तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले निर्माण गरेको पाल्पाको अर्गली दरबार अहिले खण्डहर बनेको छ। पाल्पामा रहेका दर्जनौं ऐतिहासिक स्थल तथा सम्पदामध्ये अर्गली दरबार पनि एक हो।
तानसेन नगरपालिका वडा नं. १४ स्थित यो दरबार अहिले भग्नावशेष मात्रै रहेको छ।
पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम उत्तरमा तानसेन रिडी सडकखण्डको अर्गलीदेखि ७ सय मिटरमाथि टाकुरामा दरबार रहेको छ।
विसं १९९७ सालमा दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको हत्यापछि जुद्धशमसेर सन्यासी जीवन बिताउने उद्देश्यले यो दरबार निर्माण गरेको बताइन्छ।
विसं. १९९७ सालमा सुरू गरी २००१ सालमा निर्माण सम्पन्न भएपछि जुद्धशमसेर कान्छी श्रीमती गम्भीर कुमारीका साथ २००२ सालदेखि २००७ सालसम्म यहाँ आई बसोबास गरेका थिए।
केही वर्ष बसेपछि गम्भीरकुमारीकी छोरी जनक राज्यलक्ष्मी (मिश्रिमैंया) लाई बकसपत्र दिई देहरादुन गएपछि यो दरबार वारेसनामा र बेचविखनको विवादमा पर्दै आएको छ।
अहिले दरबार र दरबार रहेको १२ रोपनी जग्गाको स्वामित्वको विवाद पाल्पा जिल्ला अदालतमा पुगेको छ। जनक राज्यलक्ष्मीले २०५८ साल जेठ १ गते वारेसनामा गरी नाति सञ्जयविक्रम शाहका नाममा पास गरिदिएकी थिइन्।
सञ्जयविक्रमले पनि २०६२ सालमा श्रीमती पुनम शाहका नाममा दरबारको जग्गा नामसारी गरिदिएका थिए। तर राज्यलक्ष्मीले २०६३ सालमा वारेसनामा बदर गरेको भन्दै २०६४ सालमा हाउजिङ कम्पनीलाई विक्री गरेपछि दरबार र जग्गा विवाद अदालतमा पुगेको हो।
तानसेन वडा नं. १४ का वडाअध्यक्ष कमल रानाका अनुसार अहिले पुनम र जिटी टेडर्स एण्ड हाउजिङ कम्पनी प्रालि पुल्चोकसँग दरबार र जग्गाको दुइटा लालपुर्जा रहेका छन्।
एउटै जग्गा २०६२ साल साउन ५ गते सञ्जयविक्रमले श्रीमती पुनमका नाममा र २०६४ सालमा राज्यलक्ष्मीले जिटी टेडर्स एण्ड हाउजिङ कम्पनी प्रालिका नाममा १५ लाखमा विक्री गरी नामसारी गरिदिएको मालपोत कार्यालयमा उल्लेख छ।
अहिले पुनम र हाउजिङ कम्पनीबीच विवाद छ।
माओवादीको सशस्त्र युद्धकालमा जिल्लाको मुख्य प्रशासनिक केन्द्र तानसेन दरबार आक्रमणमा अर्गली दरबारको पनि सबै कागजात नष्ट भएकाले यसको स्वामित्व विवाद समाधानमा समस्या भएको हो।
एकातर्फ दरबारको स्वामित्वको विवाद अदालतमा पुगेको छ भने अर्कोतर्फ यहाँका ऐतिहासिक वस्तुहरू नष्ट हुँदै गएका छन्।
स्थानीयवासीले यो दरबार निर्माणमा पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाबाट समेत जनश्रमदान गरिएकोले यसलाई सरकारीकरण गरी संरक्षण र उपभोग गरिनुपर्ने बताउँछन्।
वडा अध्यक्ष राना दरबार निर्माणमा यही क्षेत्रकै नागरिकको रगत पसिना मिसिएकोले यसलाई सार्वजनिक वा सरकारीकरण गरी संरक्षण र उपभोगका लागि माथिल्लो तहबाटै पहल गर्नुपर्ने बताउँछन्।
राज्यलक्ष्मीले २०५५ सालमै सँगै रहेको त्रिभुवन माविलाई दरबारको जग्गा विक्री गर्ने सहमति गरे पनि पछि जग्गा नदिएको रानाले बताए। यसअघि २०३८ सालमै दरबार क्षेत्रको करिब ४० रोपनी जग्गा र चारतले भवन केही खरिद र केही दान स्वरूप विद्यालयले लिएको थियो।
बाँकी रहेको १२ रोपनी जग्गामा तीन तले दरबारको भग्नावशेष रहेको छ। गुल्मीको पवित्र तीर्थस्थल रिडी, कालीगण्डकी नदी, ऋषिकेश मन्दिर नजिक रहेकोले पनि यो दरबार पर्यटकीय रूपले समेत महत्वपूर्ण रहेको स्थानीय बताउँछन्।
दरबारमा बाथरुम, बैठककक्ष, पल्टन राख्ने स्थान, राजाका सुसारे बस्ने कक्ष समेत छन्।
स्वामित्व विवाद बढ्दै गएपछि दरबारको भत्किएका इँट्टा र काठ चोरी भएका छन्।
दरबारमा प्रयोग भएका इँट्टा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामग्री उच्च गुणस्तरका रहेको वडा अध्यक्ष रानाले बताए।
दरबारमा प्रयोग गरिएका इँट्टामा जुद्ध लेखिएको छ भने भुस, चुन र पकाएको माटो मिश्रित सामग्रीबाट जडान गरिएको छ।
पुराना काठ कुँदिएर बनाइएका झ्याल र ढोकाका चौकस एवं बार्दली अहिले पनि आकर्षक देखिन्छन्।