटा परिवारका पूर्खा गोरखाका हुन्। बुढा ससुरा गोरखाबाट संस्कृत पढ्न बनारस विश्वविद्यालयमा जाँदा-आउँदा पाल्पामा बास बस्नु पर्ने रहेछ। पढाइ सकेर आएपछि धेरैपटक बास बस्दै गरेको ठाउँ पाल्पामै बसेछन्। राधाका अनुसार उनी त्यहीँको स्कुलमा पढाउने र सप्ताह भन्ने काम गर्थे।
'पाल्पामा पहिले राजाहरू थिए, त्यसैले उनीहरूसँग पनि बुढा ससुराको सम्पर्क भयो। दरबारमा भगवतीको मूर्ति थाप्ने काम पनि गर्नुभयो,' उनले सुनाइन्। पछि पाल्पामा हाइस्कुल खुल्यो। बुढा ससुरा त्यहीँ पढाउन थाले। तानसेनको भगवती टोलमा घरजम गरेर बसे।
ससुरा माधव प्रसाद पनि क्याम्पसका प्रमुख भएका थिए। श्रीमान कवि कुलमणि देवकोटाको पेसा पनि शिक्षणबाटै सुरू भयो। राधाका दुई छोरा दिवाकर र मधुकर तथा दुई छोरी कल्पना र प्रतिभा छन्।
उनको दुई पटक गर्भ खेर गएको रहेछ। एउटा चार-पाँच महिनाको, अर्को जन्मिने बेला भइसकेको। त्यो पीडा उनले अझै भुलेकी छैनन्।
राधाको घर वरपर सिपाहीहरूले घर बनाउन जग खनेका रहेछन्। राधा पित्तलको गाग्रीभरी पानी बोकेर आउँदै गर्दा त्यही जग खनेको चिप्लो माटोमा चिप्लिएर लडिछन्। गाग्री पेटको दाहिने भागमा बजारियो।
'मलाई उठाउन मान्छे आए। खच्याङ खच्याङ गर्दै घरसम्म पुर्याए। घरमा बालविधवा भएर बसेकी फुपू सासू मात्र हुनुहुन्थ्यो। ससुरा, श्रीमान सबै पढाउन। पछि थाहा भयो, गाग्रीले थिचेर बच्चाको टाउको छुट्टिएछ।'
अनि कसरी निकाल्या त बच्चा?
'दस महिना लागिसक्या थियो नि त। लडेपछि कसैले अस्पताल नि लगेन। मिसनरी अस्पताल थियो, लगेनन्। महिला डाक्टर नभएर नि होला। फेरि पहिलेका श्रीमानहरू लजाउँथे पनि क्या,' उनले सुनाइन्।
राधा लडेको पाँच दिनपछि उनलाई बेथा लाग्यो। ठूली छोरी १७ महिनाकी थिइन्।
'त्यसको मुख हेर्दै, म मर्ने भएँ, अब तँ टुहुरी हुने भइस् भन्दै रातभर रोएँ। श्रीमानले 'केही हुन्न, किन रोएको' भनेर फकाउने मात्रै,' उनले त्यो दिनको घटना सुनाइन्।
बेथा लागिरहेको भए पनि उनी सधैं झैं बिहान पाँच बजे नै उठिन्। घर पोत्न लाग्दा जीउ कक्रियो। फुपू दिदीले थोत्रा कपडामा उनलाई सुताइदिइन्।
'त्योबेला सुत्केरी वा महिनावारी हुँदा थोत्रा कपडा नै दिइन्थ्यो। जैसिनीले आगो फुकेर सेकताप गरिदिइन्। दिउँसो २ बजे बच्चा भयो तर राम्ररी निस्किन धेरै बल गर्नुपर्यो। मरेको बच्चा कपडाले सामातेको त कुहिसकेको थियो। त्यसलाई कपडामा पोको पारेर तिनै जैसिनीले पुरिदिइन्,' राधाले मलिन हुँदै सुनाइन्।
