पश्चिम नेपाल यातायात व्यवसायी प्रालीले आफू मातहत सञ्चालन हुने सवारी साधनको जाँचपासलाई अनिवार्य गरेको छ।
पहाडी तथा लामो दुरीमा सञ्चालन हुँदै आएका सवारी साधनहरुको प्रत्येक पटक यात्रा थाल्नुअघि प्राविधिक जाँचपास गर्न अनिवार्य गरेको हो ।
कम्पनीका अध्यक्ष दधिराम खरेलले नम्बरमा जानु भन्दाअगाडि पहाडी तथा लामो दुरीमा चल्ने सवारी साधनको अनिवार्य जाँचपासको व्यवस्था गरिएको बताए।
पछिल्लो पटक अर्घाखांचीको नरपानीमा उक्त कम्पनी मातहतको यात्रुबाहक बस दुर्घटना हुँदा बसका चालक र बसधनी सहित १९ जना यात्रुको ज्यान गएको थियो।
सवारी साधनको जाँचपास प्रमाणित गर्नका लागि कम्पनीका सञ्चालक रामचन्द्र भुसालको नेतृत्वमा समिति गठन गरिएको छ। नियमित मर्मत सम्भार हुने वर्कसपबाट सवारी साधन जाँच गर्दा ठिक छ भन्ने प्रमाणित कागजात ल्याएपछि मात्र सवारीसाधन गन्तब्यमा जान पाउने छन्। ‘हामीले बढिरहेको दुर्घटनाको संख्यालाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेका हौं’ अध्यक्ष खरेलले भने।
करिव २ हजार ५ सय बस सञ्चालनमा रहेको उक्त कम्पनीमा १ हजार हाराहारी बसहरु पहाडी सडकमा सञ्चालन हुँदै आएका छन्।कम्पनीले यसअघि दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत आफु मातहतका सवारी साधनमा कार्यरत ४ हजार ५ सय बढी चालक, परिचालक र सहचालकहरुलाई प्रशिक्षण दिइसकेको छ।
सवारी साधनको अवस्था ठिक छ छैन, पछिल्लो पटक कहिले चेक जाँच गरेको हो, सवारी साधनको टायर, ब्यालेन्स रड, स्प्रीङपट्टा लगायत दुर्घटनालाई प्रभाव पार्न सक्ने संयन्त्र ठिक छ छैन भन्ने कुराको सम्वन्धित मेकानिक्सले प्रमाणित गर्ने गरी फारम तयार भएको संयोजक भुसालले बताए।
त्यसैगरी कम्पनीले आफु मातहत रहेका र स्थानीय स्तरमा संचालन हुने बसहरुमा एउटै कलर कोड गर्ने निर्णय समेत गरेको छ।