रेडियो तुलसीपुर दाङका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको ९ वर्ष पुरा भएको छ।
विक्रम संवत २०६७ साल साउन ६ गते बेलुका पौने ७ बजेतिर ४२ वर्षीय धितालको अपरिचित हतियारधारी समूहले गोली हानेर हत्या गरेको थियो।
हेमराज स्मृति प्रतिष्ठानले हरेक वर्ष साउन ६ गते उनको स्मृतिमा कमक्रम आयोजना गर्छ।
पत्नी मञ्जु धितालले ९ वर्षसम्म पनि हत्यारा पत्ता लगाउन नसक्नुले प्रहरीको अक्षमता झल्किएको बताइन्। प्रहरीको अनुसन्धान तौर तरिका माथि नै प्रश्न चिन्ह खडा भएको धितालले बताइन्।
स्मृति कार्यक्रममा दाङ जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले हेमराजको शरीरमा फेला परेको गोलीको खाेकाको आधारमा हालसम्म हतियार नभेटिएको बताए।
‘हाम्रो ल्याबमा त्यो गोलीको खोका अझैं सुरक्षित नै छ। त्यो गोली पड्काउने हतियार अझैं बाहिरै छ। अपराधिकै हातमा छ’ एसपी पाण्डेले भने।
धिताल हत्या काण्डमा तत्काल साक्षी कोही नभएको एसपी पाण्डेले बताए। तर उनले दुइ विषयबाट मुद्दामाथि अनुसन्धानको काम भइरहेको बताए।
‘धितालको आर्थिक कारोबारका कारण हुन सक्छ कि भन्ने अनुसन्धानको एउटा पाटो हो, अर्को भनेको शरिरमा फेला परेको गोलीको खोका आधार हो’ उनले भने।
२०७४ साल माघमा हेमराज हत्या काण्ड बारेको फाइल ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट हेडक्वाटर गएको एसपी पाण्डेले बताए। ‘हामीले तथ्यहरु नयाँ निर्माण गर्ने होइन, प्रमाण पत्ता लगाउने मात्रै हो,’ एसपी पाण्डेले भने ‘अनुसन्धानमा जति विलम्व हुन्छ त्यति ठूलो क्षति पुर्याउँछ।’
यसको अर्थ हत्या पत्ता लगाउन सकिँदैन भन्ने नभएको उनले बताए।
ढिलै भएपनि एकदिन धिताल हत्या काण्डवारे प्रहरीले तथ्य सार्वजनिक गरेरै छोड्ने आशा व्यक्त गरे। धितालका हत्यारा ९ बर्षसम्म पनि पत्ता नलाग्दा परिवारजन र समाजका त्रास कायमै रहेको सरोकारवालाहरुले बताए।
तत्कालीन उरहरी गाविसबाट नेपाली काँग्रेसको चुनावी प्रचार सकेर तुलसीपुरस्थित घरतर्फ आउँदै गर्दा बाटो ढुकेर बसेको हतियारधारी समूहले हेमराजलाई उरहरी गाविसको जसपुर हेमनगरमा गोली हानेर हत्या गरेको थियो।
तत्कालीन उरहरी गाविस वडा नं. ८ बेलगनारमा पनि धितालको घर थियो। स्थानीय निर्वाचनमा उम्मदेवार बन्ने उद्देश्यका साथ उनी त्यतिबेला आफ्नो पक्षमा गाउँगाउँमा माहोल बनाएर मोटरसाइकलमा घर तर्फ फर्किँदै थिए।
राप्ती राजमार्गस्थित हेमनगरमा ढुकेर बसेका ५÷६ जनाको हतियारधारी समुहले समसाँझै लखेटी लखेटी गोली प्रहार गरेको थियो। धिताल राप्ती सार्वजनिक यातायात व्यवसायी समितिमा अध्यक्ष पनि भएका थिए।