उनको जन्म गरिब थारू परिवारमा भयो। तर, कसरी-कसरी उनले सानैबाट ठूलो सपना देख्न सिकिन्।
तुलसीपुर उपमहानगरपालिका-१३, फूलबारीस्थित गरिब र अशिक्षित परिवारमा जन्मेकी उनलाई पढ्ने खुब सोख थियो। उनी घरको सिकुवामा बसेर गाउँभरका केटाहरू स्कुल गएको हेरिरहन्थिन्। काँधमा झोला भिरेर स्कुल गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो।
उनको परिवारमा भने छोरीको के कुरा, छोराहरू नै स्कुल जान्थेनन्। उनका एक दिदी र तीन दाजुभाइ छन्। कसैले पढेका छैनन्। एकदिन उनकी दिदी स्कुल जाँदा आमाले खुट्टा सुन्निने गरी कुटिछन्। यही डरले पढ्न जानै छाडिन्।
उनी भने डराइनन्।
कति साहसी भने, अम्मापुर विद्यालयमा एक्लै नाउँ लेखाउन गइन्।
मास्टरले नाउँ सोधे। उनलाई थाहा थिएन। उनी अलमलिइन्, 'खोइ, घरमा त सबै स्यानी भनेर बोलाउँछन्।'
मास्टरले त्यही नाउँ लेखिदिए।
त्यसै दिनबाट उनको नाउँ रह्यो- स्यानी चौधरी।
उनै स्यानीलाई भेट्न हामी तीजको पूर्वसन्ध्यामा तुलसीपुर उपमहानगरपालिका-६, डुम्रीगाउँस्थित ‘दिदीघर’ पुग्यौं।
टोल-टोलमा तीजको भाका गुञ्जिँदै थियो। नाचगान चल्दै थियो। दिदीघरमा भने कुनै चहलपहल थिएन। त्यहाँका बालबालिका सधैंझैं आफैंमा रमाइरहेका थिए।
४७ वर्षीया स्यानी तीन वर्षीया प्रिया विकलाई दूध चुसाइरहेकी थिइन्। निसन्तान चौधरीका दूध आउँदैनन्। प्रियालाई फुल्याउन मात्र उनले यस्तो नाटक गरेकी हुन्। रगतको नाता नभए पनि प्रिया र स्यानीबीच प्रगाढ स्नेह छ। प्रिया स्यानीलाई एकछिन छाड्न मान्दिनन्। जतिखेरै उनको काखमा लडिबुडी गरिरहन्छिन्।
‘हामी खाना पनि एउटै थालमा खान्छौं,’ स्यानीले भनिन्।
उनले २०६१ सालमा ‘दिदीघर’ स्थापना गरेकी हुन्। त्यतिबेला १६ जना किशोरीलाई राखेर उच्चशिक्षा अध्ययनमा सघाइन्। यहाँ पढेकाहरू सरकारी कर्मचारीदेखि शिक्षक, इञ्जिनियर छन्। पछिल्लो तीन वर्षदेखि भने असहाय र अनाथ बालबालिकालाई आश्रय दिन थालेको उनी बताउँछिन्।
दिदीघरमा अहिले दस जना बालबालिका छन् - सात केटी, तीन केटा। दुई जना दलित समुदायका छन् भने आठ जना थारू समुदायका। उनीहरू सबै ‘दिदीघर’ मा बसेर अरनिको उच्च माविमा नर्सरीदेखि कक्षा ३ सम्म पढ्छन्। कतिले त कक्षामा उत्कृष्ट नतिजा ल्याउँछन्।
आफ्नै बूतामा असहायहरूलाई आश्रय दिँदै आएकी स्यानी आजको स्थितिमा आइपुगेको पनि आफ्नै बूताले हो।
त्यो समय थारू समुदायका कोही केटी स्कुल जान्थेनन्। यता सुटुक्क स्कुल भर्ना भएर आएको थाहा पाएपछि स्यानीले घरमा खुब खप्की खाइन्। कुटाइ पनि सहिन्, तर हार खाइनन्।
उनले स्कुल जाने एउटा जुक्ति लगाइन्। अरूले नचिनोस् भनेर उनी केटा बनेर स्कुल जान्थिन्। भर्ना हुनासाथ कपाल खौरिइन्। लंगौटी लगाइन्। दुई कक्षा पुग्दासम्म उनी केटी हुन् भनेर कसैले सुइँको पाएनन्।
