दाङको साविक तुलसीपुर नगरपालिका वडा नम्बर ५ बसपार्क मासीमण्डी क्षेत्रमा नियमविपरीत संरचनाहरू निर्माण गरिएका छन्।
यहाँ दस कठ्ठाभन्दा धेरै क्षेत्रफल भएको जग्गा नगरपालिकाको स्वामित्वभित्र छ। नगरको स्वामित्वभित्र पर्ने जग्गामा व्यक्तिले धमाधम अग्ला पक्की घर ठड्याएका छन्।
उपमहानगरका अमिन विक्रम गौतमका अनुसार साविक तुलसीपुर नगरको वडा नम्बर ५ ख मा ५४५ कित्ता नम्बरको तीन कठ्ठा र ५४६ कित्ता नम्बरको ११ कठ्ठा जग्गा भए पनि नगरले एक तिहाइ पनि संरक्षण गर्न सकेको छैन।
नगरको तीन कठ्ठा जग्गामा बसपार्क, न्युरोड बजार छ। यहाँ घर तथा होटल बनेका छन्। गौरीगाउँले कुलोदेखि पश्चिम भेगका घरहरू नगरको जग्गामा ठडिएको हो। यतिमात्र होइन, मासुमण्डी क्षेत्रको कित्ता नम्बर ५४६ को ११ कठ्ठामा पनि व्यक्तिका घर छन्।
उपमहानगर कार्यालय छेउको कित्ता नम्बर ८११ को १० कठ्ठा जमिनमध्ये साडे ५ धुरमा तीन जना व्यक्तिले घर बनाएका छन्। यहाँ एकान्त होटलको चार तले घर र पसल पनि छ।
अहिलेका मेयर घनश्याम पाण्डेले पहिला उपमेयर भएका बेला २०५४ सालमा पातुखोला किनारमा आफ्नो जग्गामा टहरा निर्माण गरी मासु मार्केट बनाएका थिए। त्यतिबेला प्रतिसटर भाडा तीन सय तोकिएको थियो। बीचमा भाडा बढेर एक हजार दुई सय पुगे पनि लामो समयदेखि भाडा बृद्धि नभएको मासु व्यवसायी संघका सचिव मनोज बुढाथोकीले जानकारी दिए। यहाँ ४१ सटर छन्। बार्षिक पाँच लाख ८२ हजार दुई सय भाडा उठ्छ।
मासु बजार स्थापना गरिएको ठाउँमा तुलसीपुर नगरपालिकाको ५४४ कित्ता नम्बरमध्ये एक विघा दश कठ्ठा १४ धुर जग्गा छ। योमध्ये दश कठ्ठामा मासु बजार छ।
‘माओवादी द्वन्द्व उत्कर्षमा पुग्दा नगरको जग्गा मनपरी व्यक्तिले घर बनाए,’ अमिन गौतमले सेतोपाटीसँग भने, ‘ऐलानी जग्गा भन्दै एकले अर्कोलाई विक्री वितरण पनि गरेको देखिन्छ।’ जग्गा फिर्ता ल्याउन जनप्रतिनिधिले पनि खासै प्राथमिकता दिएका छैनन्।