दाङको घोराही उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टे मार्न बिहीबारदेखि विषादी छर्ने भएको छ।
घोराही वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेले बिहीबारदेखि नगरपरिसरबाटै लामखुट्टे मार्ने औषधि छर्ने तयारी गरिएको जानकारी दिए। जिल्लामा डेंगीका बिरामी दिनानुदिन थपिँदै जान थालेपछि घोराहीले रोग सार्ने लामखुट्टे मार्ने विषादी ल्याएर छर्ने तयारी गरेको वडा अध्यक्ष पाण्डेले बताए।
तीनदिन अगाडि स्वास्थ्य मन्त्रालय महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको झन्डै ५ लाख मूल्य बराबरको औषधि घोराहीले पथलैयाबाट ल्याएको थियो ।
उपमहानगरमा डेंगी सार्ने लामखुट्टे मार्नको लागि आवश्यक पर्ने औषधि माग फारम भरेर बाराको पथलैयाबाट ल्याएको घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।
झन्डै ५ लाख मूल्य बराबरको लामखुट्टे मार्ने औषधि महाशाखाले निशुल्क रुपमा उपलब्ध गराएको घर्तीले बताए। स्वास्थ्य महाशाखा र बबई गाउँपालिकाबाट औषधि छर्ने स्प्रे ल्याएर बिहीबारदेखि नै छर्ने तयारी गरिएको उनले बताए।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगीसहित अन्य विभिन्न खाले रोग नियन्त्रणका लागि नगरले विषादी छर्ने योजना बनाएको घर्तीले बताए। ‘डेंगीको बासस्थान हुने संभावित क्षेत्रमा त्यो विषादी छर्नेगरी तयारी भइरहेको छ’ घर्तीले भने ‘सुरुवात भने नगर परिसरबाटै गर्ने भन्ने छ।’
कर्मचारी मिलन केन्द्र परिसरबाट विषादी छर्न सुरु गर्ने तयारी गरिएको छ। जहाँ सडक निर्माणपछि खाली छोडिएको ड्रमहरुमा वर्षाको पानी भरिएकाले डेंगी सार्ने लामखुट्टेको घर बनेको हुन सक्ने घर्तीले आशंका व्यक्त गरे।
दाङमा ६९ डेंगीका विरामी
दाङमा एक महिनाको अवधिमा ६९ जना डेंगीका विरामी फेला परेका छन्। यो मंगलबा सम्मको तथ्याङ्क हो।
पछिल्लो समय जिल्लामा दैनिक रुपमा डेंगीका विरामी थपिँदै गएका छन्। दैनिक ४÷५ जनाको दलले विरामी थपिने गरेको डेंगी रोग नियन्त्रण फोकल पर्सन कमल चन्दले जानकारी दिए। जिल्लामा सबै भन्दा धेरै डेंगीका बिरामी भने तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा फेला परेका छन्। तुलसीपुर क्षेत्रमा हालसम्म ३८ जना विरामी फेला परेको चन्दले बताए।
घोराही उपमहमानगरपालिकामा तुलसीपुरको भन्दा आधा संख्याका डेंगी विरामी फेला परेको चन्दले बताए। उनका अनुसार घोराहीमा १९ जना, बबई गाउँपालिकामा दुई जना र गढवामा एकजनामा मात्रै डेंगीको संक्रमण देखिएको छ।
तुलसीपुर क्षेत्रमा सबै भन्दा बढी डेंगीका विरामी फेला परेपनि त्यो नियन्त्रणको लागि विषादी छर्ने बारे कुनै पनि तयारी गरिएको छैन । मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्य हाल चीन भ्रमणमा गएका छन्।