आइतबार नेपाल निजामती कर्मचारीको १६ औं दिवस। सिंहदरबारस्थित पुरानो संसद सचिवालयनजिक, सिंहदरबार प्रहरी बिटको छेऊमै।
कर्मचारी को-कता राख्ने भनी तीन वटा टेन्ट टाँगिएको थियो। मञ्च छुट्टै। साढे पाँच बजेर केही कटेपछि निजामती कर्मचारी पुरस्कार वितरणको कार्यक्रम थालियो।
४० जना कर्मचारीलाई दिइने पुरस्कार थाप्न नायब सुब्बा सुशीला ढकाल पनि पुगेकी थिइन्। उनी गत सालको निजामती कर्मचारी दिवसमा पुरस्कृत सूचीमा परेकी थिइन्।
उनको नाम अन्तिम-अन्तिमतिर आयो। उनी हिँड्दै मञ्चमा पुगिन्। उनको पछिपछि एक जना लोग्ने मानिस थिए।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माला लगाएर प्रमाण-पत्र दिँदा आफ्नै हातले समात्न असमर्थ थिइन्, सुशीला। उनीसँगै पुगेका श्रीमान् दल थापाले प्रमाण-पत्र बुझेका थिए।
निजामती सेवा प्रवेश गरिकन सुशीलाले पाएको यो पहिलो पुरस्कार थियो। दुबै हात नभएकाले उनले प्रमाण-पत्र आफैंले थाप्न सकिनन्। श्रीमानले प्रमाण-पत्र बुझ्दा उनका आँखा रसाइरहेका थिए।
निजामती सेवा प्रवेशको दस वर्षे अवधिमा पुरस्कार पाएपछि उनले सबैभन्दा पहिले बुवा नेत्रप्रसाद र आमा लालकुमारी ढकाललाई सम्झिइन्। जो उनी पाँच वर्षछँदै स्कुल पठाउन तम्सिएका थिए। प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहदेखि उच्च माध्यमिकसम्मको शिक्षा हासिल गर्न आँट भरिदिएका थिए।
आफ्ना जेठो र कान्छो दाजू सम्झिइन्, जसले अपांगता भएकी बहिनीलाई स्कुल पुर्याउँथे। दुई बहिनी सम्झिइन्। ठूलोबुवाको छोरी सहसचिव चन्द्रकला पौडेलको याद आयो। सुशीलाले पुरस्कार पाउने सूचना दिदी पौडेलले दिएकी थिइन्।
निजामती सेवा पुरस्कारले सम्मानित भएपछि सुशीलामा काम गर्ने उत्साह झनै बढेको छ। दुई खुट्टाकै भरमा आफ्नो पढाइ, व्यक्तिगत जीवन तथा कार्यालयको काम गर्दै आएकी ढकाललाई आफ्ना खुट्टाप्रति गर्ब छ। ‘जन्मँदै हात थिएनन् रे, कुरा बुझ्ने हुँदा खुट्टैले खाना खाइरहेकी हुन्थेँ। खुट्टैले आफ्नो जीवन यहाँसम्म ल्याइपुर्याएँ,’ उनले भनिन्, ‘निजामती सेवाको बाँकी जीवनलाई यिनै खुट्टाले अघि बढाउँछन् भन्ने लाग्छ।’
एक लाख निजामती कर्मचारीमध्येबाट वर्षमा ४० जना छानिनु, चानचुने पनि हैन। त्यसै पनि उनी सपांग हैनन्।
आइतबार थापेको निजामती सेवा पुरस्कार उनको निजामती भविष्यमा बढुवाको मानक पनि बन्छ। भोलि उनले अधिकृतमा नाम निकाल्दा यो पुरस्कारको प्रमाण-पत्रले थोरै भए पनि सहायता दिलाउँछ। उनलाई यो पुरस्कारले ‘हर्ष’ दिलाएको रहेछ।
निजामती सेवामा उनको लक्ष्य त सचिवसम्मै पुग्नु हो। तर, कहाँसम्म पुगिने हो भन्नेचाहिँ बाँकी जीवनले नै बताउने उनको भनाइ छ। ‘निजामती सेवामा लागेपछि उद्देश्य सचिव नै बन्ने हुन्छ नि हैन र,’ उनले हास्दै भनिन्, ‘सपना देख्न त पाइयो। हेरौं कहाँसम्म पुगिएला।’
