दाङको तुलसीपुरमा जग्गा कब्जा भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ राउत गाउँको १ बिघा २ कठ्ठा १३ धुर जग्गामा स्थानीय मिलेर दुई दिन अगाडिदेखि आफूखुसी भागबण्डा गरेका हुन्।
स्थानीय मिलेर सो जग्गा ६० जनालाई भागबण्डा गरेका छन्। कब्जा गरिएको जग्गामा स–सना टहरा निर्माण गरिएका छन्। कालोपत्रे सडकसँगै जोडिएको जग्गा स्थानीयले आफूखुसी भाडबण्डा गर्दा पनि स्थानीय सरकार मौन छ।
ठाउँमा जग्गाको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ पर्छ। स्थानीय २९ वर्षीय गणेश चौधरीले त्यसरी टहरा निर्माण गर्नेहरूमध्ये ९५ प्रतिशत चौधरी समुदायका मानिसहरू रहेको बताए।
वडाभरिको सार्वजनिक सम्पत्ति ६० जनाले भागबण्डा गरेका छन्। ५ मिटर लम्बाइ र ५ मिटर चौडाइको जग्गा घडेरीको रुपमा ६० जनालाई भागबण्डा गरिएको छ।
कब्जा गरिएको जमिन सार्वजनिक जग्गा हो। तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ का वडा अध्यक्ष भूपबहादुर केसीले वडाको सार्वजनिक जग्गा दिनदाहाडै कब्जा भएको सवालमा भने, ‘राजेन्द्र धिताल, मेयर घनश्याम पाण्डे र म बसेर समस्या समाधान गर्ने कुरा भएको छ,’ अध्यक्ष केसीले भने, ‘यत्ति बुझ्नुुहोस्। अब यो भन्दा बढी म बोल्दिनँ।’
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रशाद रिजालले राउत गाउँको सार्वजनिक जग्गा सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताको निर्देशनमा कब्जा भएको भन्ने खुल्न आएको हुँदा आफूले प्रहरीलाई भत्काउन आदेश दिइसकेको जानकारी दिए। ‘त्यो विप्लवका कार्यकर्ताले कब्जा गरेको भन्ने खुल्न आएको छ,’ प्रजिअ रिजालले भने, ‘मैले प्रहरीलाई भत्काउन भनिसकेको छु।’