तुलसीपुर–घोराही हुँदै लमही पुग्ने सडक खण्ड फोरलेनमा विस्तार गर्न हाल धमाधम सर्भेको काम भइरहेको छ। सर्भेको काम सकिएलगत्तै सडक सुधार तथा विस्तार आयोजनाको कार्यालयले स्वीकृतिको लागि अर्थमन्त्रालयमा पेश गर्ने छ।
अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेलगत्तै सडक विस्तारको कामले प्राथमिकता पाउने छ। दसैँलगत्तै सडक विस्तारको काम सुरु हुने अनुमान छ।
यो सडक खण्ड फोरलेनको निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ इन्फ्राप्रोेजेक्ट प्रालीले पाएको छ। सडक विस्तारमा २ अर्ब २ करोड ८१ लाख खर्च हुने अनुमान छ।
पुसमा भएको टेन्डर सम्झौताअनुसार निर्माण कम्पनीले सडक विस्तारको काम ३६ महिनाभित्रै सक्नु पर्ने छ। इञ्जिनियर पारश हमालका अनुसार २०२१ जुलाई २८ मा निर्माणको काम सक्नुपर्ने छ। सम्झौता भएको एक महिनाभित्रै निर्माण कम्पनीलाई साइट उपलब्ध गराई सकिएको हमालले बताए। ‘हामीले गतवर्ष माघमै साइट उपलब्ध गराइसकेका छौं,’ उनले भने।
लमहीमा निर्माण कम्पनीको कार्यालय समेत स्थापना भइसकेको छ। हाल तुलसीपुर क्षेत्रमा निर्माण सर्भे भइरहेको छ। सडक विस्तार गर्नुभन्दा पहिले भारतीय निर्यात आयात बैंकले शर्त तेस्र्याएको छ।
शर्तअनुसार अनिवार्य रुपमा ५१ प्रतिशत भारतीय निर्माण सामाग्री प्रयोग हुनुपर्नेछ। जुन सूची अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ। बाँकी ४९ प्रतिशत स्थानीय निर्माण सामाग्री प्रयोग गर्न सकिनेछ।
इञ्जिनियर हमालले भने ‘अर्थको स्वीकृति पाउनासाथ कम्पनीले धमाधम निर्माण सामाग्री भित्र्याउने छ।’ जिम्मा पाएको भारतीय कम्पनीले नेपालको सब–कन्ट्रयाक्टर राखेको छ।
पहिलो खण्डमा घोराही उपमहानगरपािलका वडा नं. ३को बबई खोलापुलदेखि तुलसीपुरसम्मको ४६ किलोमिटर सडक विस्तारको काम गर्न लागिएको छ। तुलसीपुरको हात्तिखौवा चोकसम्म मात्रै विस्तार हुने छ। त्यसदेखि पश्चिमसम्म झन्डै एक किलोमिटर गत सालमात्रै सडक डिभिजनले फोर लेनको सडक विस्तार गरेको थियो।
त्यस्तै घोराहीमापनि कटुवाखोलादेखि तुलसीपुर चोकभन्दा केही पश्चिम डेढ किलोमिटर जति सडक डिभिजनले गत सालमात्रै विस्तार गरेको छ। त्यो सडकमा भने केही चलाइने छैन। फोरलेन सडक विस्तार गर्ने क्रममा बस्ती क्षेत्रलाई प्रभावित नपार्ने गरी योजना बनाइएको इञ्जिनियर हमालले बताए।
जंगलमा छुट्टै वैैकल्पिक रोड निर्माण गर्ने बारे अध्ययन सुरु
‘बबईको पुलदेखि तुलसीपुरसम्मको ४६ किलोमिटर सडकलाई पहिलो खण्डमा फोरलेनमा विस्तार गरिन्छ,’ हमालले भने ‘त्यसदेखि लमहीसम्मको सडक फोरलेनको रुपमा विकास गर्न अझैं केही समय लाग्न सक्छ।’ घोराहीको बबई खोलापुलदेखि लमहीसम्मको सडक खण्डमा ठूला पहाड र घना जंगल पर्दछ।
त्यही जटिल भूगोलका कारण हालकै सडक खण्डमा फोरलेन सडक निर्माण गर्न कठिन हुने भएको हुँदा अर्को वैकल्पिक रोडको खोजी गर्ने कि भन्ने बारेमा समेत अध्यनहरु सुरु गरिएको इञ्जिनियर हमालले बताए। ‘खोलैखोला अर्को छुट्टै दुई लेनको सडक विस्तार गर्ने कि भन्ने छ,’ हमालले भने।
हालको सडक खण्डमा विस्तार गर्न खोज्दाहुने संभावित खर्च तथा वन जंगलको क्षति र नयाँ रुट निर्माण गर्न खोज्दा लाग्ने खर्चको आँकलन गरेर मात्रै त्यो भागमा विस्तारको कामहुने उनले बताए। हालकै सडक खण्डमा कालोपत्रे भत्काएर त्यसलाई फोरलेन सडकको रुपमाविकाश गर्न खोज्दा केही वर्ष सवारी साधन चलाउन समेत मुस्लिक पर्ने अवस्था आउने छ।
‘भविस्यको लागि पनि लमही र घोराहीको बीचको जंगलमा वैैकल्पिक सडक खण्ड निर्माण गर्न सके राम्रै हुन्छ भन्ने छ। त्यसैले त्यो अध्ययन पनि भइरहेको छ,’ उनले भने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आएको समयमा यो सडक खण्ड विस्तारको प्रस्ताव गरेका थिए। पहिलो पटक नेपाल भ्रमणमा आउँदा उनले संविधानसभालाई सम्वोधन गर्ने क्रममा त्यो प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावपछि नै सडक विस्तार हुन लागेको हो।