कारागार कार्यालय तुलसीपुरमा रहेका कैदीबन्दीले वर्षायाममा सास्ती ब्यहोर्दै आएका छन्।
कारागारको छत चुहिने भएकाले कोठाभर भाँडा थापेर सुत्नुपर्ने बाध्यता छ। थाप्ने भाँडा नपाए चिसै कोठामा बस्न कैदीहरु बाध्य छन्। कारागारको छतैभरि घाँस उम्रेको छ। यो समस्या एक दुई कोठाको मात्रै नभई पुरानो भवन (ब्लक)को हो।
तुलसीपुर कारागारका निमित्त जेलर जोखिम वलीले पुरानो ब्लक जीर्ण भएकाले चुहिने गरेको बताए। ‘पानी रोकथाम गर्ने प्रयास स्वरुप छतमा त्रिपाल राखेर त्यसमाथि माटो राखेका हौँ, निमित्त जेलेर वलीले भने ‘तर पनि चुहिने समस्या छ।’
भवन मात्रै नभई त्यहाँको विद्युत तार समेत जीर्ण भइसकेकाले जोखिम बढेको छ। ‘पानी पर्यो कि विद्युत सर्ट हुने डर हुन्छ, जीर्ण भवन र पुरानो तारले त्रास बढाएको छ,’ निमित्त जेलर वलीले भने।
तुलसीपुरको पुरानो कारागार झन्डै ३९ वर्ष अगाडि अर्थात विक्रम संवत २०३७ साल साउनमा स्थापना भएको देखिन्छ। पुरानो ब्लकको नजिकै पूर्व तर्फ दुई वर्ष अगाडि अर्को एउटा नयाँ कारागार पनि निर्माण गरिएको छ। तर त्यसमा सबै कैदीबन्दी नअटाउँदा पुरानो ब्लकमा राख्नैपर्ने बाध्यता रहेको वलीले बताए।
तुलसीपुरमा ४ सय ८३ कैदीबन्दी
तुलसीपुरको प्रदेश प्रहरी कार्यालय नजिकैको कारागारमा हाल कुल ४ सय ८३ जना कैदीवन्दी छन्। पुरानो ब्लकमा मात्रै १ सय ५४ पुरुष र २८ महिला गरी १८२ कैदीबन्दी छन्। साथमा तीन जना आश्रित बालबालिका छन्। यो संख्या भवनको क्षमताभन्दा झन्डै दोब्बर हो।
त्यस्तै दुई वर्ष पहिले निर्माण गरिएको नयाँ व्लकको क्षमता २ सय जनाको हो। तर २ सय ९८ पुरुष कैदीबन्दीहरु राखिएको छ। दुईवटा व्लकमा गरी कुल ४ सय ५२ पुरुष र २८ महिला कैदीवन्दी छन्।
तुलसीपुर कारागारमा ११ जना भारतीय कैदीवन्दी
तुलसीपुर कारागारमा ११ भारतीय कैदीबन्दी छन्। जसमा ३ जना जवरजस्ती करणीका छन्। लागु औषध र ज्यान मार्ने उद्योगका २÷२ जना, अपहरण र ठगीका १÷१ जना कैदीबन्दी रहेको निमित्त जेलर वलीले जानकारी दिए।
कारागारमा सबैभन्दा धेरै १ सय ४९ जना र एक थुनुवासहित १ सय ५० जना जवरजस्ती करणीका कैदीबन्दी छन्। कर्तव्य ज्यान मुद्दाका १ सय १६ जना र अन्य विभिन्न २० प्रकारको मुद्दामा दोषी सावित ४८३ जनाले सजाय भुक्तान गरिरहेको निमित्त जेलर वलीले बताए।
नयाँ व्लकका चौकीदार नरेन्द्र घर्तीले कारागारभित्र महिनामा दुई पटक साँस्कृतिक कार्यक्रम हुने गरेको बताए। त्यस्तै उनले कारागार भित्रै सामुहिक रुपमा योगा अभ्यास हुँदै आएको जानकारी दिए। कैदीवन्दीलाई स्वरोजगार प्रदान गर्न विभिन्न खालका तालिम पनि संचालन हुँदै आएको चौकीदार पुनले बताए।
संघीय सरकारको २ लाख रकमबाट फर्निचर निर्माण सम्वन्धि र प्रदेश सरकारको ५ लाख बजेटबाट १/१ महिने कटाई सिलाई र जुत्ता निर्माण तालिम प्रदान गरिएको पुनले बताए। त्यस्तै उनले कारागार भित्रै कैदीबन्दी साक्षर कार्यक्रम पनि संचालन हुँदै आएको बताए। ‘पहिले ल्याप्चे लगाउने ७० जना कैदीबन्दी हाल साक्षर बनेको पुनले बताए।
घोराइ कारागार: शौचालय जाँदा आधा घण्टा लाइन बस्नुपर्ने
घोराहीमा रहेको कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी छन्। ५० जना अट्ने क्षमता रहेकोमा हाल २ सय ९७ कैदीबन्दी रहेको जेलर विष्णु पाण्डेले बताए। कोचिएर बस्नुपर्ने र रातमा सुत्नलाई समेत समस्या हुने गरेको घोराही कारागारका चौकीदार खगेन्द्र बस्नेतले बताए।
‘सुत्न, शौच गर्न ठूलो समस्या हुने गरेको छ’, कारागारका चौकीदार बस्नेतले भने, ‘बिहान शौच गर्न आधा घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ।’
कारागारमा ६ वटा मात्रै शौचालय छन्।
‘पानी नपर्दा कतिपय कैदीबन्दीहरु बाहिरै सुत्ने गर्छन्’ उनले भने। कारागारको क्षमता वृद्धि नहुने तर दिनदिनै कैदीबन्दीहरु थपिँदै जाँदा व्यवस्थापनमा समस्या रहेको जेलर पाण्डेले बताए।
कैदीबन्दीहरु स्थानान्तरण गरेर समस्या समाधान गर्ने पहल गरेपनि अधिकांस कैदीबन्दीहरु घर पायक बस्ने इच्छा गर्ने हुँदा समस्याभएको जेलर पाण्डेले तर्क गरे।
कारागारमा सबैभन्दा धेरै जवरजस्ती करणीमा ९२ जनाले सजाय भोगी रहेका छन्। त्यस्तै कर्तव्य ज्यानमा ६८, लागु औषधमा २६, सवारी ज्यानमा १९, चोरीमा ३३, डाँका चोरीमा ७ जना, हातहतियार तथा खरखजना अपराधमा ११ जनाले सजाय भोगिरहेका छन्।
कुटपिटमा ३, ज्यान मार्ने उद्योगमा ६ जना, ठगीमा ४ जना, वन पैदवार तथा वन्यजन्तुमा ५ जना, अपहरण तथा शरिर बन्दकमा १ जना, बहुविवाहमा ३ जना कारागारमा रहेको जेलर पाण्डेले बताए। राजश्व अपराधमा २ जना, सार्वजनिक अपराधमा १, मानव बेचबिखनमा २, सहकारी रकम हिनामिनामा १, आत्महत्या दुरुत्साहनमा १ र सरकारी छाप किर्तेमा एक जनाले सजाय भोगिरहेका छन्।
जेलर पाण्डेकाअनुसार घोराही कारागारमा हाल ६ जना कैदी र ४ जना थुनुवा गरि १० जना विदेशी नागरिकले सजाय काटिरहेका छन्।