वैशाखीको सहारामा हिँड्डुल गर्ने शोभाराम महतो बिहानैदेखि पाहुनाहरूको स्वागतमा व्यस्त हुन्छन्। पत्नी मिना महतो सरसफाइ र तरकारीको जोहोमा खटिरहँदा शोभाराम भने अँगेनामै बसेर खाना पकाउन सघाउँछन्। उनका तीन जना छोरा सबैले होमस्टे चलाएका छन्।
तीन-चार वर्षअघि पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १५ बाघखोर (अमलटारी)का बासिन्दाको दिनचर्या वन्यजन्तु धपाउँदैमा बित्थ्यो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाघखोरवासी एक्लै जंगल जाने त कुरै छोडौं, खेतबारीमा जान पनि डराउँथे। जंगल र खेतबारीमा जाँदा मात्र होइन, घरआँगनमै पुगेर जंगली जनावरको आक्रमणबाट आफन्त गुमाएको र आफ्नै अंग काटेर फाल्नुपरेको अतित उनीहरूको अगाडि ताजै छ।
बाघखोरका ६० वर्षीय शोभाराम महतोलाई ३१ वर्ष पहिलेको घटनाले सधै झस्काइरहन्छ।
२०४५ साल साउन महिना। भर्खरै रोपेर गाँजिएको धानले बाघखोर वरिपरिको खेत हरियाली थियो। उनी गाउँका अरु साथीसँगै जंगल जाँदै थिए। अचानक खेतमा गैंडाले धान खाएको देखे। साथीहरू मिलेर गैंडा धपाए। खोलापारि पुगेको गैंडा फर्किएर शोभारामलाई आक्रमण गर्यो।
‘धान खाइरहेको गैंडालाई साथीहरूसँगै धपाउँदै खोलापारि पुर्याएर फर्किँदै थिएँ। पछिपछि फर्किएर मलाई आक्रमण गर्यो,’ ३१ वर्षअघिको त्यो घटना सम्झिँदै उनी भन्छन्, ‘पानी परिरहेको थियो। भाग्दै गर्दा भुइँमा चिप्लिएर लडेँ। त्यहीबेला गैंडाले हानेर खुट्टा भाँचिदियो।’
गैंडाको आक्रमणबाट उनको दाहिने खुट्टा क्षतविक्षत बनेको थियो। केही दिन भरतपुरमा उपचार गरे पनि निको नभएपछि शिक्षण अस्पताल काठमाडौंमा उनको खुट्टा काटेर फाल्नुपर्यो। त्यतिबेला उनी २९ वर्षका थिए।
गैंडाको आक्रमणबाट ज्यान गुमाएका ठाकुरप्रसादका छोरा चुरामणि पनि पाहुनाको स्वागतमै रमाएका छन्। होम स्टेसँगै रिसोर्ट समेत चलाउँदै आएका चुरामणिको सबै परिवार यही व्यवसायमा खटिन्छ।
२०६९ जेठदेखि अमलटारीमा होमस्टे सुरू गरिएको हो। २२ वटा घरबाट सुरू गरिएको होमस्टे अहिले ३१ घरमा पुगेको छ।
थारू, मुसहर र बोटे समुदाय रहेको उक्त गाँउमा अधिकांश थारू समुदायको बाहुल्यता छ। होमस्टे सुरू गर्नुभन्दा अगाडि खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयलाई आयआर्जनको माध्यम मात्र होइन, जंगली जनावरले दिएको पीडा बिर्साउने माध्यम बनेको छ।
तीन चार वर्षअघिसम्म जंगली जनावरले उठिबास लगाएको यो ठाउँमा अहिले आन्तरिक तथा विदेशी पर्यटकसमेत दैनिक पुग्ने गर्छन्।
नवलपरासीको डण्डादेखि छ किलोमिटर दक्षिणमा हरियाली जंगल र नदीको छेउमा रहेको होमस्टे हेर्दा जति आकर्षक देखिन्छ, स्थानीयको स्वागत सत्कार र त्यहाँ पाइने परिकारले पाहुनाहरूलाई झनै लोभ्याउने गर्छ।
