२०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना भयो। १७ जना यात्रुको मृत्यु भयो।
२०६९ साउन ८ मै नरपानीमै फोर्स जीप दुर्घटनामा १५ जनाको मृत्यु भयो।
२०७० पुस २२ गते फुद्बाङ बजार नजिकै बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो भने २०७० पुस १६ गते ट्याक्टर दुर्घटना हुँदा नरपानी ५ जगतामा, हरि बहादुर खड्काको मृत्यु भयो।
२०७१ साल वैशाख १७ गते बस र ट्रक ठक्कर खाँदा १९ जना यात्रुको ज्यान गएको थियो। उक्त घटनामा ४५ जना यात्रु घाइते भएका थिए।
२०७२ साल फाल्गुन ३ गते नरपानी नजिक खाँचीकोटको बाघमारामा कार दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भयो।
२०७२ साल फाल्गुन २२ गते नरपानीको रातामाटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने २०७४ कात्तिक ६ गते नरपानीमुनि ढाडखोला नजिकै जीप दुर्घटनामा पनि १ जनाको मृत्यु भयो।
२०७६ साल असौज २० गते स्कारर्पियो जीप नरपानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने २०७६ कात्तिक २० गते नरपानीको दहखोलामा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो।
अर्घाखाँचीकै हंसपुरको रतनमारेमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना यात्रुको एकै ठाउँ ज्यान गएको थियो।
गत साता अर्थात् मंसिर ११ गते नरपानीको कालाखोलाको घुम्तीमा यात्रुवाहक बस खस्यो, १९ यात्रुले ज्यान गुमाए।
तथ्यांक भन्छ तराईका सडकमा धेरै दुर्घटना हुन्छन् तर मानवीय क्षती कम हुन्छ, पहाडी सडकमा कम दुर्घटना हुन्छन् तर एउटै दुर्घटनामा ठूलो मानवीय क्षति हुन्छ।
प्राय: यी सबै दुर्घटनामा सवारी धनी र सवारी चालकसमेतको ज्यान गएको तथ्यांकले देखाएको छ।
यी त भए अर्घाखाँचीमा भएका ठूला सडक दुर्घटनाका तथ्यांक।
पछिल्लो ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने प्रदेश ५ का सडकमा अकालमा ज्यान गुमाउनेको संख्या २ हजार हाराहारी पुगेको छ।
यातायात व्यवसायी सडकलाई दोष दिने, सरकार यातायात व्यवसायीलाई दोष दिने प्रतिस्पर्धाका बीचमा निर्दोष यात्रुले ज्यान गुमाउँदै आएका छन्। दुर्घटना हुँदाको एक दुई दिन सडक र चालकलाई दोष लगाइन्छ, धेरै यात्रुको ज्यान गएको छ भने अध्ययन समिति गठन हुन्छ, समितिले प्रतिवेदन बुझाए नबुझाएको न त दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले थाहा पाउँछन् न त अध्ययन समितिले दिएका सुझाव कार्यान्वयन हुन्छन्।
नरपानी घुम्ती आसपासमा किन दुर्घटना भइरहन्छन्?
पत्थरकोटदेखि उकालो लागेपछि सन्धिखर्कसम्मको ६८ किलोमिटरको यो सडक नेपालका सीमित सडकमध्ये दुर्घटनाको जोखिम सडक मानिन्छ।
२०३७ सालमा निर्माण गरिएको यो सडक कपिलवस्तुमात्र होइन रुपेन्देही र दाङ समेतलाई अर्घाखाँची, गुल्मी र प्युठानसँग जोड्ने महत्वपूर्ण सडक हो।
जंगल र अनकन्टार भिरको बीचबाटै निर्माण गरिएको सडकको माथि र तल दुवैतर्फ छाँगोसहितको भिर छ।
ढुंगे पहाडको खोंच काटेर बनाइएको नरपानीदेखि सुपादेउराली मन्दिरसम्मको सडक सबभन्दा जोखिमपूर्ण रहेको छ। तर, ४/५ वर्षका घटनालाई हेर्ने हो भने नरपानीदेखि घुम्ती क्षेत्रमा धेरै दुर्घटना हुने गरेका छन्।
नरपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद पन्थी सवारी साधनको प्राविधिक कमजोरीसँगै घुम्तीसहितको साँघुरो सडक पनि दुर्घटनाको कारण बनेको बताउँछन्।
सल्ला, साल र चिलाउनेको रूखले ढाकिएको नरपानी घुम्ती सडक हिउँद या वर्षा जुनसुकै समयमा पनि ओसिलो हुन्छ। प्राविधिकका अनुसार ओसिलो र साँघुरो सडक पचास मिटरकै दूरीमा आइहाल्ने मोडमा सवारी साधन घुमाउँदा चिप्लिने डर हुन्छ।
पछिल्लो पटक मंसिर ११ गते भएको बस दुर्घटना पनि गाडीको स्टेरिङमा आएको समस्यासँगै मोड काट्न नसक्दा भएको प्रारम्भिक अध्ययनले देखाएको छ।
साढे १० फिटको उक्त सडकमा दुईतर्फी आवागमनको त कुरै छोडौं मोड पार गर्दा एकतर्फी सवारी साधनलाई समेत मुश्किल पर्छ।
साँघुरा मोड र घुम्तीका कारण धेरै दुर्घटना भएको निष्कर्षसहित मंसिरको पहिलो सातादेखि मोड काट्न सुरू गरिएको थियो।
सडकमा काम भइरहेको कारण करिब डेढ घण्टा सडकमा रोकिएको उक्त बस गुडेको ३ मिनेटमै दुर्घटना भएको थियो। तीन मिनेटको दूरीमा उक्त बसले ३ वटा घुम्ती पार गरेर चौथोमा आइपुगेको थियो। जहाँको मोड काट्न नसक्दा दुर्घटनामा पर्यो।