घरि कसको काख त घरि कसको काख। जसको काखमा गए पनि उनी एकै किसिमले लुटुपुटिन्छन्। के महिला, के पुरुष अनि के बालबालिका उनलाई सबैको काख उस्तै न्यानो र प्यारो लाग्दो हो, सायद जन्म दिने आमाको जस्तै ...।
गएको पुस २८ गते बुटवल मिलनचोकमा करिब १८ वर्षीय ममता (परिवर्तित नाम) वेवारिसे अवस्थामा फेला परिन्। केही दिनदेखि सडकपेटीमा पल्टिरहेको अवस्थामा युवती फेला परेपछि स्थानीयले बुटवलमा रहेको मानव सेवा आश्रममा खबर पुर्याए।
जसको कुनै सहारा छैन त्यस्तै व्यक्तिको सहारा बन्दै आएको मानवसेवा आश्रमले उद्धार गर्यो। मानसिकसँगै शारीरिक रूपमा समेत कमजोर अवस्थाकी उनलाई अस्पतालमा लगी स्वास्थ्य चेकजाँच गरियो। उनको पेटभित्र ७ महिनाको गर्भ हुर्किंदै थियो।
एकातर्फ मनोरोगी अर्कोतर्फ बोल्न नसक्ने अवस्थाकी, त्यसैमाथि गर्भवती।
आश्रमका सहयोगीहरूले विशेष रेखदेख र स्याहार गरे। गत फागुन २६ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनले छोरालाई जन्म दिइन्।
आफैं को हुँ र कहाँ छु भन्ने पत्तो नपाउने ममतामा शारीरिक शिथिलता बाहेक आमा बनेकोमा कुनै संकेत देखिँदैन्थ्यो। न त उनले छोरालाई काखमा लिइन् न त दूध नै चुसाइन्।
गर्भमै राम्रोसँग हुर्किन नपाएका उनी जन्मिँदा डेढ किलोका मात्र थिए। जन्मिएको २० दिन आइसियूमा राखेर उपचार गर्दा केही तंग्रिएपछि अस्पतालबाट आश्रममा लगियो।
हिन्दु संस्कार अनुसार बच्चा जन्मिएको ११ दिनमा न्वारान गरी घर चोख्याउनु पर्छ। उनी भने २० दिनसम्म अस्पतालमै रहे। २१ दिनमा उनको न्वारान गरियो। हिन्दु संस्कार अनुसार स्थानीय सरकार बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य र आश्रमका संरक्षक शेर बहादुर गौतमको समेत उपस्थितिमा नामाकरण गरियो ‘सक्षम मानव’।
‘मनोरोगी र बोल्न नसक्ने अवस्थामै आमाको पेटभित्र हुर्किएर कम तौलमा जन्मिए पनि उनी सकुशल रहे, यस्तो अवस्थाको आमाबाट जन्मिएर तीन हप्तासम्म पनि आइसियूमा बसेको बालक भविष्यको सवल र सक्षम नागरिक बनोस् त्यसैले नाम नै सक्षम राखेका छौं,’ आश्रमकी सहयोगी सरु अधिकारीले भनिन्।
सक्षम अहिले ७ महिना पूरा भएका छन्। आश्रमका सहयोगी र त्यहाँ जाने सर्वसाधारणको काखमा लुटुपुटु गर्दै हुर्किंदै छन्।
आमाले सात महिनाको गर्भमै लिएर आएकोले होला सक्षम आश्रमका सहयोगी र सबै आश्रितहरूका प्रिय छन्। तर आश्रमका सहयोगीहरूले सक्षमलाई आश्रितहरूसँग एक्लै भने छाड्दैनन्।
चार जना बालबालिकासँगै महिला र पुरुष गरी ५३ जनाको त्यही समूहमा सक्षमकी आमा पनि छन् ममता। न त सक्षमले आमाको ममता महशुस गर्न सक्छन् न त ममतालाई नै आफूभित्रको ममताले छोरासम्म पुर्याउँछ।
‘ममता मानसिक रूपमै यति धेरै विक्षिप्त छन् कि आफैंले जन्माएको छोरासँग एउटै छानोमुनि रहेर पनि आमा बनेको नै महशुस गर्न सकिनन्, सरुले भनिन्,‘कहिलेकाहीँ सक्षमलाई काखमा लिएर बुवाआमा भएतिर गयो सबैले बाबु भन्नुहुन्छ ममता हेरिरहन्छिन् कहिलेकाहीँ बाबु उच्चारण गर्छिन्, हाम्रो मन भक्कानिएर आउँछ।’
