फलफूलमा मानव स्वास्थ्यको लागि घातक मानिने रसायन प्रयोग हुने गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको अनुगमनमा त्यस्तो तथ्य फेला परेको हो ।
उपमहानगरपालिकाले केही दिन यता तुलसीपुरमा बजार अनुगमनलाई निरन्तरता दिदै आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका कार्यालय प्रमुख बिवेक बञ्जाडाले केरा पकाउन प्रतिवन्धित रसायन ‘क्याल्सियम कार्बन’ प्रयोग गरेको पाएको बताए ।
सरकारले इपथोन भन्ने फलफूल पकाउने रसायन भने प्रतिवन्ध लगाएको छैन । तर त्योपनि मापदण्ड भन्दा धेरै र मनपरी प्रयोग गरिदै आइएको छ । अनुगमनका क्रममा प्राय फलफूल पसलहरुमा इपथोन नामक रसायन फेला परेको छ ।
‘क्याल्सियम कार्बन प्रतिबन्धित रसायन हो । यो कार्सिनोजेनिक छ । क्याल्सियम कार्वनको प्रयोगले मानिसमा क्यान्सरको खतरा रहन्छ,’ बञ्जाडेले भने ।
यो रसायनको प्रयोग भएमा मानव शरिरमा अन्य विभिन्न समस्या समेत रहन्छ । व्यापारीहरुले हरियो केरा एकै साथ ठूलो परिमाणमा पकाउन यस्तो घातक रसायन प्रयोग गर्ने गर्छन ।
मनोज फ्रुट एण्ड जुस कर्नरमा मानिसमा क्यान्सर समेत हुन सक्ने घातक रसायन बरामद भएको छ । हरिया केरा पकाउन प्रयोग गरिएको उक्त रसायन प्रयोग भएका २२ क्रेट केरा समेत अनुगमन समितिले बरामद गरेको छ ।
सञ्चालक मनिषकुमार गुप्ताको पसलमा उक्त घातक रसायन बरामद भएको हो । बरामद भएको सबै कुरा र रसायन नष्ट गर्ने प्रमुख बञ्जाडेले बताए ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिकी संयोजक तथा उपमेयर माया आचार्यले कुनैपनि व्यापारीले मानव स्वास्थ्यमा प्रभाव पार्ने र सरकारले प्रतिवन्ध लगाएको रसायन प्रयोग गरि व्यापार गर्न खोज्नु अक्षम्य अपराध भएको बताइन ।
‘व्यापारको नाममा मनपरी गर्ने छुट कसैलाई छैन । सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्ने गरि घातक विषादी प्रयोग गर्नेलाई कारवाही हुन्छ,’ आचार्यले भनिन् ।
बजार अनुगमनका क्रममा फेला परेको विषादी देखाउँदै उनले व्यापारीले कमाउने नाममा यतिसम्म गिर्दा रहेछन् भन्ने थाहा पाउँदा आफुलाई निकै पीडा भएको बताइन ।
‘अबदेखि नियमित रुपमा बजार अनुगमन गर्छौं। पहिलो पटक चेतावनी दिन्छौं र फेरि भेटिए उस्लाई व्यापारमै प्रतिवन्ध लगाउन सकिनेछ,’ उनले भनिन् ।
उनले यसअघिका अनुगमनमा पनि म्याद नाघेका जुस तथा पिय पदार्थहरु बरामद गरिएको, अस्पालतको एक मिटर दुरी भित्रै धुम्रपान तथा मध्यपान खुल्ला रुपमा विक्रि वितरण हुँदै आएको हुँदा त्यसमाथि प्रतिवन्ध लगाउने जानकारी दिइन ।
पटक-पटक आग्रह गर्दापनि अटेरी गर्ने खराब व्यापारीलाई कानुनी दायरामा ल्याउने उपमेयर आचार्यले बताइन । अनुगमन समितिका एक सदस्य नारायण भण्डारीले पतिको दिर्घायूको कामनाको लागि वर्त बस्दा खाने केरा तथा फलफूलको प्रयोगले झनैं उनीहरुको स्वास्थ्य जोखिममा पर्ने स्थिति देखिएको तर्क गरे ।
तुलसीपुर उद्योग बाणिज्य संघ अन्तरगत गठित फलफूल व्यवसायी उपसमितिका संयोजकले सञ्चालन गर्दै आएको सीता फ्रुट सेन्टरमा पनि अनुगमनका क्रममा एथेफन नामक विषादी फेला परेको भण्डारीले जानकारी दिए ।
उनले केही पसलमा म्याद गुर्जेका, उत्पादन मिति र उपभोग गर्ने मिति समेत उल्लेख नगरिएको अवस्थामा फेला परेका मसला लगायतका सामान बरामद गरिएको बताए ।
तर कतिपयले व्यापारीहरुले भने चाडपर्वमा मात्रै हुने अनुगमनको खास उदेश्य रकम झार्ने बार्गेनिकका लागि हुन नहुने बताए ।
‘अघिपछि यस्ता अनुगमन समिति कहाँ हुन्छन्,’ती व्यापारीले भने ‘चाडपर्वमा हामीलाई आतंकित पार्नेगरी गरिने बजार अनुगमनको कुनै तुक छैन।’
यस्तो मत राख्नेहरुले अनुगमन स्वागत योग्य कुरा भएपनि यो निरन्तर हुनुपर्ने र कमाउने बाहानामा मनोमानी गर्नेहरुलाई व्यवसाय गर्न प्रतिवन्ध लगाउन स्थानीय सरकारले भूमिका खेल्नु पर्ने बताएका थिए ।
‘पैसाको चलखेल नहोस। गल्ती गर्नेलाई कारवाही होस । त्यसमा हामी सघाउँछौं,’ एक व्यापारीले भने ‘यसअघि झैं अनुगमनको नाममा व्यापारीलाई दुःख दिने गरेका गुनासाहरु अब सुन्न नपरोस्।’
उनले इमान्दारी पूर्वक व्यापार गर्नेहरु गलत गर्नेहरूका कारण मर्कामा परेको बताए ।