होमस्टेको लागि निर्माण गरिएका ३१ घरको शैली र आकार मात्र होइन, खाना र खाजाको प्रकृति पनि एउटै छ। गाउँमै उत्पादन भएको तरकारी, चामल पिठोबाट तयार पारिएको थारु संस्कृतिका परिकारको स्वादले पाहुनाहरूको मन जित्ने गरेको छ।
गाउँकै अन्न, तरकारी, हाँस, कुखुरा, खसी र नारायणी नदीको माछा खुवाउँछन्। जसले गर्दा पर्यटकले ग्रामीण उत्पादनको स्वाद लिन पाएका छन् भने स्थानीयको आम्दानी पनि थपिने गरेको छ।
होमस्टेबाटै हरेक परिवारले मासिक ३० हजार रुपैयाँसम्म कमाउँछन्।
महिला-पुरुष सबै मिलेर खेतबारीमा तरकारी लगाएका छन्। विदेश जान बाध्य युवाहरू होमस्टेमै रमाएका छन् भने छोरी-बुहारीहरू पढाइसँगै काममा व्यस्त हुने गरेका छन्।
होमस्टे सञ्चालनले आर्थिक रुपमा बलियो त बनाएको छ नै, आफूहरूमा आत्मविश्वाससँगै नेतृत्व क्षमताको पनि विकास भएको स्थानीय पिंकी महतो बताउँछिन्।
साँझ-बिहानको भान्साको काम सकेपछि दिनभरि फुर्सदिला हुने महिला अहिले पाहुनाको स्वागत सत्कारमा व्यस्त हुन्छन्। होमस्टे सञ्चालनको लागि सुरूका दिनमा २२ वटा घरलाई डब्लुडब्लुएफको तराई भू–परिधि कार्यक्रमले प्रतिघर ५० हजार रुपैयाँ बराबर सहयोग गरे पनि त्यसयताको व्यवस्थापन भने उनीहरू आफैंले गरेका छन्।
विश्व वन्यजन्तु कोष, तराई भू-परिधि कार्यक्रम, चितवन राष्ट्रिय निकुञ्जलगायतका संस्थाले परिकार बनाउनेदेखि पाहुनासँग गर्ने बोली व्यवहारसम्मको तालिम दिएर पर्यटक लोभ्याउन सिकाएका छन्।
होमस्टेमा आउने पाहुनालाई गाउँलेहरूकै सहकारीले पालो अनुसारको घरमा पठाउँछ। पाहुनाको बिलसमेत सहकारीले नै जम्मा गर्छ भने आम्दानीको ५ प्रतिशत जैविक विविधता संरक्षण, सामाजिक विकास र शिक्षामा खर्च गर्छ भने पाँच प्रतिशत सहकारीका सदस्यहरूमा ब्याजमा लगानी गर्ने गरिएको अमलटारी मध्यवर्ती होमस्टे समितिका धनीराम गुरौले बताए।
प्राकृतिक सुन्दरताले भरिएको अमलटारी सहरी कोलाहलबाट टाढा रहेकोले पनि तालिम, गोष्ठी तथा सेमिनारहरूको लागि उपयुक्त गन्तव्य बनेको छ।
त्यहाँ जाने पाहुनाहरूले हात्ती चढेर जंगल सफारीमा लैजान थालेपछि विदेशी पर्यटकहरू समेत आकर्षित हुन थालेका छन्। होमस्टेदेखि दक्षिणतर्फको नारायणी नदी किनारमा सूर्योदय र सूर्यास्त हेर्ने व्यवस्था मिलाइएको छ।
ठाकुरप्रसाद महतो नदी किनारमा भैंसी चराउँदै थिए। अचानक गैंडाले आक्रमण गर्यो। गैंडाको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका महतोको घटनास्थलमै मृत्यु भयो। १२ वर्ष पहिलेको घटना सम्झिँदा ठाकुर प्रसादका छोरा चूरामणिलाई अहिले पनि पीडा हुन्छ।
