दाङमा मंगलबार रातिदेखि सिमसिम वर्षा भइरहेको छ। खोला नालाको सतह बढेको छ। लगातारको वर्षाले जिल्लाका ठूला पानीका स्रोत भएका बबई र राप्ती नदीमा बहाब बढेको छ। यी दुई नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीको अत्यधिक त्रास रहन्छ।
राप्तीको तटीय क्षेत्रमा पर्ने लमही नगरपालिका वडा नं. ८ जहरेका गाउँले ज्यान जोगाउन कति पटक भागे भागे त्यसको लेखाजोखा छैन। असार २७ गते पनि त्यसैगरी उनीहरु घर छोडेर भागे।
बुधबार पनि पानी परिरहेकाले स्थानीय तयारी अवस्थामा छन्। ‘कतिबेला घर छोडेर भाग्दै माथि डाँडोमा उक्लनु पर्ने हो, निश्चित छैन। पानी पर्दा तयारी हुन्छौँ, बुढाबुढी र बच्चा बच्चीलाई भने सुरक्षित स्थानमा सारेका छौँ’ फोनमा उर्मिलाले भनिन्।
जहरे, खोलीगाउँ लगायत धनपुरुवा समुदायका ८० घर परिवार एकआध घन्टा वर्षा हुनासाथ घर छोड्न बाध्य हुन्छन्। राप्तीको डुवानबाट जोगिन भागेर राजमार्ग आसपासमा गएर बस्ने गर्छन्। उर्मिलाले दुई वर्ष अगाडि मात्रै राप्तीमा बाढी आउँदा दुई दिनसम्म भोकभोकै घरको छाना माथि बसेर ज्यान जोगाएकी थिइन्।
वरिपरि बाढीले घेरो हालेपछि कसरी भागेर जाने भन्ने समस्या गाउँलेलाई हुन्छ। बाढीले घेर्दा साना साना बच्चाको ज्यान जोगाउने, खानेकुरा डाँडासम्म पु¥याउने भन्ने समस्या गाउँलेहरुले भोग्दै आएका छन्।
‘दुई दिनसम्म केही नखाएर भोकभोकै बस्नु परेको अवस्था पनि छ,’ उर्मिलाले भनिन्। तर, बाढीको पूर्व तयारी भने स्थानीय आफैले गर्ने गरेको उर्मिलाले बताइन्।
‘बाढीले सबै दाउरा भिजेपछि खाना पकाउनै नमिल्ने,’ उर्मिलाले भनिन्, ‘अहिले गाउँले सबैले घरमा एउटा ग्यासको जोहो गरेर राखेका छन्।’
स्थानीयले बाढीबाट जोगिन एक÷एक वटा ‘अट्वा’ ( काठको खामा गाढेर जमिनभन्दा माथि बस्न मिल्नेगरी बनाइएको) निर्माण गरेका छन्।
अट्वामा ग्यास सिलिन्डरदेखि चामल, दाल, नुन, तेल, ओढ्ने ओछ्याउने लत्ताकपडा सबै राखिएको हुन्छ। एकाएक बाढीले घेरेपछि उनीहरु पहिले यसमा अति आवश्यक सामाग्री पुर्याउँछन्। साना बालबच्चालाई पनि त्यही राख्छन्। पछि परिस्थिति जटिल बनेमा सबै माथि डाँडोमा उक्लन्छन्।
बस्ती जोगाउन राज्यबाट कुनै पहल हुन नसकेको धनपुरा दैवि विपत व्यवस्थापन समुदायका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले बताए। स्थानीय ३५ वर्षीया राजकुमारी चौधरीले बाढी आउँदा भागेर डाँडोसम्म जाने बाटो समेत नभएको गुनासो गरिन्।
बाढीको समयमा सबैभन्दा सास्ति महिलाले भोग्नु परेको उनले बताइन्। ‘बालबच्चा र सामान ओसारपसार गर्नु, घर भित्रको पानी फालेर चुलोमा खान बनाउनु कम्ता गाह्रो हुन्न’ उनले भनिन्।
राप्ती नदी जहरे गाउँदेखि झन्डै ५० मिटरको दुरीमा छ। आफ्नो जग्गा जमिन भएकाले गाउँलेहरु यो बस्ती छोडेर अन्यन्त्र जान सकेका छैनन्। ‘उर्वर माटो भएकोले यहाँ उब्जनी पनि राम्रो हुन्छ। सिजन अनुसारको तरकारी खेती गर्न पाइन्छ’ स्थानीय ४५ वर्षीया माघी चौधरीले भनिन् ‘अन्यन्त्र जान घरजग्गा पनि छैन।’
उनले राप्ती नियन्त्रणको लागि सरकारले विशेष ध्यान दिएर बस्ति सुरक्षित गर्नुपर्ने बताइन्। राप्तीको कटान नियन्त्रण गर्न राज्यले चासो नदिएकाले आफूहरुको जग्गा बगरमा परिणत भएको ७० वर्षीया बर्कन्या चौधरीले बताइन्।
७६ वर्षीय बुद्धिराम केसी बाढी आउँदा धेरैपटक भाग्यले बाँचेको ठान्छन्। ‘लगातार पानी पर्न थालेपछि रातमा सचेत भई जागै बस्छौँ,’ केसीले भने।
बर्षौंदेखि भोग्दै आएको समस्या समाधानका लागि राज्यले चासो नदेखाएको भन्दै उनले आक्रोस पोखे। ‘राप्तीको किनारमा सुरक्षित तटवन्ध गरे बस्तीमा बाढी पस्ने समस्याको अन्त्य हुन्छ, राज्यले काम गर्नु पर्छ,’ केसीले भने।