करिब पन्ध्र करोड वर्ष अगाडि जब यो धर्तीमा डायनासोर नामको भिमकाय जनावरको राज चल्थ्यो, त्यो युगलाई हामी 'जुरासिक पिरियड' भन्छौं।
त्यही कालखण्डको अन्तिम–अन्तिमतिर एउटा ठूलो डायनासोर दलदले जमिनमा हिँडिरहेको थियो। यो डायनासोरको घाँटी लामो थियो, पुच्छर पनि लामै। हात्ती जत्रै डायनासोर 'साउरोपड' प्रजातिको थियो जसको विशेषता माउसुलीका जस्ता अलिकति छरिएका खुट्टा हुन्थे। आकार भने झन्डै १६ इन्च जति फैलिएको।
त्यो डायनासोर हिँडिरहेका बेला त्यसको खुट्टामुनि कुनै दह्रो चिज पर्यो। जति नै दह्रो भए पनि डायनासोरका खाँबाजस्ता खुट्टा र वजनले त्यसलाई करक्क पार्छ नै। डायनासोरले त्यो आवाज सुन्यो–सुनेन थाहा छैन। उसको पैतालाभन्दा सानो त्यो चिज पानीमा बस्ने ठूलो कछुवा थियो।
यो कुनै कथा होइन, प्रागइतिहासविदहरूले स्विटजरल्यान्डमा भेटेको प्रमाणका आधारमा गरेको अनुमान हो।
स्विटजरल्यान्डको जुरा राज्यको समुद्री किनारभन्दा अलि वर दलदले जमिनमा उनीहरूले ढाड फुटेको पानी-कछुवाको सग्लो अवशेष फेला पारेका छन्। र, यो डायनासोरले नै किचेको उनीहरूको लख छ। किनकि, यही कछुवाको अवशेषसँगै उनीहरूले डायनासोरको पैतालाको चिह्न भेटेका छन्। यो कछुवा पनि जमानामै लोप भइसकेको प्रजातिको हो।
यो अध्ययनमा स्विटजरल्यान्डको बेजेल सहरस्थित 'न्याचुरल हिस्ट्री म्युजियम' का प्रागइतिहासविद ड्यानियल मार्टी सम्मिलित छन्। अनुसन्धानक्रममा भेटिएका प्रमाणका आधारमा उनी डायनासोरले कछुवा कुल्चिएको थियो भन्नेमा पक्का सुनिन्छन्।
'यति स्पस्ट प्रमाण छ। हामीलाई त अचम्म र रमाइलो लागिरहेको छ, डायनासोर र पानीमा बस्ने यो जातको कछुवा एकै कालखण्डका रहेछन्,' ड्यानियल यो नयाँ खोजमा खुसी छन्।
यो अनुसन्धानको नेतृत्व भने जुरा राज्यकै प्रागइतिहासविद क्रिस्टियन पुनटेनरले गरेका थिए। पुनटेनरको टोलीले विश्लेषण गरेका तथ्य सही हुन् भने, अहिलेसम्म फेला परेका सबै अवशेषहरूमध्ये डायनासोरले किचेर मरेको यो कछुवाको जस्तो अवस्था कुनैको छैन।
यसअघि पनि डायनासोरको बाटोमा परेका केही जनावरका किच्चिएका अवशेष भेटिएका थिए, जस्तै सिप्पी। डायनासोरले नै किचिएका निसान र भाँचिएका हाड भएका डायनासोरकै अवशेष पनि भेटिएकै हो। तर ती अवशेषसँगै डायनासोरका पदचिह्न थिएनन्। जनावरको टुक्रिएको शरीर र अर्को जनावरको पदचिह्न एकै ठाउँमा हत्तपत्त भेटिँदैन। डायनासोरनै किच्चिएको ठाउँमा डायनासोरकै पदचिह्नको त झन् कुरै नगरौं।
अहिलेसम्म भेटिएका दुर्लभ यस्ता अवस्थामा एउटा ऊँटको खुट्टामुनि 'फ्ल्यामिंगो' नामको चरा परेको थियो। यो झन्डै बीस लाख वर्षअगाडिको प्रमाण हो। यसलाई मेक्सिकोको प्युब्ला भन्ने ठाउँनजिकै 'फोसिल लेक बेड'मा संरक्षण गरी राखिएको छ।
कछुवाको यो अवशेष जुरा हिमश्रृंखलामा उत्खनन् गर्नेक्रममा भेटिएको थियो। यही हिमश्रृंखलाको नामबाटै 'जुरासिक' भन्ने शब्द बनाइएको हो। सन् २००० तिर यो ठाउँमा राजमार्ग बनाउने क्रममा सबै तोडफोड गरिएको थियो। त्यसअघि नै प्रागइतिहासविदहरूले यहाँका केही चट्टान उत्खनन् गरेका थिए। त्यो बेला उनीहरूले त्यति नगरेको भए आज यो कछुवाको अवशेष भेटिएको ठाउँ रहन्न थियो।
