दाङको तुलसीपुर उपमहानगरपालिकामा कर्मचारीलाई व्यवस्थापन गर्न कठिन भएको छ।
अस्थायी, करार, स्थायी र समायोजन भएर आएका कर्मचारीले उपमहानगरमा कर्मचारीलाई राख्ने कोठा पनि अभाव छ।
उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलका अनुसार एक सय ६८ जना कर्मचारीहरू अहिले कार्यरत छन्।
यहाँ कर्मचारी दरबन्दी दुई सय ६२ जनाको छ।
उपमहानगरले एक सय ४९ जना कर्मचारी राख्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेअनुसार कर्मचारीहरू धमाधम हाजिर हुन आएका छन्। तर उपमहानगरले समायोजन भई आएका कर्मचारीमध्ये केहीलाई हाजिर गराउन आनकान गरेको छ।
मेयर घनश्याम पाण्डेका अनुसार माग गरेभन्दा बढी संख्यामा कर्मचारी आएकोले सबैलाई हाजिर गराउन सकिएको छैन।
प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले रिक्त दरबन्दी मन्त्रालयमा जानकारी गराएपछि कर्मचारी हाजिर हुन आएको जानकारी दिए।
उनले भने, ‘कृषि, पशु, स्वास्थ्य शाखामा दरबन्दीभन्दा बढी कर्मचारी मन्त्रालयले पठाउँदा हाजिर गराउन असजिलो भएको हो,’ उनले भने।
नगरपालिकाले गत साउन १० गते नै ४८ जना कर्मचारीलाई हाजिर गराउन नसक्ने पत्र मन्त्रालयमा पठाएको थियो। तर मन्त्रालयले पठाएका सबै कर्मचारी हाजिर गराउनू भन्ने निर्देशनसहित पत्राचार गरिदिएपछि उपमहानगर कर्मचारीले भरिएको छ। तर सबै कर्मचारीलाई हाजिर गराउने हो भने उपमहानगरको स्रोत साधन खर्च हुने भन्दै विरोध भइरहेको छ।