दाङको एक मात्र विमानस्थल टरिगाउँमा नयाँ टर्मिनल भवन निर्माण कार्य सकिएको छ।
५८ लाख रुपैयाँ लगानीमा नागरिक उड्ययन प्राधिकरणले नयाँ टर्मिनल भवन (यात्रु प्रतिक्षालय) निर्माण गरेको हो।
आर्थिक वर्ष २०७५/०७६को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामै पुरा भएको न्यू अष्ट्रिना निर्माण सेवाका प्रोप्राइटर सुरेशकुमार आचार्यले जानकारी दिए।
भ्याट बाहेक ५१ लाख ५६ हजार र भ्याटसहितको खर्च जोड्दा ५८ लाख २७ हजार बराबर खर्च भएको कम्पनीले जनाएको छ। नागरिक उड्ययन प्राधिकरण नेपालगञ्जले आह्वान गरेको टेन्डरमा आचार्यले माघ ४ गते टेन्डर सकारेका थिए।
लम्वाई २४ मिटर, चौडाई १२ मिटरमा निर्माण गरिएको नयाँ टर्मिनल भवनभित्र महिला र पुरुष शौचालय निर्माण गरिएको छ। त्यस्तै अन्य यूरिनल रुम, नागरिक उड्ययनका लागि यात्रु चेकिङ पोष्ट, सुरक्षाकर्मीको लागि कोठाहरुको व्यवस्था छ।
नागरिक उड्ययन प्राधिकरणको शर्तअनुसार टर्मिनल भवन निर्माण गरिएको आचार्यले बताए। भित्रै चमेना गृह पनि निर्माण गरिने भएको छ। ‘हामीले निर्माण गरेको नयाँ टर्मिनल भवनमा स्पेस छ। पार्टेसन गरेर चमेना गृह लगायत संरचना निर्माण गर्न सकिन्छ,’ आचार्यले भने।
जिम्मा लिएको ६ महिनामै निर्माण पुरा भएकाले अब सक्दो चाँडो हस्तान्तरण गर्न तयार रहेको उनले बताए।
नयाँ टर्मिनल भवनले आशाको सञ्चार
वि.सं. २०११ सालदेखि टरिगाउँ विमानस्थलमा विमान बस्न सुरु गरेको थियो। त्यतिबेलै निर्माण गरिएका भौतिक संरचना साँगुरा हुनुका साथै जीर्ण अवस्थामा पुगेको हुँदा यात्रुहरु नजिकैको बरपिपलको रुखमुनि बस्नुपर्ने बाध्यता थियो। नयाँ टर्मिनल भवन निर्माण भएपछि अब रुख मुनि र अन्यन्त्र बस्नु पर्ने बाध्यता अन्त्य भएको छ।
हालसम्म व्यवस्थित टर्मिनल भवन नहुँदा यात्रु चेकजाँचमा पनि समस्या रहँदै आएको छ। हातैले छामछुम पारेर यात्रुको सामान चेकजाँच हुँदै
आएकोमा अब व्यवस्थित हुने आशा गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले बताए। ‘दाङ एयरपोर्टको भविस्य के हुने भन्ने चिन्ता थियो, नयाँ टर्मिनल भवनले फेरि आशाहरु जागेको छ,’ केसीले भने।
कहिले उडान हुने र कहिले बन्द हुने टरिगाउँ एयरपोर्टमा साउनको अन्तिम सातादेखि दैनिक दुईवटा उडान हुन थालेकाले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने सचिव केसीले बताए। टरिगाउँ एयरपोर्टमा वर्षौं पहिले निर्माण गरिएको टावर पनि जीर्ण भइसकेको हुँदा नयाँ टावर निर्माणमा नागरिक उड्ययन प्राधिकरणले ध्यान केन्द्रित गर्नुपर्ने केसीको सुझाव छ।
टावर लगायत आसपासका अरु जीर्ण संरचनाहरु पनि हटाउन अति आवश्यक छ। त्यस्तै धावन मार्गको विस्तार तथा रिफ्यूलिङ सेन्टर स्थापना अति आवश्यक रहेको भन्दै सचिव केसीले त्यसमा सरोकारवालाहरु तत्काल गम्भीर हुनुपर्ने धारणा राखे।
‘हालसम्म जिल्लामा यो एक मात्रै एयरपोर्ट हो। विरामी अशक्त वा घाइते व्यक्तिहरुको लागि यहाँ नियमित विमान आउन जरुरी छ,’ सचिव केसीले भने।
हाल टरिगाउँ एयरपोर्टमा ७५० मिटर लम्वाई र ३० मिटर चौडाईको कालोपत्रे धावन मार्ग छ। त्यसैले यसमा साना विमान मात्रै अवतरण गर्न मिल्छ। पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरको पालामा धावन मार्ग कालोपत्रे गरिएको हो। ठाउँ हुँदा हुँदै सानो क्षेत्रफलमा मात्रै धावन मार्ग विस्तार गर्ने गल्ती भएको हुँदा त्यसको विस्तार गर्न सके ठूला विमान आउन सक्नेछन्।
जसले गर्दा भाडा पनि सस्तो पर्न जाने सचिव केसीले बताए। ‘हाल नेपालगञ्ज भन्दा पनि दाङको भाडा धेरै छ। प्रमुख कारण ठूला विमान अवतरण गर्न नसक्नुले गर्दा नै हो’ केसीले भने ‘अर्कोतर्फ विमानमा तेल हाल्ने व्यवस्था नभएकैले गर्दा हो।’
पछिल्लो समय दैनिक दुई वटा उडान हुन थालेपछि अब तुलसीपुर क्षेत्रमा स्तरीय होटेलहरु संचालनको तयारीमा व्यवसायी रहेको केसीले बताए। ‘एउटा पाँच तारे होटेल खोलौं भन्ने सल्लाह साथीहरुले सुरु गरेका छन्। तर, त्यसको लागि विमानको नियमित उडान आवश्यक पर्छ’ सचिव केसीले भने।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा विमान नियमित भएसँगै सेवा सुविधा र पूर्वाधारहरु पनि बढाउँदै लैजाने योजना सुनाए।
विभिन्न चरणमा विमानस्थलको सुधार गर्दै लगिएको भन्दै उनले रनवे विस्तारका लागि पनि पहल भइरहेको बताए। ‘म रनवे विस्तारमा लागि परेको छु, पर्यटन मन्त्रीले पनि विस्तार गर्ने वचन दिनु भएको’ मेयर पाण्डेले भने।
प्रदेश सरकारले तुलसीपुर विमानस्थल सञ्चालनलाई पञ्च वर्षीय योजनामा राखेर काम अगाडि बढाउन लागेको उनको भनाइ छ। रनवे विस्तारको काम पनि उनले छिट्टै सुरु हुने जानकारी दिए। अस्थायी इन्धन डिपोको काम अन्तिम चरणमा पुगे पनि केही प्राविधिक कमजोरीका कारण हुन नसकेको पाण्डेले बताए।