नयाँ राजमार्गको एक ठाउँमा पुरातत्वविदहरूले रोमनकालीन सडक भेटेका थिए। त्यसैको तलपट्टि प्रागइतिहासविदहरूले डायनासोरका पदचिह्न र बाटो फेला पारेका थिए।
डा. ड्यानिल मार्टी त्यो बेला यो ठाउँमा डायनासोरहरूको हिँड्ने बाटो यही भएको बताउँछन्।
यो अध्ययन टोलीले डायनासोरका १५ हजारभन्दा बढी पदचिह्न र सय वटा जति पानीमा बस्ने कछुवाका अवशेष सँगसँगै फेला पारेको छ। यसमा अरू थुप्रै अहिलेसम्म पहिचान नभएका प्रजाति पनि छन्। सँगै पानीमा बस्ने गोही पनि। कछुवाहरूलाई तिनै गोहीहरूले आफ्नो आहारा बनाउँथे कि भन्ने अनुमान पनि अध्येताहरूले गरेका छन्।
सन् २००७ मा कुर्टेडक्स नामको सानो गाउँमा उत्खनन् गर्दा फेला परेको एउटा कछुवा बेग्लै खाले थियो। प्रागइतिहासविदहरूले यसलाई पानी र अरू कछुवाभन्दा निकै पर फेला पारेका हुन्। यसको अवशेष हेर्दा माथिबाट कुनै भारी चिजले डंग्रङ्ग किचे जस्तो देखियो। जब उनीहरूले त्यो अवशेष प्रयोगशालामा ल्याएर परीक्षण गरे तब थाहा पाए, कछुवाको ढाड कर्याक–कुरुक परेर भाँचिएको छ।
यो कछुवा समुद्रमै मरेर किनारतिर बगेको पनि हुनसक्थ्यो। तर प्रागइतिहासविदहरू यसमा सहमत छैनन्। उनीहरू तर्क गर्छन्– यो कछुवाले किनारतिर घस्रिँदै आउने क्रममा आफ्नो बाटो बिराएको थियो। समुद्रतिर जान खोज्दा वा अन्डा पार्ने ठाउँ खोज्ने क्रममा मरेको हुनसक्छ।
यो बाक्लो जंगल भएको क्षेत्र हो। त्यही बाटो हुँदै 'साउरोपड' जातका डायनासोरको झुन्ड नयाँ ठाउँ खोजीमा हिँडेका हुनसक्छन्। अनि बाटामा परेका कछुवा किचिएको हुनसक्छ।
अध्येताहरूले यसलाई नयाँ र महत्वपूर्ण खोज मानेका छन्।
बकनेल विश्वविद्यालयका 'इभोलुसनरी बायोलोजिस्ट' ट्रिस्टान स्टेटन यसलाई 'एकदमै आकर्षक र अनौठो अवस्था' भन्छन्। उनको काम कछुवाका हाड–ढाडबारे अध्ययन गर्नु हो। यो अनुसन्धानमा सहभागी नभए पनि उनी आफ्नो अध्ययनका आधारमा भन्छन्, 'कछुवाको ढाड टुक्रा–टुक्रा भएर भाँचिने गरी त कुनै एकदमै भारी चिजले नै किचेको हुनुपर्छ।'
केही समयअघि हात्तीहरूले कछुवा कुल्चेका प्रमाणहरू पनि भेटिएका थिए। तर यो नयाँ युगका कछुवाको कुरा भएको डा. स्टेटन बताउँछन्।
'चितुवाजस्ता ठूला मांसाहारी जनावरले कुल्चिँदा पनि कछुवाको ढाड भाँचिन सक्छ। र त्यो यस्तै गरी टुक्रा भएको देखिन सक्छ,' उनले भने।
यो अध्ययनमा सहभागी नभएका 'क्यानेडियन म्युजियम अफ नेचर' का प्रागइतिहासविद् जोर्डन मल्लोनले भने यसको भिन्नै व्याख्या गरेका छन्।
उनका अनुसार यो कछुवाको हाड चट्टानका कारण टुक्रिएको हो। कछुवा जमिनमुनि गाडिएको लाखौं वर्षपछि ठूलो चट्टान माथिबाट बज्रिँदा त्यसको ढाड कर्याककुरक्क भएको हो।
डा. मल्लानेले अध्येताहरूको डायनासोरवाला अनुमान सम्भावित हुन सक्ने भए पनि अन्तिम सत्य नभएको बताएका छन्।
त्यही पनि उनी भन्छन्, 'दुई अलग प्रकारका जनावरको अवशेष एकैठाउँमा भेटिनु भने महत्वपूर्ण रकेर्ड हो। हामी प्राचीन पर्यावरण पुनः सिर्जना गर्न सक्दैनौं। त्यसकारण यो खालको खोज महत्वपूर्ण छ।'
अनुसन्धानमा सहभागी नभएकाहरूको एक खाले तर्क छँदैछ। खोजमा संलग्न अध्येता र प्रागइतिहासविदहरू भने 'पानीमा बस्ने कछुवाको ढाड डायनासोरले किचेर भाँचिएको' भन्ने आधारमै 'स्विस जर्नल अफ जियोसाइन्सेस' मा चाँडै प्रतिवेदन प्रकाशन गर्दैछन्।