२०७३ साल पुष १० गते स्थानीय ७२ वर्षीय बुटिकुमारी महतो चार वर्षीया नातिनी स्वेता महतोलाई काखमा लिएर आँगनमा आगो तापिरहेकी थिइन्। पछाडिबाट आएको गैंडाले आक्रमण गर्यो, नातिनी बज्यै दुवै जनाको मृत्यु भयो।
गैंडाको आक्रमणबाट २०७२ सालमा मात्रै बाघखोरका तीन जना घाइते भए। साउन २४ गते स्थानीय हरिबहादुर मुसहर र लालबहादुर मुसहर गैंडाको आक्रमणबाट घाइते भए। सोही वर्ष कात्तिक २१ गते शान्तिकुमारी महतो पनि आक्रमणमा परिन् भने वडा नम्बर १४ का मनिलाल थनेत पुष २९ गते गैंडाकै आक्रमणबाट घाइते भए।
कावासोती वडा नम्बर १७ की पार्वती अधिकारीलाई २०७३ साल मंसिर १७ गते गैंडाले र वडा नं. १४ का कृष्णप्रसाद बोटे चैत १४ गते भालुको आक्रमणबाट घाइते भए।
यी प्रतिनिधि घटना हुन्। प्राकृतिक सुन्दरताले भरिएको कावासोती अमलटारी क्षेत्रका अधिकांश घरमा जंगली जनावरले पुर्याएका तीता घटनाका पीडा र बेदना लुकेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त गाउँका बासिन्दासँग निकुञ्जबाट आउने गैंडा, भालु, चितुवाको द्वन्द्व भइरह्यो। तर, पछिल्लो तीन वर्षयता भने जंगली जनावर र स्थानीयबीचको द्वन्द्वमा कमी आएको छ।
थारू र बोटे समुदायको बसोबास रहेको बाघखोर (अमलटारी) का बासिन्दाले नजिकै रहेको सामुदायिक वनलाई संरक्षण गरी तारबार गरेपछि जंगली जनावरको आक्रमणमा कमी आएको हो।
वनमा वृक्षारोपण गरी हराभरा बनाइएको छ भने वनको वरिपरि विद्युतीय तारबार गरिएको छ। जसको कारण घरआंगनमै पुगेर वन्यजन्तुले आक्रमण गर्ने समस्या टरेको छ।
अमलटारी मध्यवर्ती समितिका कार्यालय सचिव वसन्त गौतम महिनौंजसो जंगली जनावरको आक्रमणबाट मृत्यु तथा घाइते हुने क्रम बढेपछि स्थानीयबासीमा सचेतना बढ्दै गएको बताउँछन्। ‘घाँस दाउराको लागि जंगल जाँदा मात्र होइन, घर आँगनमै पुगेर गैंडा, भालुले आक्रमण गर्न थालेपछि बफर जोनमा पर्खाल तथा काँडेतार लगाउन थाल्यौं, त्यसले पनि जंगली जनावर घर आँगनमै पुगेर आक्रमण गर्न कमी भएको छ,’ उनले भने।
वन्यजन्तु र स्थानीयबीचको द्वन्द्व घटाउने काममा मध्यवर्ती क्षेत्र, डब्लुडब्लुएफको तराई परिधि कार्यक्रम, प्रदेश सरकार र कावासोती नगरपालिकाले सहयोग गर्दै आएका छन्।
स्थानीयमा सचेतना बढेसँगै झण्डै आठ सय ३० हेक्टर बुट्यानसहितको क्षेत्र अहिले घनाजंगल बनेको छ। पहिले दैनिकजसो जंगलमा काठ दाउरा काट्ने युवाहरू काठ तस्करी नियन्त्रणमा लागेका छन्।
स्थानीयको सहभागितामा हरेक तीन महिनामा काठ दाउराको लागि खुला गरे पनि अरु समय जंगल जान बन्द गरिएको छ।