कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विगत १६ दिनदेखि आन्दोलनमा रहेका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका विद्यार्थीले शुक्रबारबाट रिले अनसन थालेका छन्।
बिडिएस र एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले गत सोमबार कलेज प्रशाशन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका थिए।
प्रशासनलाई ज्ञापनपत्र बुझाउने, मूल गेटमा धर्ना दिने, तालाबन्दी गर्ने लगायतका चरणबद्ध आन्दोलन गरेपनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर रिले अनसन थालेको विद्यार्थीहरुले बताएका छन्।
कलेजबाट इन्टर्नमा खटिएका चिकित्सकले समेत शुल्क फिर्ता नभए काम नगर्ने चेतावनी दिँदै आएका छन्। यता कलेज प्रशासन भने मुलुकभरका १८ वटा मेडिकल कलेजको समस्या उस्तै भएकाले माथिल्लो निकायबाटै समाधान खोज्नुपर्ने बताउँछ।
युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल ढकालले आफूहरुले विद्यार्थीलाई आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरे पनि नमानेको बताए।
विद्यार्थीको आन्दोलन शुक्रबार १६ औं दिनमा पुगेको छ। कात्तिक १४ गतेदेखि विद्यार्थी चरणबद्ध आन्दोलनमा छन्। सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेपनि मेडिकल कलेजहरुले त्यसबाहेक अतिरिक्त रकम उठाउँदै आएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै शुल्क लिएको दाबी गर्दै आएको छ। विद्यार्थीहरुलाई इन्टर्नशीप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ।
गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थी समेत अतिरिक्त रकम फिर्ता माग्दै आन्दोलमा छन्। आन्दोलनका कारण वार्षिक परीक्षा स्थगित भएको छ।