‘कपाल काटेर लंगौटी लगाएपछि म केटाजस्तै देखिएँ। कसैले चिन्दै चिनेनन्,' स्यानीले सम्झिइन्, 'म केटाहरूसँगै बस्थेँ। केटाहरूसँगै खेल्थेँ।’
दुई कक्षा पुगेपछि भने स्यानी केटी हुन् भनेर अन्य समुदायका केटीहरूले चाल पाए। उनीहरूले नै केटाजस्तो लंगौटी नलगाउन र कपाल नकाट्न आग्रह गरे।
स्कुल जान थालेको झन्डै दुई वर्षपछि स्यानी पहिलोपटक आफ्नै भेषमा कक्षाकोठा छिरिन्।
यता छोरी पढ्न गई भनेर घरमा दिनकै रडाको हुन्थ्यो। स्कुलबाट थाकेर आउँदा पनि एक अंखरा पानी खुवाउने कोही हुन्थेन। काम छाडेर बरालिएर हिँडी भनेर सबैले गाली गरे। कुटे।
‘म घाँस काट्न जाँदा छिट्नीमा किताब लुकाएर लैजान्थेँ। मकैबारीमा बसेर पढ्दा-पढ्दै कतिपटक घरकाले लखेटेका छन्,’ चौधरीले भनिन्, ‘घाँस काट्न जाँदा पनि किताब लगेकी त छैन भनेर हेर्थे।’ किताब लिएर गए घाँस ल्याउन ढिला गर्छे भन्ने घरकालाई चिन्ता हुन्थ्यो।
कक्षा ४ पुगेपछि उनलाई पढाइ छाड्न धेरै दबाब आयो। स्यानीले भने सुने-नसुन्यै गरिन्। उनका जेठा दाजु झोँक्किएर देउखुरी बसाइँ सरे। यसको दोष उनकै थाप्लोमा थोपरियो।
माइलादाइले भने सहयोग नै गरे। उनी गाउँघर डुलेर कुखुरा किन्थे र बजार लगेर बेच्थे। बजार जाँदा स्यानीको निम्ति सुटुक्क कापीकलम किनेर ल्याइदिन्थे।
अम्मापुर स्कुलमा कक्षा ४ भन्दा बढी पढ्ने सुविधा थिएन। योभन्दा ठूलो कक्षा पढ्न टाढाको रनियापुर जानुपर्थ्यो। घरकाले जान दिने कुरै भएन, रोकिनु स्यानीको स्वभावै थिएन।
उनी रनियापुर गएर पढ्न थालिन्। घरको यातना कम हुँदै गयो। गाली भने रोकिएन।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा स्यानी जहिल्यै पहिलो वा दोस्रो हुन्थिन्। त्यसैबाट प्राप्त पुरस्कारले उनी पढ्ने खर्च जोहो गर्थिन्। त्यति बेला सरकारी स्कुलमा पनि मासिक शुल्क तिर्नुपर्थ्यो। कहिलेकाहीँ आमाले बुनेको गुन्द्री र पटकी (चटकी) चोरेर पनि स्कुलको शुल्क तिरिन्।
स्यानी आफूले चोरेका सामान हेडसरलाई दिन्थिन्। हेडसर त्यसबापत् शुल्क तिरिदिन्थे।
रनियापुरमा सात कक्षासम्म पढेपछि उनलाई फेरि अर्को स्कुल जानुपर्ने भयो। त्यहाँ माध्यमिक पढाइ हुन्थेन। उनी अमरमावि उररहीमा आठ कक्षा भर्ना भइन्। स्कुल आउजाउ गर्न दैनिक डेढ-दुई घन्टा पैदल हिँड्नुपर्थ्यो। बाटोमा बबई नदी तर्नुपर्थ्यो, अहिलेजस्तो पुल थिएन। सर्टले किताब टाउकोमा बाँधेर पौडी खेल्दै नदी तर्ने गरेको उनी बताउँछिन्।
'बाढी आउँदा पनि स्कुल जान जीवन दाउमा राखेर नदीमा हेलिन्थेँ,' उनले भनिन्, ‘भिजेकै कपडामा कक्षाकोठा पुग्थेँ। दिनभरि बस्दा कपडा पूरै गनाउने।’