***
सुशीला २०३९ साल साउन २४ गते स्याङजा जिल्लामा जन्मेकी हुन्। स्याङजा साबिक चण्डीकालिका गाविस (हाल पुतलीबजार-१४) उनको जन्मस्थान हो।
जन्मँदा दुबै हात थिएनन्। बुवाआमा खेतीपाती गर्थे। बुवा उसबेलैका मेट्रिक पास।
पाँच वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुवाले भर्ना गरिदिए। अंगालोमा डोर्याउँदै उनलाई जेठा र कान्छा दाजूले स्कुल पुर्याउँथे, छुट्टी हुँदा लिन पुग्थे।
परिवारले उनलाई भरपुर सहयोग गर्थ्यो। उनले प्राथमिक तह कालिका स्कुलबाट पूरा गरिन्। निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन्। २०५५ सालमा एसएलसी पास गरेपछि सदरमुकाम बसेर त्रिभुवन आदर्श क्याम्पस पढ्न थालिन्।
२०५७ सालको कुरा हो। उनी आइए दोस्रो वर्ष पढ्दै थिइन्। दुवै हात नभएको अपांगताले क्याम्पस आउजाउ गरेको थाहा पाएर कान्तिपुर दैनिकका संवाददाता उनीकहाँ पुगेका थिए।
उनले आफ्नो जीवन-संघर्षबारे बताइन्। कान्तिपुरमा समाचार छापियो।
समाचार आएपछि काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी विष्णु थापाले सम्पर्क गर्न थालिछन्। क्याम्पसमार्फत सम्पर्क गरेर थापाले उनलाई काठमाडौं आएर थप शिक्षा लिन अनुरोध गरिछन्।
पढाइ र बसाइको खर्च व्यहोर्ने मान्छेले फोन गरिरहेको छ भनेर क्याम्पसले सुनाएपछि उनलाई त्यो प्रस्ताव अवसर र भविष्यको ढोकाझैं लागेछ।
‘सदरमुकाम बसेर दु:ख-सुख पढिरहेकी मलाई त्यो प्रस्तावले लोभ्यायो,’ सुशीला भन्छिन्, ‘मैले आइए दोस्रो वर्षको पढाइ आदर्श क्याम्पसबाट सारेर डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा सारेँ।’ कन्यामा पढाइ सार्न थापाले भरपुर सहयोग गरेको सुशीलाले बताइन्।
थापा साधारण किसिमको छात्रावास चलाउँथिइन्। त्यहाँ सबै सपांग थिए। ‘अपांगता भए पनि मलाई त्यहाँ विष्णु दिदी र साथीहरूले माया र सद्भाव देखाइरहनुभयो,’ सुशीलाले भनिन्, ‘अभाव र शारीरिक अपांगताको अनुभूति भएन मलाई।’
उनले यही छात्रावासमा बसेर कन्याबाट अर्थशास्त्रमा बिएसम्म पढिन्। त्यहीँ नै बसेर त्रिचन्द्र कलेजमा स्नातकोत्तर गरिन्।
स्नातकोत्तर पूरा गरेपछि जागिर खान मन लाग्यो। निजी संस्थामा काम गर्न निकै पापड बेल्नुपर्ने परिस्थिति थियो। त्यसमाथि दुबै हात नभएकालाई निजी कम्पनीका रोजगारदाताहरूले खासै पत्याउने अवस्था थिएन।
सरकारी जागिरमा जाने हो कि भनी उनले कल्पना गरिन्। तर, त्यो चुनौतीपूर्ण बाटो थियो। ‘तैपनि, मैले सरकारी जागिरका लागि मेहनत गरेँ,’ सुशीलाले भनिन्, ‘समयले मेरै पक्ष लियो।’
उनले २०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन्। यहीबीचमा अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन्। लोकसेवामा नाम निस्कियो।
