तुलसीपुरको विरेन्द्रचोकमा एउटा ट्रयाक्टर आफ्नै गतिमा कुदिरहेको थियो । तर त्यसमा चालक देखिदैन थिए ।
त्यो देखेर डिउटीमा रहेका प्रहरी जवान अलमलमा परे । उनले दौडिएर गएर ट्रयाक्टर रोके। एकजना किशोरस्टेरिङबाट उठ्दै प्रहरीलाई हेरे र सोधे, ‘के भो सर?’
प्रहरीले सोध्यो ‘के तिम्रो सवारी चालक अनुमति पत्र (लाईसेन्स) छ ? ’
ती किशोरले छैन भने ।
‘त्यसो भए गाडी रोक’, ती प्रहरीले भने। किशोरआफूले चलाइरहेको रा १ त ८४२ नम्वरको ट्रयाक्टरबाट ओर्लिए ।
यसरी ट्याक्टरबाट उत्रेका ती किशोरको उमेर जम्मा १३ बर्ष मात्रै रहेछ । उनको नाम सन्दिप नेपाली हो। अनि प्रहरीले उनलाई नियन्त्रणमा लियो।
त्यसपछि उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुर्याइयो । ईप्रका तुलसीपुरको नयाँ प्रमुखको रुपमा आएका डिएसपी हरिहरनाथ योगी आएको ३ हप्ता मात्रै भएको छ ।
सन्दिपलाई देखेपछि डिएसपी योगीले आश्चर्य मान्दै जिब्रो टोके ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गैरापातु निवासी सन्दिपले त्यो ट्रयाक्टरमा काम गर्न थालेको ४ बर्ष भइसकेको रहेछ ।
बुवा सुशिल नेपाली पनि सोही ट्रयाक्टर चलाउँदा रहेछन् । बुवाको पछि हिँड्दा हिँड्दै सन्दिपले पनि ट्रयाक्टर चलाउने सिकेका हुन् ।
‘परिचालकको काम गर्ने गर्दा गर्दै मैले ट्रयाक्टर चलाउने सिकेको हुँ,’ सन्दिपले भने ‘बुवाले लौ मलाई जाँगर लागेन तैले चला भन्नु हुन्छ अनि चलाउँछु ।’
उनको बुवाको एउटा कृतिम खुट्टा छ । दुर्घटनामा परेपछि उनले त्यो खुट्टा गुमाउनु परेको रहेछ । केही दिन अगाडि मात्रै त्यही कृतिम खुट्टाको भेउ नपाउँदा उनले एउटा मोटरसाइकललाई ठक्कर दिए ।
कृतिम खुट्टाले ब्रेक लगाउनै सकस हुँदा ट्रयाक्टरले मोटरसाईकललाई ठोकेको थियो । घाइते मोटरसाइकल चालक मुस्किलले बाँचेका रहेछन् ।
सन्दिपले अगिपछि पनि व्यस्त राजमार्ग र बजारमा ट्रयाक्टर यसैगरि कुदाउँदै आएका रहेछन् ।
डिएसपी सामु उनले निर्धक्क त्यही भने ।
आजसम्म उनले ट्याक्टर चलाउँदा कसैले वास्ता गरेको थिएन ।
सोमवार भने सोमवार दिउँसो ४ बज्दै गर्दा प्रहरीले उनलाई समात्यो ।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको वीपी चोक नजिकै गुडिरहेको ट्रयाक्टरमा झ्वाट्ट हेर्दा सुरुमा प्रहरीले झस्किएको थियो । कुदिरहेको ट्रयाक्टरमा चालक देखिदैन थियो ।
‘चालक छ कि छैन खुट्याउनै मुस्किल पर्ने दृष्य थियो सर,’ सन्दिपलाई समातेर ल्याउने प्रहरी जवान भनिरहेका थिए।
१३ बर्षीय सन्दिपको कुरा सुनेपछि डिएसपी योगीले तत्कालै गाडी धनीलाई ईप्रका झिकाए । उनले गाडी धनी लहरबहादुर वुढालाई डिएसपीले झपारे ।
'यति फुच्चेलाई, सवारी चालक अनुपत्र समेत नभएका व्यक्तिलाई सवारी हाँक्ने दिने ?', भन्दै र्याखर्याख्ती पारे, ‘यति सानो फुच्चेले चलाएको ट्रयाक्टर चलाउन दिने ? दुर्घटना भएको भए के हुन्थ्यो ?’
त्यसपछि योगीले सन्दिपलाई आइन्दा गाडी नचलाउन आग्रह गरे । सवारी चालक अनुमति पत्र नभएर सडकमा बहान कुदाउन नपाईने सम्झाए । गीडि धनीले भने चालक विरामी भएको हुँदा सन्दिपले आफुखुसी चलाएको भन्दै आफ्नो बचाउ गरे ।
समातिएका सन्दिप कक्षा ३ मा अध्यनरत रहेछन् । तुलसीपुर ७ कै गैरा चिसमा रहेको एउटा प्राविमा यसैबर्ष भर्ना भएको उनले बताए ।
‘यही बर्ष कक्षा तीनमा भर्ना भएको हुँ । हालसम्म ४-५ दिन मात्रै विद्यालय गएको छु,’ सन्दिपले भने ।
गाडी धनी लहरबहादुर बुढाले भने सन्दिप सानैदेखि आफ्नो घरमा बस्दै आएको तथा विद्यालय पनि पढ्दै आएको प्रहरी समक्ष बताएका थिए । त्यसपछि सन्दिप घर गए । गाडी ईप्रका तुलसीपुरमै जरिमानाका लागि राखियो ।
‘पुरै २४-२५ दिन राखेर मात्रै यो गाडि ट्राफिक जरिवाना गरेर दिनु,’ डिएसपीले आदेश दिए ।
त्यसपछि भने गाडी धनी बुढाले आइन्दा किशोरलाई गाडी चलाउन नदिने प्रतिवद्धता जाहेर गरिरहेका थिए ।
त्यसपछि डिएसपीले संवाददातालाई भने ‘यो थर्काएको मात्रै हो । ट्राफिक जरिवाना गरेर ट्रयाक्टर आजै छोडिदिन्छौं।’