दाङ तुलसीपुरको बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गरेको धारामा धमिलो पानी आउन थालेपछि उपभोक्ता धमिलो पानी बोकेर तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेकहाँ पुगेका छन्।
समितिले वितरण गरेको धारामा धमिलो पानीमात्रै आउन थालेपछि उपभोक्ता गुनासो गर्न मेयरसामू पुगेका हुन्।
तुलसीपुर–१९ का धनमाया वलीले धमिलो पानी पिउँदा विभिन्न खालका सरुवा रोगबाट पीडित हुनुपरेको गुनासो गरिन्।
‘के यो पानी पिउन योग्य छ मेयरसाप,’ बोतलको पानी देखाउँदै वलीले भनिन्, ‘समस्या तुरुन्त समाधान गर्न भूमिका नखेले अब चुप लाग्दैनौं।’
पानीको मुहान क्षेत्रमा सिमेन्ट उद्योग स्थापना हुनुभन्दा पहिला स्वच्छ र सफा पानी आउने धारामा उद्योग स्थापनापछि धमिलो पानी आउने गरेको उपभोक्ताले गुनासो गरे।
जनताको भविष्य र स्वास्थ्यसँग खेलवाड भइरहेको हुँदा तत्काल त्यो रोक्नको लागि मेयरले कदम चाल्नुपर्ने उपभोक्ताले आग्रह गरे।
तुलसीपुर उपमहानगरपलिका १७ निवासी ज्ञानेन्द्र विश्वकर्माले समयमै समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए।
उनले धमिलो पानीका कारण महामारी फैलन सक्ने संभावना औंल्याए।
खानेपानी समितिका अध्यक्ष प्रदिप गौतमले भने पानी प्रशोधन केन्द्रमा मर्मतको काम भइरहेको बताए।
उनले सिमेन्ट उद्योगका कारण मुहानहरू सुकेको तथा मुहानको पानी धमिलो भएको बताउँदै पानीको मुहान संरक्षणमा लाग्न जरुरी रहेको बताए।
खानेपानीको मुहानमाथि सोनापुर सिमेन्ट उद्योगले चुन ढुंगा उत्खनन् गर्दा मुहानको पानी धमिलो आउने गरेको हुँदा त्यो रोकिनुपर्ने उपभोक्ताले माग गरेका छन्।
पानीको मुहान संरक्षण गर्नको लागि पहल गरिदिन स्थानीय उपभोक्ताले मेयर पाण्डेलाई आग्रह गरे।
बेलझुण्डी खानेपानी समितिले उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ मा सामुदायिक र निजी गरी १ हजार २ सय भन्दा बढी धारा वितरण गरेको छ ।
धमिलो पानी बोकेर आएका आक्रोसित उपभोक्तालाई नगरप्रमुख पाण्डेले स्वच्छ पानी पिउन पाउने नागरिकको अधिकारको रक्षाको आफू लड्ने आश्वासन दिए।
मेयर पाण्डेले मुहान क्षेत्रको अनुगमन र निरीक्षणमा गएर समस्या समाधान तत्काल गर्न पहल गर्ने बताए।