सरकारी जागिरमै भने आफ्नै आत्मविश्वासले प्रेरणा मिलेको उनले दाबी गरिन्। ‘मेरो आफ्नै परिवारमा त्यतिबेला सरकारी जागिर कसैको थिएन,’ उनले भनिन्, ‘ठूलोबुवाको छोरी दिदी सरकारी कर्मचारी हुनुहुन्थ्यो। उहाँले पनि आत्मविश्वास र सरकारी सेवाको मोह जगाइदिनुभयो।’
***
लोकसेवामा नाम निकालेपछि उनको पहिलो पोस्टिङ आन्तरिक राजश्व कार्यालय हेटौडामा भयो। अर्थशास्त्रको विद्यार्थी भएकाले उनी अर्थसँग सम्बन्धित कार्यालयमा पोस्टिङ हुन पुगेकी थिइन्। तर, उनको शारीरिक अवस्था देखेर सो कार्यालयले काजमा ललितपुरस्थित आन्तरिक राजश्व कार्यालयमा पठायो।
उनले त्यहाँ झन्डै आठ महिना काम गरिन्। त्यसपछि उनलाई त्यहाँबाट लाजिम्पाटस्थित साबिकको क्षेत्र ३ आन्तरिक राजश्व कार्यालय सरुवा गरियो। त्यहाँ लामो समयसम्म काम गरेपछि गत सालदेखि आन्तरिक राजश्व कार्यालय हरिहरभवन ललितपुर सरुवा भएकी छिन्।
त्यहाँ सरुवा भएको केही समयपछि निजामती सेवा दिवसमा बाँडिने पुरस्कार सूचीमा नाम आएको उनलाई थाहा भएको थियो।
कर्मचारी व्यक्ति आफैंको कुनै पनि भूमिका नहुने उक्त पुरस्कारका लागि कार्यालयले छनोट गरी प्रधानमन्त्री कार्यालयस्थित मुख्यसचिवकहाँ फाइल पठाएको उनलाई थाहा नै भएनछ। ‘म गत वर्षको निजामती दिवसमा आएकी थिइनँ, ठूलोबुवाको छोरी दिदीले फोन गरेर सुनाएपछि दंग परेँ,’ उनले भनिन्, ‘यो पुरस्कार हकदार कार्यसम्पादन मूल्यांकन हुन्छ। मेरो मूल्यांकन भएछ भन्ने लाग्यो।’
***
साधारण व्यक्तिभन्दा उनको जीवनयापन र दैनिकी फरक छ। उनले सानै उमेरदेखि खुट्टाकै सहारामा बाँच्न सिकिन्। खुट्टाकै सहाराले स्नातकोत्तरसम्म गर्दै सरकारी सेवामा लागिकन कानुनमा एलएलबीसमेत गरिसकेकी छिन्। कार्यालयमा उनी खुट्टाकै सहाराले काम गर्छिन्। दुबै हातखुट्टा भएकाहरू उनको कार्यसम्पादन देखेर छक्कै पर्छन्।
‘खुट्टैले कम्प्युटर सिकेँ, नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छु,’ उनले भनिन्, ‘हात भएन भनेर मैले कहिल्यै दु:ख मानिनँ।’
उनी कार्यालयको कर संकलन शाखामा बस्छिन्। सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ। उनी कम्प्युटरमा सफ्टवेयरमा कर संकलनको काम गरिरहेकी हुन्छिन्।
‘अफिसका सबै काम सफ्टवेयर बेस हुन्छ। इन्टरनेटबाट डाटा अपडेट गर्छु,’ उनले भनिन्, ‘खुट्टैले।’
ठूला-ठूला फाइलहरू सहयोगीमार्फत झिकाउँछिन्। ‘साथीभाइले सहयोग गर्नुहुन्छ, माया गर्नुहुन्छ, प्रेरणादायी हुनुहुन्छ भनी फुर्क्याउनुहुन्छ,’ उनले भनिन्, ‘कार्यालय प्रमुखले तपाइँ त एउटा संघर्षको उदाहरण नै हो भन्नुहुन्छ। मलाई थप ऊर्जा दिनुहुन्छ।’