यसरी स्कुल आउँदा-जाँदा बर्खे भेल तर्दातर्दै स्यानीले मज्जाले पौडी खेल्न सिकिन्। जस्तोसुकै विपत् सामना गर्ने शक्ति पनि पाइन्।
‘म आज जे पनि गर्न सक्छु। मैले गर्न नसक्ने केही छैन जस्तो लाग्छ,’ स्यानीले भनिन्।
२०४७ सालमा स्यानीले अमरमावि उरहरीबाट एसएलसी पास गरिन्। पश्चिम दाङमा थारू समुदायबाट एसएसली पास गर्ने उनी पहिलो हुन्। यो खबरले चारैतिर चर्चा पायो। उनलाई तुलसीपुरको रक्षाचौरस्थित राप्ती आँखा अस्पताल र ब्याकवार्ड एजुकेसन सोसाइटी (बेश) बाट जागिरको प्रस्ताव आयो।
स्यानी तुलसीपुरको राप्ती बबई क्याम्पस भर्ना भएकी थिइन्। आँखा अस्पताल उनको क्याम्पसबाट ८/९ किलोमिटर दुरीमा थियो। बेशको कार्यालय भने तुलसीपुर बजारमै थियो। उनले क्याम्पस पायक पर्ने बेश रोजिन्। उनी दिनभरि कलेज पढ्थिन्, राति गाउँका अशिक्षित महिलालाई पढाउँथिन्।
उनले तुलसीपुरबाट राजनीतिशास्त्रमा बिए र काठमाडौंबाट समाजशास्त्रमा एमए गरिन्। आँखा अस्पतालमा काम गर्न नगए पनि स्यानीको संघर्षबाट प्रभावित भएर अस्पतालमा कार्यरत एक डेनिस चिकित्सकले उनलाई जापान जाने भिसा लगायत सम्पूर्ण चाँजो मिलाइदिइन्।
स्यानी दुई वर्ष जापान बसिन्। त्यहाँको कलेजमा प्रथम भइन्। आज उनी नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिन जापान, अमेरिका गइरहन्छिन्। नेपाली, थारू, जापानी र अंग्रेजी गरी चार भाषामा फर्रर कुरा गर्न सक्छिन्।
जापानबाट फर्केपछि स्यानीले गाउँमा आमाबाबुका लागि एक लाख हालेर एक बिगाहा जग्गा किनिदिइन्। तुलसीपुर- ६, डुम्रीगाउँको आफ्नो घरबास भने २०६० सालमा जोडेकी हुन्। त्यहीँ उनी अनाथ बालबालिकालाई आश्रय दिइरहेकी छन्।
उनका अनुसार दिदीघरका दस जना केटाकेटीको पढाइमा वार्षिक १ लाख रूपैयाँ खर्च हुन्छ। यसअघि 'किट' भन्ने एक जापानी नागरिकले दस वर्षदेखि वार्षिक ४ लाख रूपैयाँ आर्थिक सहयोग गर्दै आएका थिए। पोहोर ९० वर्षको उमेरमा उनको निधन भयो। त्यसयता आर्थिक अभाव छ। नियमित स्रोत नभएपछि बालबच्चालाई खाद्यान्नको संकट पर्ला कि भन्ने स्यानीलाई चिन्ता छ। त्यही भएर स्थानीय सरकार र विभिन्न संघ-संस्थासँग हारगुहार गर्न थालेकी छन्।
तुलसीपुर उपमहानगरपालिका-५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह लगायत उनका साथीहरूले तीजअगाडि झन्डै तीन महिना पुग्ने खाद्यान्न सहयोग गरेको स्यानीले बताइन्। स्थानीय सरकारले पनि केही सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ।
‘पढ्नकै लागि मैले जुन संघर्ष गरेँ, जुन पीडा भोगेँ, त्यो अरूले भोग्नु नपरोस् भनेर अनाथ र असहाय बालबालिकालाई पढाउँदै आएकी छु,’ उनले भनिन्, 'मेरो यो अिभयानमा अरूले पनि भरथेग गरिदिए हुन्थ्यो भन्ने लाग्छ।'