‘मन्त्रीज्यू हामीहरूको सजिलै जन्मदर्ता गराइदिने र नागरिकता लिने दिन कहिले आउँछ?’ केही दिनअघि बुटवलमा आयोजित किशोरी शिक्षाको लागि पैरवी एवं साक्षात्कारमा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग रुपन्देहीको कोटहीमाईकी रोशनी यादवले सोधेकी प्रश्न हो यो।
हाम्रो समुदायमा छोरीको जन्मदर्ता गरिदियो र नागरिकता बनाइदियो भने सम्पत्तिमा अधिकार खोज्छन् भन्ने गलत धारणाको कारण जन्मदर्ता र नागरिकता नबनाइदिने चलन छ, के हामी छोरी मान्छेलाई देशको नागरिक बन्ने अधिकार पनि छैन र? उनले प्रतिप्रश्न गरिन्।
रोशनी जस्तै रुपन्देही र कपिलवस्तुका विभिन्न गाउँपालिकाबाट आएका किशोर किशोरीहरूले सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग मधेशी समुदायमा छोरीहरूको किशोरी अवस्थामै विवाह गरिदिने र विद्यालय नपठाउने समस्यादेखि यौनहिंसा, दुर्व्यवहार र विभेदबारे खुलेर गुनासो राखे।
रुपन्देहीको ओमसतियाकी रन्जु पासीको प्रश्न थियो ‘गाउँघरका विषयमा महिलाहरूले केही सोध्यो खोज्यो भने तिमीलाई के चासो भन्छन्, के भइरहेको छ केही जानकारी दिँदैनन्, के महिलाहरू घरभित्रको कामलाई मात्रै हुन्?’
कोटहीमाईकै तिजा साहनीले छोरीलाई सानै उमेरमा विवाह गरिदिने र बच्चा जन्माउने कारण उनीहरूको स्वास्थ्य बिग्रिएपछि घरबाटै निकालिदिने गरेको गुनासो गरिन्।
‘छोरी मान्छेको सानो उमेरमै विवाह गरिदिने र बच्चा जन्माउँदा उनीहरूको स्वास्थ्य बिग्रिएपछि घरबाट निकालिदिन्छन्, माइतीले पनि तिम्रो घर ससुराल हो भन्छन्, के छोरी मान्छेको कुनै घर नै हुँदैन?’
किशोरीहरूका विषयमा किशोरीमात्र होइन किशोरहरू पनि आवाज उठाउन थालेका छन्।
रुपन्देहीको कोटहीमाईका सन्तोष पासीले महिलाहरू घरभित्रैदेखि बाहिर कतै पनि सुरक्षित नभएको भन्दै महिलामाथि भइरहेको यौन शोषण हटाउन मन्त्री बरालसमक्ष आग्रह गरे।
कोटहीमाईकै सुरज पासीले परपुरुषसँग सम्बन्ध राखेको भन्दै महिलालाई गाउँ निकाला गर्ने त्यही समाजले परस्त्रीसँग सम्बन्ध राख्ने पुरुषलाई भने चोखो देख्ने प्रवृत्तिलाई हटाउनुपर्ने बताए।
केयर नेपालले गाउँपालिका तहमा किशोरी समूह र जिल्ला तहमा किशोरी अधिकार मञ्च गठन गरी किशोर किशोरीहरूका मुद्दामा छलफल तथा बहस गर्न थालेपछि मधेशी समुदायका किशोरीहरू पनि आफ्ना समस्या खुलेर राख्न सक्ने भएका हुन्।
उनीहरूले किशोर अवस्थामा देखापर्ने समस्यादेखि घरपरिवार र सामाजिक मुद्दामा समेत छलफल गर्न थालेका छन्।
बालविवाह, बहुविवाह, मादक पदार्थ सेवन, घरेलु हिंसा, लैंगिक विभेद, जातीय विभेद, जुवा तास तथा अन्धविश्वास जस्ता मुद्दाको बारेमा समूहमा नियमित छलफल गर्न थालेका छन्।
आफ्नै घर र समाजमा देख्दै र भोग्दै आएका समस्याकाबारे नियमित भइरहने छलफलले गाउँघरमा त्यस्ता समस्या हट्दै जानुको साथ आफूहरूमा सकारात्मक सोच र जीवन उपयोगी सीपको समेत विकास भएको उनीहरू बताउँछन्।
ओमसतियाका दिक्षा पाण्डे आफ्नो परिवारमा छोराछोरीमा त्यस्तो विभेद नभए पनि एउटै गाउँका मधेशी समुदायका किशोरीमाथि हुने गरेको विभेदविरूद्ध आवाज उठाउन समूहमा आवद्ध भएको बताउँछिन्।
समूहमा आवद्ध भएपछि पहाडी समुदायभन्दा मधेशी समुदायका किशोरी र महिलाहरूमाथि धेरै विभेद हुने आफूले देखेको उनी बताउँछिन्।
‘आफू सँगैको साथी ऊ स्कुल जान पाउँदैन, सानो उमेरमै विवाह भएर सानैमा आमा बन्नुपर्छ, घरपरिवारको कुटाई, दुर्व्यवहार, उसको कमजोर स्वास्थ्य, मैले नभोगे पनि साथीको यस्तो अवस्था देख्दा मन पोलेर आउँछ,’ उनी भन्छिन्।
