बुटवलकी प्रतिक्षा रिजाल बेहुलाको पर्खाइमा बेहुली बनेर सजिइरहँदा मधु पौडेललाई पनि बेहुलो हुन हतारो थियो।
बेहुलीको घरमा केराको खम्बा र स्वामीको लिंगो गाडेर बनाइएको मण्डपमा विवाह कार्य भइरहँदा बेहुलाको घरमा भने महिलाहरू रत्यौली गाएर नाचिरहेका थिए।
बेहुली लिन बुवा-आमाको हातबाट टिका र दिदीको हातबाट माला लगाएर बिदाइ भएका मधु बेहुली लिएर फर्किंदा पनि घरमा रत्यौली चलिरहेकै थियो।
विवाहको लगन नहुने पुस महिनामा बुटवल देवीनगरमा बनिबार आठ जोडी बेहुला-बेहुली बनेका थिए।
तिनाउ नदी किनारमा एकै स्थानमा सजिएका आठ जोडी बेहुला-बेहुली वास्तविक भने थिएनन्। उनीहरू बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजित रत्यौली प्रतियोगितामा सहभागी प्रतियोगी थिए।
रातो बनारसी सारी, घुम्टो, गरगहना र श्रृङ्गारमा बेहुली बनेकी बुटवलकी नयना कुँवर र ढाकाको दौरा सुरुवाल, टोपी, ढाकाकै जुत्ता, कम्मरमा खुकुरी र कालो चश्मामा बेहुलाको भेषमा सजिएकी ऋतु सौगातलाई झट्ट हेर्दा साँच्चैका बेहुला-बेहुली लाग्थे।
प्रतियोगितामा तितेपाती महिला समूहबाट बेहुला-बेहुलीको भूमिकामा अभिनय गरेका नयना र ऋतुले विवाहमा रत्यौली गीतको मार्मिक अर्थ रहने र त्यही मार्मिकतलाई बुझाउन आफूहरूले अभिनय गरेको बताए।
प्रतियोगितामा बेहुली लिन बेहुलालाई घरबाट बिदाइ गरेदेखि बेहुली भित्र्याउँदासम्मको क्रियाकलाप रत्यौली गीतमार्फत देखाइएको थियो।
‘बा आमा लाइदिनुस् टिका, शुभ साइतमा नहोस् है मन फिका’ भन्दै बुवा-आमाबाट बिदाइ मागेका बेहुलाले ‘दिदी लाइदिनुस् माला, बुहारी आउँदै छिन् यो साल’ भन्दै दुबोको माला लगाउँदाको दृश्य निकै मार्मिक रुपमा रत्यौलीमा देखाइएको थियो।
छोरो विवाह गर्न जाँदा देखिने आमाको खुसी र असन्तुष्टिलाई पनि रत्यौली भाकामा जोडिएको थियो।
गयौ बाबु फूलमाला भिरेर, दुधको भारा सारीले तिरेर
आमाको दुधको भारा, एउटा सारीमा नटार
नौं महिना गर्भमा राखेर जन्म दिई हुर्काएको छोरो बुहारी लिएर आएपछि आफूबाट टाढा हुन्छ कि भन्ने डर र भयसहितको मर्मस्पर्शी भावनालाई प्रतियोगीले रत्यौलीमार्फत व्यक्त गरेका थिए।
थिरीथिरी गरेर हिँड्दा, खुसी लाग्थ्यो आमा र बाउ चिन्दा
बोकेर मेलामा गएको, नबिर्से दसधारा दुध खाएको
बाबु काखैमा लुकी, थियौ नि मुटुको ढुकढुकी
गयौ बाबु बनेर बेहुला, पछि साथ देउला कि नदेउला
रत्यौली लिएर जब प्रतियोगी समूह मञ्चमा पुग्थे दर्शकहरूको ध्यान मञ्चतर्फ आकर्षित हुन्थ्यो।
उनीहरूले विवाह सकिएर माइतीबाट बिदाइ हुँदै गर्दा रोइरहेकी बेहुलीलाई बेहुलाले सम्झाई बुझाई गरेको र घरमा लक्ष्मीको रुपमा बुहारी भित्र्याउँदै गर्दा दिदीबहिनीको खुसी समेत प्रस्तुत गरिएको थियो।
नरोउ प्यारी नझार आँशु, तिम्री आमा बिर्साउने छन् सासु
बुहारीले टेकेको पाइलो, हेर आमा घर कति रमाइलो
विवाहपछि घर गृर्हस्थी चलाउन वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाहरूको पीडा र घरमा बृद्ध अवस्थाका बुवाआमालाई एक्लै छोडेर सहर पसेका छोरा-बुहारीलाई पनि रत्यौलीमार्फत सन्देश दिइएको थियो।
कसले देला आमालाई पानी, मैले उसलाई जहाँ गए उही लाने
छोरो विदेश बाउआमा रमाउने, बैंकको चाबी बुहारी समाउने
तराई क्षेत्रमा व्याप्त दाइजो प्रथाका कारण वर्षेनी कैयौं महिलाहरू अनाहकमा जीवन गुमाउन बाध्य छन्। प्रतियोगीहरूले अब छोरीहरूलाई विवाहमा दाइजो होइन, उनीहरूलाई आत्मनिर्भर बनाउने खालको शिक्षा र नेपाली भूमिमा गर्ने परिश्रमका लागि सिप र ज्ञान दिनुपर्छ भन्ने सन्देश दिएका थिए।
दाइजो होइन शिक्षा देउ छोरीलाई, सुख हुन्छ जिन्दगीभरिलाई
औद्योगिक क्रान्ति ल्याउ कृषिमा, अन्नजस्तै सुन फल्छ धर्तीमा
यसक्षेत्रका पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका गाउँघरमा गाइने रत्यौली विवाहको महत्वपूर्ण अंश मानिन्छ। पुरुषहरू बेहुली लिन जन्ती गएपछि घरमा रहेका महिलाले रातमा गाउने मौलिक गीतलाई रत्यौली भनिएको बुढापाका बताउँछन्।
घरमा पुरुष नभएको मौकामा महिलाले पुरुषको पोशाक लगाएर जिस्किँदै नाच्ने भएकोले पुरुषहरूले रत्यौली सुन्नु र हेर्नु हुँदैन भन्ने मान्यता रहीआएको छ। तर, पछिल्लो समय भने रत्यौली सभ्य र समाजले सजिलै पचाउन सक्नेगरी गाउन थालेपछि विवाहको महत्वपूर्ण सांस्कृतिक अंश बनेको छ।
विवाहमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि नयाँ पुस्तालाई जानकारी दिन औद्योगिक व्यापार मेलामा रत्यौली प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए।
कुल १५ समूहले भाग लिएको प्रतियोगितामा शनिबार आठ समूहले प्रस्तुति दिएका थिए। १५ वटै समूहको प्रस्तुतिपछि उत्कृष्ट समूह घोषणा गरिने सांस्कृतिक कार्यक्रम संयोजक टंक गैरेले जानकारी दिए।