सेवाग्राही कतिपय उनको सामुन्ने पुग्दा तर्सिन्छन्। ‘दुबै हात नभएकी यसले के गर्ली र काम होलाजस्तो गरी मलाई हेरेर धेरैजसो अर्को कोठा जान्छन्,’ उनी भन्छिन्, ‘अन्तिममा फर्केर आउँछन्, खुट्टाले काम गरेको हेरेर छक्क पर्दै फर्किन्छन्।’
सपांगजसरी नै काम गरेको देखेर सेवाग्राही दंग पर्दै हिँडेको सुशीलाले स्मरण गरिन्। ‘हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र तर तपाइँले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभयो,’ सेवाग्राहीले भन्ने गरेको सम्झँदै सुशीलाले सुनाइन्।
सरकारी कार्यालय अपांगमैत्री छैनन्, सुशीला पनि यो भोगिरहेकी छिन्। ‘कम्प्युटरको किबोर्ड र माउस मेरो लागि उपयुक्त छैन, जे छ त्यही प्रयोग गरिरहेकी छु,’ उनले भनिन्, ‘मैले आफ्नै खर्चले ल्याउने कुरा पनि भएन। जे उपलब्ध छ त्यसैमा रमाइरहेकी छु।’
***
दुबै हात नहुँदा सुशीलाको दैनिकी असहजिलो छँदैछ। सानैदेखि खुट्टाले नै सबै काम गर्दै आएकोले गर्नसक्ने काम आफैं गर्छिन्।
नुहाउँछिन्, लुगा धुन्छिन्, खाना खान्छिन्। कार्यालय जाने बेलामा उनी सपांगझैं बस स्टेन्डमा गाडी कुर्न जान्छिन्। गाडीमा चढ्दा-ओर्लँदाका समस्या उनीसँग धेरै छन्।
बसको ठेलमठेल भीडमा उनी गाडी चढ्न दैलोमा पुगेकी हुन्छिन्। बसका कर्मचारीले कहिले सहयोग गर्छन्, कसैले उनलाई बसमा चढाउँदैनन्। ‘पहिले-पहिले त अपांग र आरक्षण सिट त्यति पाइँदैनथ्यो, अहिले गाडीमा चढ्दा सिट पाउन खासै गाह्रो पर्दैन,’ उनले भनिन्।
पहिले काठमाडौंमा साधारण बस चल्थे। उकुसमुकुस भीड र उनको शारीरिक अवस्थामैत्री बस नहुँदा गाह्रो हुन्थ्यो। राजधानीमा साझा बस चल्न थालेपछि उनलाई सजिलो लागेको रहेछ। ‘साझामा अरूभन्दा सजिलो पनि, धेरै खुला पनि, सिट पाइहाल्ने हुनाले मैले उभिन पर्दैन,’ उनले भनिन्, ‘म प्राय:जसो साझा बस नै चढ्ने गरेकी छु।’
उनलाई सबैभन्दा अप्ठ्यारो काम लुगा लगाउँदा लाग्छ। पहिले-पहिले अरुको सहारा लिन्थिन्। कहिले श्रीमानको, कहिले बहिनीको।
दुई वर्षयता भने उनले लुगा लगाउन र फेरिदिन एउटा उपकरण ‘उपहार’ पाएकी छिन्।
‘सन् २०१७ मा दुबै हात नभएकी, खुट्टैले उडान गर्ने बिमान चालिका अमेरिकाकी जेशिका कक्स आउँदा भेट भएको थियो, उहाँले लुगाकपडा फेरिदिने उपकरण मलाई उपहार दिनुभयो,’ ढकालले भनिन्, ‘त्यसयता त्यही उपकरणले मलाई लुगा लगाइदिने, फेरिदिने गरिरहेको छ।’
***
उनको सफलताको कथा यदाकदा मिडिया र सामाजिक सञ्जालमा आइरहन्थ्यो। तिनै कथा पढेर पाँच वर्षअघि दल थापा उनलाई खोज्दै कार्यालयमै पुगेछन्। त्यहीँ चिनजान भएछ। सम्पर्क बाक्लिन थालेछ। सुशीलाको संघर्षशील जीवनको प्रशंसा गरेर दल थाक्दैनथे।
