माछा मार्न गएका दुई जना युवाको डुबेर मृत्यु भएको छ।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ निवासी २० वर्षीय अर्जुन बुढा र ओखलढुंगा जिल्लाका २६ वर्षीय मिलन लामाको डुबेर मृत्यु भएको हो।
सल्यान निवासी बुढा पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुँईयामा बंगुरपालन गरेर बस्दै आएका थिए भने ओखलढुंगाका लामा सल्यानको कपुरस्थित ससुराली आएका व्यक्ति हुन्।
उनीहरू दुवै जनाको शुक्रबार राति तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोलाको नवनिर्मित पुल नजिकै डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगीले जानकारी दिए।
‘गहते खोलामा नयाँ निर्माण गरेको पुल नजिकै दक्षिणमा पानीले गहिरो खाडल बनाएको रहेछ। त्यसैमा रातिमा जाल हान्न गएका दुबैको डुबेर मृत्यु भएको अवस्थामा फेला परे,’ डिएसपी गिरीले भने।
प्रहरीले शनिबार बिहान ७ बजेतिर शव निकालेको थियो। यो खबर तयार पार्दै गर्दा मृतक दुवै जनाको शवलाई पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
शिशुको डुबेर मृत्यु
घोराहीमा एक शिशुको डुबेर मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. ७ राजपुर निवासी जीवन चौधरीको एक वर्षीया छोरी प्रतिष्ठा चौधरीको शनिबार घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको हो।
बिहान साढे १० बजेतिर प्रतिष्ठालाई कुलोले बगाएको थियो। उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको चिकित्सकले त्यही उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।