दाङ, घोराहीको देव विकास बैंकको झन्डै १८ करोड घोटाला काण्डमा प्रहरीले थप दस जनालाई पक्राउ गरेको छ। सो काण्डमा यसअघि पक्राउ परेका घोराही वडा नं. १५ भरतपुरका २९ वर्षीय समीर बुढाथोकीको बयानका आधारमा थप दस जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
उनी सो बैंकका प्रबन्धक हुन्। उनको बयानका आधारमा प्रहरीले पछिल्लो समय थप दस जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा घोराही-१० का ४७ वर्षीय वसन्तबहादुर बस्नेत, सोही ठाउँका २६ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ वर्षीय झगबहादुर डिसी, ३७ वर्षीय उज्वल आचार्य, ५४ वर्षीय सतकुमार पौडेल, घोराही-८ का ४३ वर्षीय वसन्त बुढाथोकी, घोराही-१४ की २४ वर्षीया बन्धना गुप्ता, घोराही-१५ का ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, घोराही-१० का ४५ वर्षीय सक्टुराम गुप्ता र घोराही उपमहानगरपालिका वडा नं. १४ का ३१ वर्षीय विजयकुमार गुप्तालाई भिन्न मितिमा पक्राउ गरेको हो।
उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी दाङ प्रहरीले सार्वजनिक गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजारस्थित बैंकको करिब १८ करोड रकम हिनामिना गरेको अभियोगमा प्रबन्धक समीर बुढाथोकीलाई प्रहरीले भदौ ३ गते नै पक्राउ गरेको थियो।
प्रबन्धक बुढाथोकीलाई देव बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। नक्कली ऋणी खडा गरेर उनले रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो।
प्रबन्धक बुढाथोकीले नक्कली ऋणी बनाएर बैंकको १८ करोड हिनामिना गरेको आरोप लागेको छ। सोही कुसरमा पक्राउ परेका बुढाथोकीको बयानका क्रममा अन्य थप दस जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
प्रहरीले क्राउ परेका दसै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्यादसमेत थप गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए।
पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त भएको गौतमले जानकारी दिए। गौतमले पक्राउ परेका प्रबन्धको बयानका आधारमा बैंकको १८ करोड घोटाला काण्डमा अन्यको पनि नाम आएको हुँदा उनीहरूको संलग्नता रहे/नरहेको अनुसन्धान गरी पक्राउ गर्दै जाने जानकारी दिए। प्रहरी निरीक्षक गौतमले पछिल्लो समय पक्राउ गरिएका दस जनाको खातामा १८ करोड मध्यको रकम बैंकबाट ट्रान्सफर भएको देखिएन आएको बताए।
‘बैंकबाट रकम ट्रान्सफर गरेर दसै जनाले पटक-पटक उक्त रकम निकासा गरेको देखिएन आएको छ,’ गौतमले भने। दाङमा केन्द्रीय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंक र देव बिकास बैंक गत असार महिनामा मात्रै मर्ज भएका थिए।