त्यहाँ रहेकामध्ये ४०/४२ जना मनोरोगी छन्। केही सुस्त मनस्थितिका र केही भने आफन्तबाट अपहेलित भएका।
सरुले भनिन्,‘अधिकांश महिला मनोरोगी पुरुष देख्दा चिच्चाउनुहुन्छ, अत्तालिनुहुन्छ, सायद पुरुषबाटै लुटिएपछि मानसिक आघात पुगेको हो कि जस्तो लाग्छ।’
‘हामी धेरै महिला सहयोगी छौं, दाइहरू पनि हुनुहुन्छ तर हामीले नुहाइदिँदा कपडा फेरिदिँदा पनि मलाई केही नगर्नु भन्दै चिच्चाउनु हुन्छ बाथरुम लैजानै गाह्रो हुन्छ,’उनले थपिन्।
विभिन्न कारणले सडकमा आएका व्यक्तिहरूलाई उद्धार गरी उनीहरूको संरक्षण गर्ने भन्दै बुटवलमा दुई वर्षअघि मानव सेवाआश्रम सञ्चालन गरिएको हो।
त्यसअघि चितवन लगायतका अरु सहरहरूमा सडक मानवहरूको उपचार, उद्धार र भोजन गराउँदै आएकोमा बुटवलमा दुईवर्ष देखि आश्रम नै सञ्चालन गरिएको हो।
सुरूका महिना बुटवल र आसपासका क्षेत्रमा सडकमा भेटिएका व्यक्तिहरूको उद्धार गरी आश्रय दिने गरिए पनि अहिले भने बाहिरी जिल्लामा भेटिएकालाई पनि पठाउने गरिएको छ।
आश्रममा ल्याइने व्यक्तिहरूको संख्या बढ्ने क्रमसंगै सञ्चालनका लागि लाग्ने खर्च पनि थपिँदै जाने गरेको छ।
बुटवल सुख्खानगरमा दुइटा घर भाडामा लिई सञ्चालन भइरहेको आश्रमको घरभाडा बुटवल उपमहानगरपालिकाले बुझाइदिन्छ भने दैनिक खानपान, लत्ताकपडा, औषधि उपचार र अरु भैपरी आउने खर्च सामाजिक संघसंस्थाहरूको सहयोगले चल्दै आएको छ।
‘बुटवलमा मनकारीहरूको संख्या यति धेरै रहेछ कि मासिक ५ देखि ७ लाख रुपैयाँ खर्च आउने आश्रम सञ्चालन गर्न हामीलाई कुनै कठिनाइ भएको छैन,’ सरुले भनिन्।
आश्रम सञ्चालनपछि छोराछोरीको जन्मदिन, विवाह उत्सव, पितृहरूको श्राद्ध तथा अरु खुसीयालीका क्षण समेत आश्रममै आएर मनाउने प्रचलन बढेको छ।
सरुका अनुसार असोज महिनाभरिलाई नै साँझ बिहानको नै खानाको लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले बुक गरिसकेका छन्।
‘आश्रममा रहेका बुवाआमाहरूलाई कसैले खाना खुवाउन मन लाग्यो भने एक महिना पहिलेदेखि नै नाम टिपाएर भोजन गराउने दिनको पालो लगाउनुपर्छ,’ सरुले भनिन्।
विभिन्न कारणले सडकमा आउँदा र लामो समय सडकमै रहँदा उनीहरू मनोरोगी त बनेका छन् नै सँगसँगै बेलाबेला विभिन्न मौसमी रोगहरूले समेत सताउने गरेको छ।
धेरैजसोलाई दम, निमोनियाजस्ता रोगहरूले पनि सताउने गरेको छ। पछिल्लो समय प्रदेश ५ सामाजिक विकास मन्त्रालयले ४ जना स्वास्थ्यकर्मीलाई दैनिक रूपमा उपचार तथा स्वास्थ्य चेकजाँचको लागि खटाउन थालेपछि सामान्य बिरामी पर्दा अस्पताल दौडाउनुपर्ने बाध्यता हटेको छ।
बुटवल उपमहानगरपालिकाले बुटवललाई मानवताको सहर बनाउने घोषणा गरिसकेको छ। मानवताको सहर घोषणा गर्ने एउटा आधार सडक मानवरहित सहर पनि हो।
जसले जसरी स्थापना गरे पनि मानवसेवा आश्रमलाई दिगो बनाउने र अबका दिनमा नगरका कुनै पनि मानवलाई सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ।