दाङमा सर्पको टोकाइबाट एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी १० बर्षीया सुजु सार्की र उनकी १३ वर्षिया दिदी कस्मिरा सार्कीको सर्प दंशवाट मृत्यु भएको छ ।
स्थानीय शिवशक्ति माध्यामिक विद्यालयका प्रधानाध्यापक लिलाधर विकले सेतोपाटीलाई दिएको जानकारी अनुसार मृतक दिदी बहिनीले कक्षा ७ र कक्षा ५ मा अध्यनरत दिदीबहिनीलाई बिहान ४-५ बजे सुतेकै ठाउँमा सर्पले टोकेको थियो।
भारतसंग सीमाना जोडिएको विकट क्षेत्र भौवा नाकावाट उनीहरुलाई उपचारको लागि सुरुमा भारतको शिरशियास्थित अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार संभव नभएपछि उनीहरुलाई थप उपचारका लागि बहराईच लैजाँदै गर्दा बाटोममा नै उनीहरुको मृत्यु भएको हो ।
विकट क्षेत्र भएको हुँदा त्यहाँवाट लमहीस्थित अस्पताल सम्म आउन झन्डै ६-७ घन्टा लाग्ने गर्छ भने भारत तर्फ जाँदा दुई तीन घन्टामा पुग्न सकिने हुँदा उपचारका लागि भारततर्फ लगिएको विकले बताए ।
स्वास्थ्य, यातायात, संचार लगायतको सुविधावाट बञ्चित भौवा नाका क्षेत्र जंगल क्षेत्र हो ।
प्रधानाध्यापक विकका अनुसार एकाबिहानै दुबै दिदी बहिनीलाई सर्पले डसेपनि सुरुमा बिहानभर झारफुकको प्रयास गरेर ढिलागरी अस्पताल लैजाने गल्तीले गर्दा दुबै दिदी बहिनीको मृत्यु भएको हो ।