अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बुद्धजन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरू भएको छ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना, प्रदेश ५ सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा लुम्बिनी उद्यानमा अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक वाचन सुरू भएको हो।
बिहीबाट सुरू भएको त्रिपिटक वाचन तीन दिनसम्म चल्ने छ। गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो।
अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ।
त्रिपिटकको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्धले मानव जातिका लागि नयाँ जीवन दर्शन प्रदान गर्नुका साथै एउटा विश्व संस्कृति निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
उनले बौद्ध शिक्षालाई विश्व समुदायमाझ पुर्याउन त्रिपिटक वाचन कार्यक्रम महत्वपूर्ण भएको बताए। पवित्र लुम्बिनी क्षेत्रलाई अझै पवित्र बनाउन त्रिपिटक कोसेढुंगा हुने समेत उनको भनाइ छ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी क्षेत्र पवित्र र ऐतिहासि क्षेत्र भएको बताए।
उनले लुम्बिनीसँगै तिलौराकोट र रामग्राम, देवदहको विकासका लागि प्रदेश सरकार लागि परेको बताए।
थाइल्याण्डका पूर्वस्वास्थ्यमन्त्री पुनिङ सुधारतले लुम्बिनीको विकासमा आफूहरू सधैं हातेमालो गर्ने बताइन्। उनले यस किसिमका त्रिपिटक वाचनले लुम्बिनीको महत्व अझै बढ्ने बताउँदै निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिइन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (मैत्तेय भिक्षु)ले कयौं शताब्दीसम्म भिक्षु संघले जोगाइ राखेको बुद्ध सूत्रलाई पवित्र उद्यानमा आयोजना हुनुले सबैमा पुण्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
त्रिपिटकलाई बौद्ध धर्म र संस्कृतिमा उच्च ग्रन्थको रूपमा लिने गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए।
त्रिपिटकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, क्याम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापानलगायत २५ देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, अनागरिका गरी करिब एक हजारले सामूहिक पाठ सुरू गरेका छन्।
नेपालमा योभन्दा पहिला अमृतानन्द भन्तेले कल्पना गरेअनुसारको संगायना देशना २०४५ सालमा भएको थियो। त्यसयता यस्ता किसिमका कार्यक्रम भएका थिएनन्। अघिल्लो वर्षबाटमात्रै त्रिपिटक वाचन सुरू भएको हो।
तीन दिनको कार्यक्रममा थाइ भिक्षुहरूको नेतृत्वमा पाठ हुनेछ भने नेपाली भिक्षुहरूको नेतृत्वको सत्र समेत हुने छ। त्यस्तै वर्मा, श्रीलंका र कम्बोडियाका भिक्षुहरूको नेतृत्वमा एक/एक घण्टा पाठ हुने बताइएको छ।
अन्तिम दिन मायादेवी मन्दिरको वरिपरि मैनबत्ती सहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन्। यसका साथै दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ।
संस्कृतिविद्हरूले त्रिपिटक पाठपछि अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको महिमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।