बच्चा नरहेपछि दूध गानिएर समस्या भएछ। श्रीमानले दूध सुकाउने औषधि ल्याइदिएका रहेछन्, 'पछि फेरि आउँदैन' भनेर अरूले खान दिएनन्। राधा सुत्केरी बारेर बसेकी थिइन्, सानी छोरी 'आमा' भन्दै रून्थिन्। राती सबै सुतेपछि छोरीलाई दूध खुवाएपछि आराम मिलेको उनी बताउँछिन्। न्वारानपछि भने अर्को सन्तान नहुन्जेल ढुक्कै छोरीलाई दूध खुवाएको उनले बताइन्।
त्यो बेला अरू समयमा जस्तो खान पनि नपाएको उनले सुनाइन्। सासूको बर्खी रहेछ।
'साँझ र बिहान दुई छाक मात्र खान पाइन्थ्यो। कहिलेकाँही फुपू सासूले पुरी वा सोंप र ज्वानो हालेको पुवा दिनुहुन्थ्यो। ससुराले पनि 'बिहान दूधसँग खाने गर' भनेर पुष्टकारी ल्याइदिनु भएको थियो,' उनले सुनाइन्।
राधाको जीवनमा दुःख धेरै आए, तर सुख पनि उत्तिकै भएको उनी बताउँछिन्।
'कखरा' मात्रै जानेकी राधाले २०१९ देखि २०२२ सम्म चीन बस्ने मौका पाएकी थिइन्। तीन वर्ष चीन बस्दा सुख भएको उनी बताउँछिन्।
त्यतिबेला भारत र चीनको खटपट चलेको थियो। भारतले चीनको रेडियो पेकिङमा काम गर्ने भारतीयहरूलाई फिर्ता लगेछ। त्यो समयमा उनका श्रीमान कुलमणि काठमाडौं, धोवीघाटस्थित 'ग्राम विकास विभाग'मा काम गर्दा रहेछन्। राधा र छोराछोरी पनि सँगै थिए।
एक दिन कुलमणिले बाटोमा 'पेकिङ रेडियोमा हिन्दी भाषामा काम गर्ने विशेषज्ञ आवश्यकता' बेहोराको विज्ञापन देखेछन्। निवेदन दिने पनि अन्तिम दिन रहेछ। २२ जनाको निवेदन परेकोमा कुलमणि छानिएछन्। यसरी, राधा श्रीमानका साथ चीन पुगिन्।
तर जाने बेलामा पनि दोधारे फैसला गर्नुपरेछ।
'अलिकति खुसी, अलिकति बेखुसी जस्तो भयो,' राधाले भनिन्, 'उहाँको नाम त निस्कियो, तर दुइटामात्रै बच्चा लैजान पाउने नियम रहेछ। हाम्रा चार जनामा कसलाई लाने, कसलाई छाड्ने?'
उनले श्रीमानलाई भनिन्, 'सबैलाई लान दिन्छ भने म जान्छु, नभए हजुर मात्र जानू। हामी घर (पाल्पा) जान्छौं। '
श्रीमान कुलमणिले गएर चिनियाँ अधिकारीहरूसँग कुरा गरे। उनीहरूले 'श्रीमती लैजाऊ' मात्र भनेछन्।
त्यही बेला ठूली छोरीले 'म त घरै जान्छु' भन्न थालिन्। छोरीले भनेका कुरा राधाले सुनाइन्, 'आमा, त्यही घरधन्दा गर्न, दैलो-चुलो पोत्न घर जाने? खुरुक्क जानू तपाईं, म घरै गएर पढ्छु। उता गए मेरो पढाइ पनि बिग्रिन्छ।' छोरी सात कक्षामा पढ्दै थिइन्।
तर उनीहरूले पूरै परिवारको भिसा पाए। तै छोरी जान मानिनन्।
'मेरो कान्छा बाको छोरा यहाँ तीनधारा पाठशालामा संस्कृत पढ्न बसेको थियो। उसैलाई खर्च दिएर छोरीलाई सिमरा हुँदै पाल्पा पठायौं। त्यही दिन बाँकी हामी कलकत्ता गयौं।'