ओमसतियाकै मिना पासीको घरमा १५ वर्षमै विवाह गरिदिने कुरा भयो।
बुवाआमा, दाजु भाउजु सबै उनको १५ वर्षमै विवाह गरिदिने तयारीमा थिए। मिनाले मानिनन्। बुवाआमालाई सम्झाइन्, आफ्नो विवाह गर्ने उमेर नभएको र सानैमा विवाह गर्दा पछि आउने समस्याबारे आमालाई बुझाइन्, बुवाआमा उनको कुरामा सहमत भए सानो उमेरमै हुन लागेको उनको विवाह टर्यो।
अहिले २१ वर्ष पुगेकी मिना किशोरी समूह ओमसतियाकी अध्यक्ष भएर बालविवाह, बहुविवाह, घरेलु हिंसाविरूद्ध समुदायमा सचेतना जगाउँदै हिँड्छिन्।
बीचमा पढाइ छोडेर घरमा बसेका र विद्यालय नगएका किशोरकिशोरीलाई विद्यालय पठाउन अभिभावकलाई सम्झाइ बुझाइ गर्छिन् उनी।
‘हाम्रै पहलबाट अघिल्लो वर्ष पढाइ छोडेर बसेका ८ जनालाई फेरि विद्यालय भर्ना गराउन सकेका थियौं,’ उनले भनिन्।
अन्जनी हरिजनलाई विद्यालयमा हुने खेलकुद प्रतियोगितामा भाग लिन मन लाग्छ। तर तराई क्षेत्रका विद्यालयमा अझै पनि खेलकुद प्रतियोगितामा छात्रालाई भाग लिन दिइँदैन। उनले आफूहरू त्यस्तो परम्परा हटाउन लागिरहेको बताइन्।
मधेशमा बालविवाहको चलन अझै कायमै छ।
त्यसमा पनि दलित, डोम लगायत मुसहर समुदायमा बालविवाहको चलन बढ्दो छ।
किशोर किशोरीहरूलाई बालविवाह, बहुविवाह, मादक पदार्थ सेवन, घरेलु हिंसा, लैंगिक विभेद, जातीय विभेद, जुवा तास तथा अन्धविश्वास जस्ता मुद्दाको बारेमा बहस र छलफल गर्न भैरहवास्थित सिद्धार्थ सामुदायिक समाजले सहजीकरण गर्दै आएको छ।
किशोरकिशोरीमार्फत् नै बालविवाह, लैंगिक विभेद तथा घरपरिवार र समाजमा भइरहेका कुसंस्कारमा कमी आउने भएपछि क्षमता बढाएर उनीहरूलाई नै अगाडि सारिएको सिद्धार्थ सामुदायिक समाजकी अध्यक्ष समिता मल्ल बताउँछिन्।
गाउँघर, टोल र समाजमा देखिएका समस्याहरूको सूची भने उनीहरू आफैं तयार गर्छन्।
ती समस्याहरूको समाधानका लागि आफैं पहल गर्छन्।
बालविवाह हुँदै गरेको थाहा पाए समूहमा भएका सदस्यहरू त्यही घरमा पुगेर बुवाआमालाई सम्झाइबुझाइ गर्छन्।
‘कतिपयले हाम्रो कुरा सुन्नुहुन्छ, विवाह पनि रोक्नुहुन्छ कतिपयले त तिमीहरूले हामीलाई सिकाउने भन्दै हप्काउनुहुन्छ,’ दिक्षा भन्छिन्।
उनीहरूले बालविवाह, बहुविवाह, चेलिबेटी बेचबिखन जस्ता सामाजिक कुसंस्कारविरूद्ध सचेतीकरणका लागि घरदैलो भेटघाट, वक्तृत्वकला, हाजिरी जवाफ र सडक नाटक देखाउँदै आएका छन्। सडक नाटकका लागि बनाइएको नाट्य समूहले सम्झाएर नसम्झनेहरूलाई नाटकबाटै सम्झाउने गर्छ।
समूहमा उनीहरूले किशारावस्थामा आउने शारीरिक परिवर्तन, महिनावारी, प्याडको प्रयोग, त्यसको सरसफाइ र व्यवस्थापनबारे पनि छलफल गर्ने गर्छन्।
किशोर किशोरीहरूको गुनासो सुनेपछि मन्त्री बरालले मधेशी समुदायमा सामाजिकसँगै साँस्कृतिक संरचनाको कारण पनि बालविवाहको समस्या रहेको भन्दै यसलाई सचेतनाबाटै हटाउनुपर्ने बताए।
उनले अहिले किशोरकिशोरीप्रति आएको सचेतनाले भोलिको समाज सुन्दर बन्नेमा आफू विश्वस्त रहेको बताए।
किशोरी अधिकार मञ्च रुपन्देही र कपिलवस्तुको संयुक्त आयोजनामा भएको कार्यक्रममा किशोरी सशक्तिकरणका लागि ऐक्यवद्धताका लागि मन्त्री बरालले हस्ताक्षर गरेका थिए।
साथै, रुपन्देही कपिलवस्तुबाट संकलन गरिएको हस्ताक्षरलाई किशोरी अधिकार मञ्च रुपन्देहीकी अध्यक्ष पुष्पा हरिजनले मन्त्री बराललाई बुझाएकी थिइन्।