दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रामा अवस्थित छ उमाशंकरनाथ योगी बाल अस्पताल।
पहेंलो रङको दुई तले आकर्षक भवन रहेको उक्त अस्पतालमा बिरामी जाँच गर्न आवश्यक पर्ने उपकरण महँगा छन्। दस शैय्याको अस्पतालमा एक्सरे मेसिनदेखि ल्याब सुविधा तथा अन्य परीक्षण गर्ने उपकरणहरू पनि छन्।
सुविधा अनुसार अस्पतालमा अहिले बालबालिका उपचार गर्न आएको दृश्य देखिनु पर्थ्यो। बालबालिकासँगै उनीहरूको अभिभावक साथमा र डाक्टरहरू बिरामीको सेवा दिइरहनु पर्ने हो। तर अस्पतालको दृश्य फरक छ।
१० वर्षअघि स्थापना भएको यस अस्पतालमा न बिरामीको चहलपहल छ, न डाक्टरको नै। बरु अस्पताल मस्त निन्द्रामा छ, गेटमा ताल्चा लगाएर।
उमाशंकरनाथ योगी बाल अस्पताल २०६६ सालमा भारतीय दूतावासको सहयोगमा बनाइएको हो।
२०६६ साल असारदेखि घोराही बजारमा सञ्चालन हुँदै आएको बाल अस्पताललाई भवन निर्माण भएपछि सर्रामा सारियो। घर नजिकै अस्पताल हुँदा स्थानीय पनि दंग परे।
आफ्नै ठाउँमा सेवा पाउने आशा पलाएका उनीहरूमध्ये विभिन्न दाताले अस्पताललाई जग्गा दान समेत गरे। तर स्थानीयको त्यो खुसी लामो समय टिक्न सकेन।
आर्थिक अभावका कारण वर्षदिन नबित्दै अस्पताल बन्द भयो। लामो समयदेखि अस्पताल सञ्चालन नहुँदा लाखौं मूल्य बराबरका मेसिन तथा औजारहरूमा खिया लाग्न थालेको छ। शैय्याहरू धुलोले भरिएका छन्।
अस्पताल बन्द भएपछि भवनलाई प्रहरीले आवासको रूपमा प्रयोग गर्यो। ०६७ साल साउन महिनामा बन्द अस्पतालको भवनमा एक महिनाको लागि भनेर बसेको प्रहरीले ६ वर्ष कटायो।
आफ्नै भवन बनेपछि भने प्रहरी अस्पताल छोडेर गयो। प्रहरी गएपछि त्यसबीचमा अस्पताल फेरि सञ्चालन गर्न प्रयास भयो।अस्पताल भवनमा प्रहरी बस्दा दुई लाख २५ हजार बराबरको विद्युत बालेको रकम तिर्नु पर्ने थियो। उक्त विद्युत महशुल प्रहरीले नतिर्दा विद्युत कार्यालयले विद्युत काटिदियो।
त्यसपछि अस्पताल पुनःसञ्चालनमा आउन सकेन। अहिले उक्त रकमको ब्याज बढेर तीन लाख पुग्न लागेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले विद्युत महशुल बक्यौता रकमबारे परामर्श गरिने बताए । ‘म त्यसवारे माथि कुरा गर्ने छु,’ एसपी भट्टराईले भने। अस्पतालमा प्रहरीले प्रयोग गरेको विद्युतको महसुल तिर्ने बारेमा गृहकार्य अगाडि बढाउने उनले आश्वासन दिए।
बाल अस्पताल खुल्न नसकेपछि भवनलाई घोराही उपमहानगरपालिकाले असहाय बालबालिका राख्ने केन्द्रको रुपमा पनि प्रयोग गर्यो। यो कार्यले पनि सार्थकता पाउन सकेन।
सञ्चालक समितिले आवश्यक समन्वय गर्न नसक्दा भवन निर्माण भएर पनि अस्पताल चल्न नसकेको स्थानीयको बुझाई छ। स्थानीयको भनाई सँग सहमत छन् घोराही उपमहानगरपालिका वडा नं। १६ कार्यबाहक अध्यक्ष जगत श्रेष्ठ पनि।
'सञ्चालक समितिले आफूले पनि चलाउन नसक्ने अनि राज्यलाई सञ्चालन गर्न पनि नदिने गरेका कारण अस्पताल चल्न नसकेको हो', उनले भने।
सञ्चालक समितिका पदाधिकारीहरु भने यो कुरा स्वीकार्दैनन्।
स्थानीय सरकारले कुनै सहयोग नगरेको समितिको गुनासो छ। आर्थिक अभावका कारण दुई पटक अस्पताल सञ्चालनको प्रयास भए पनि सम्भव नभएको बाल अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदिप योगीले दाबी गरे।
योगीका अनुसार पहिलो संविधान सभाको निर्वाचनपछि दाङबाट निर्वाचित सांसद कृष्णबहादुर महराले सांसद विकास कोषको १५ लाख रुपैयाँ सहयोग गरेपछि उपकरण किनिएको थियो। त्यो बाहेक अन्त कतैबाट पनि सहयोग नपाएको सञ्चालक समितिको गुनासो छ।
योगीले अस्पताल सञ्चालनका लागि समितिसँग आर्थिक श्रोत नहुनु र राज्यले पनि वास्ता नगरेका कारण अस्पतालमा ताला लागेको बताए। समितिसँग डाक्टर र कर्मचारी राख्न पैसा नहुँदा अस्पताल चलाउन समस्या उत्पन्न भएको पनि उनले प्रष्टाए।
बाल अस्पताल सञ्चालनका लागि २ वर्षसम्म सरकारबाट वार्षिक ३० लाख रुपैयाँ सहयोग भए आफूले अस्पताल सञ्चालन गरेर देखाइदिने योगीको दाबी छ। आफूले अस्पताल सञ्चालनका लागि स्थानीय सरकार र पधाधिकारीसँग पटकरपटक गुहार मागे पनि कसैले वास्ता नगरेको अध्यक्ष योगीले बताए।