'चीन जाँदा बाटोमा खानपिनमा सकस भयो। ब्राह्मण परिवारमा चोखोनितो गरेर हुर्किएकी मैले कलकत्ता पुग्दासम्म राम्ररी खाइनँ। भोकभोकै पुगेँ,' उनले सुनाइन्।
उनीहरू होटल पुगेपछि सबैले 'चार जना बच्चा भनेको होइन, खोइ' भन्दै सोधेछन्। पहिलो पटक चीन जान लागेका देवकोटा परिवारलाई तौरतरिका थाहा थिएन। भारतीय र चिनियाँ दूतावासमा कागजपत्र देखाउँदा-देखाउँदा निकै हैरानी भएको राधा बताउँछिन्।
उनीहरू बस्ने होटलको व्यवस्था चिनियाँले नै गरिदिएका रहेछन्।
'खाना खान बोलाएपछि श्रीमान छोराछोरी लिएर जानुभयो। म भने जुत्ता खोलेर भान्सा (खाने ठाउँमा) गएँ। श्रीमानले 'खै जुत्ता लगाएको' भनेपछि फेरि लगाएर आएँ,' उनले आफ्नो पहिलो विदेश भ्रमण अनुभव सुनाइन्, 'टेबुलमा टन्न खानेकुरा छ। छोराछोरी र श्रीमान खान थाले। म त अलपत्रै परेँ। खुसुक्क जुत्ता खोलेर फलफूल, सलाद र दही खाएँ।'
कलकत्तामा अलिअलि हिन्दी बोल्न पाउँदा उनी दंग परिछन्।
'त्यहाँ मधेसीले चटरपटर बेच्थ्यो, त्यो खाएँ,' उनले सुनाइन्, 'चाइनामा पाइन्ट-सर्ट लाउने चलन रहेछ। देशअनुसारको भेष गर्नैपर्यो। त्यहीँ किन्यौं।'
उनीहरू कलकत्ताबाट बर्माको रङ्गुन हुँदै चीनको कुनमिङ भित्रिएका थिए।
उसो भए चीनमा रमाइलो भयो?
'ओहो, बेस्सरी रमाइलो भयो। त्यहाँ त कसैले निम्तो गर्यो भने श्रीमानश्रीमती सँगै जानुपर्ने। एउटा मन्त्री विदेश गएर आयो भने त्यहाँ भएका कार्यक्रमहरू बताउन मिटिङ राख्ने। त्यस्तोमा पनि गइयो। पार्टीमा पनि गइयो। श्रीमानश्रीमतीलाई नछुटाउने के त्यहाँ।'
उनले चीन बस्दा चिनियाँ भाषा पनि सिकिछन्।
कसरी सिक्नुभयो भन्ने प्रश्नमा भन्छिन्, 'पढेर नि। भाषा नजानेर पानी खान पनि नजान्ने भएँ त।'
राधालाई चिनियाँ सिकाउन रेडियो पेकिङले नै भारत, कालिङपुङमा काम गरिसकेकी हिन्दी विभागकी महिला पठाइदिएछ।
'उनले चाइनिजलाई नेपालीमा उल्था गरेर भन्ने, मैले लेख्ने। लेख्न साह्रै गाह्रो के चाइनिज। तै सिकेँ नि,' उनले भनिन्। त्यतिखेर सिकेको चिनियाँ उनले अझै बिर्सेकी छैनन्।
'पछि त म अमेरिका पनि गएँ। छोराले बोलाएको थियो, दस महिना बसेर आएँ,' उत्साहित हुँदै सुनाइन्।
सोधेँ, 'चीन रमाइलो कि अमेरिका?'
'चाइनै रमाइलो। हिँड्न-डुल्न सजिलो त्यहाँ। अमेरिकामा त कोठाभित्र थपक्क बस्ने मात्र। छोराबुहारी बिहानै काममा जाने। शनिबार र आइतबार विदामा भने डुल्न गइन्थ्यो। अहिले नातिनीलाई डाक्टर पढाएका छन्,' उनी गर्व गर्दै सुनाउँछिन्।
राधादेवी अमेरिकाबाट फर्किएको एक दशक हुन लागिसक्यो। केही समयदेखि जेठो छोराको परिवारसँग चण्डोलमा बस्छिन्। तै आफ्नो जन्मथलो पाल्पा नै मनपर्ने बताउँछिन्।