‘त्यहीबीचमा हामीबीच प्रेम सम्बन्ध स्थापना भयो। बिहे गर्ने निधो भयो। मैले जीवनसाथी पाएँ,’ उनले भनिन्, ‘उहाँ त मलाई यति माया गर्नुहुन्छ कि उहाँसँग बिहे गरेपछि गाडी पाइएन भने ट्याक्सी चढाएर अफिस पठाउनुहुन्छ।’
उनीहरू दुबै अहिले गल्फुटार बस्छन्। दल पनि स्याङजाकै हुन्। उनीहरूबीच श्रीमान-श्रीमतीभन्दा पनि एक-अर्काबीच सहयोगीजस्तो सम्बन्ध छ। सुशीलालाई प्रेरणा भरिरहन्छन् दल। सुशीलालाई अप्ठेरो पर्ने हरेक ठाउँमा उनी पुगेका हुन्छन्।
‘उहाँको संघर्ष देखेर म एकदमै प्रभावित भएँ,’ दलले भने, ‘उहाँजस्तो सिर्जनशील व्यक्तिलाई जीवनसाथीका रुपमा पाउँदा एकदमै खुसी छु।’
सुशीला निजामती सेवामा भविष्य बनाउँदै छिन्। दल होस्टल चलाउँछन्। सेयर बजारमा सानोतिनो काम गर्छन्। सामाजिक संस्थातिर उनको बढी ध्यान छ।
‘दुवैले कमाएको पैसाले घरबार चलेको छ,’ सुशीलाले भनिन्, ‘मेरो माइली बहिनी अनिता मसँगै बस्छिन्, उनी पनि लोकसेवाको तयारी गरिरहेकी छिन्।’
सुशीलालाई समयमै कार्यालय पठाउन, खाना पकाउन, लुगा धुन अनिता र उनका श्रीमानले सहयोग गरिरहेका छन्। ‘कहिलेकाहीँ केही न केही समस्या आइरहेका हुन्छन्, बहिनी र श्रीमानले मलाई सहयोग गरिरहनुहुन्छ,’ सुशीलाले भनिन्।
‘विवाहित छु, हामीबीच अहिलेसम्म सन्तान जन्माउने विषयमा सल्लाह भएको छैन,’ उनले भनिन्, ‘जहिले आवश्यकता महसुस गर्छौं, त्यसपछि योजना बनाउँछौं। अहिले योजना छैन।’
उनकी कान्छी बहिनी बिमला अस्ट्रेलियामा छिन्। ठूलो दाइ राजकुमार ढकाल शिक्षण पेशाको सिलसिलामा पोखरामा छन्।
सुशीलाका कान्छा दाइ गोविन्द अमेरिकामा छन्। बुवाआमा स्याङजामै छन्। बुवा ७० र आमा ६५ वर्ष पुगेका छन्। ‘उहाँहरू एकदमै स्वस्थ हुनुहुन्छ, हामी सबै कोही कता कोही कता भए पनि उहाँहरूलाई छोराछोरी नभएजस्तो महसुस भएको छैन,’ सुशीलाले भनिन्, ‘हामी बेला-बेला पुगेकै हुन्छौं। सबैले केही न केही गरेका छन् भन्ने लागेर उहाँहरू खुसी हुनुहुन्छ।’
सुशीलाले जीवनका चार दसकमा परिवारबाट आँट र साथ पाएकी छिन्। ‘मामाघर, दाइहरू, ठूलोबुवाको छोरी दिदी चन्द्रकलालगायत सबैले मलाई यहाँसम्म आइपुग्न ठूलो योगदान गर्नुभएको छ,’ उनले भनिन्, ‘मेरो पुरस्कार उहाँहरूप्रति समर्पित छ।’
उनी पुकार्छिन्, खुट्टा चलिरहुन्, जसले कलिलो उमेरदेखि निजामती सेवाको दस वर्षसम्म अनवरत् साथ दिइरहे। उनको दाहिने हात श्रीमान् हुन्, जसले उनको खुट्टाकै इशारामा सबथोक बुझ्छन्। अनि, बहिनी अनिता, जसले उनलाई कार्यालय जाने बेलामा खाना तयार पारेकी हुन्छिन्।
सबैभन्दा ठूलो खुसी चाहिँ उनले अमेरिकी पाइलटबाट पाएको लुगा लगाइदिने र फेरिदिने उपकरण रहेछ। ‘जेशिका कक्सलाई म कहिल्यै भुल्दिनँ, उहाँ पाइलट हुनुहुन्छ, म निजामती सेवामा, एकपटक उहाँकै भूमिमा पुगेर उहाँले उडाएको प्लेनमा सँगै यात्रा गर्न मन छ,’ सुशीलाले भनिन्।