देव विकास बैंकको १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ हिनामिना प्रकरणमा सञ्चालक समितिका पदाधिकारीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता भएको हो।
आइतबार सरकारी वकिल कार्यालयले सञ्चालक बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरूद्ध मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए।
त्यसमध्ये पक्राउ परेका १३ जना प्रतिवादीलाई आइतबार अभियोगपत्रसहित अदालतमा पेश गरिएको छ।
बैंकका शाखा प्रबन्धक समिर बुढाथोकी, बरिष्ठ प्रबन्धक अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी, बन्दना गुप्ता, वीरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मतकुमार पौडेल, सक्टुराम गुप्ता, वसन्त बुढाथोकी, कर्मचारीतर्फ पोषणप्रसाद जैसी र अर्चना थापा खत्री रहेका छन्।
प्रतिवादीहरूको बयान आइतबारदेखि नै सुरू भएको छ। देव विकास बैंकका सिइओ विजयबहादुर श्रेष्ठको जाहेरीका आधारमा गत भदौ ३ गते नै शाखा प्रबन्धक बुढाथोकी पक्राउ परेका थिए। बुढाथोकीको बयानका आधारमा वरिष्ठ प्रबन्धक न्यौपाने, अन्य कर्मचारी र खातावालालाई समेत प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो। बैंक सञ्चालकहरू र सिइओ भने फरार छन्।
अदालतबाट पक्राउ पूर्जी जारी गरी उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।
सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा पेश गरेको अभियोग पत्रमा एउटै व्यक्तिले ५ करोडसम्म रकम हिनामिना गरेको उल्लेख छ।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा दोब्बर बिगो माग दाबी गरिएको छ। १८ करोड ३ लाख ७२ हजारको दोब्बर बिगो (३६ करोड बढी) हुन आउँछ। ही बमोजिम जरिवाना र अभियुक्तलाई कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ।
५६ जना सबैलाई एउटै बिगो बमोजिम जरिवाना र कैद माग गरिएको छ। बैकिङ कसूर मुद्दामा बिगो बमोजिम जरिवानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।