दाङ तुलसीपुरकी मिना नेपाली बादीलाई श्रीमानबाट अधिकार पाउन विवाह गरेको २६ वर्ष पर्खिनुपर्यो। १४ वर्षको उमेरमा अन्तरजातीय विवाह गरेकी मिनालाई विवाहपछि श्रीमानले घर भने लगेनन्।
मिना नेपालगञ्जमा सिलाईकटाई सिक्थिन्, सोही क्रममा उनको लामा थरका व्यक्तिसँग प्रेम बस्यो, पछि उनीहरुले विवाह गरे। विवाह गरेपनि उनलाई घरमा लैजान भने सकेनन्, उनी बाहिर डेरा लिएर बसिन्।
मिनाले विवाह दर्ता गर्न र छोराहरुको जन्मदर्ता गराउन २६ वर्ष पर्खिईन्, श्रीमानसँग श्रीमती र छोराको अधिकार मागिरहिन्। दुई वर्ष भयो श्रीमानले घरमा भित्र्याएको।
बादी समुदायका महिलाहरु दुःख गरेर अन्य पेशा गरे पनि समाजले फरक दृष्टिकोणले हेर्ने गरेका कारण श्रीमानले घरमा लैजान नसकेको उनले बताइन्। ‘हाम्रो परिवारमा बाबुबाजेको पालादेखि नै देहव्यापार हटिसकेको भएपनि म सधै बादीको छोरी भइरहेँ’ उनले भनिन् ‘समुदायका महिलाले अरु पेशा व्यवसाय गरे पनि समाजले भने सधै हाम्रो पुर्खाको इतिहाससँग जोडेर हेरिरह्यो।’
दाङकी सृजना बादी (नाम परिवर्तित)ले आठ वर्षअघि माथिल्लो जातिको युवकसँग विवाह गरिन्। प्रेम विवाह गरेपनि उनले समाजबाट दुव्र्यवहार र श्रीमानबाट यातना पाईरहिन्।
लगातार दुव्र्यवहार र यातना भोग्नुपरेपछि उनले श्रीमानसँगको वैवाहिक सम्बन्ध विच्छेद गरिन्। उनीहरुबाट जन्मिएको एक छोरा सृजना आफैले राखेकी छन्। ‘समाजले हामीलाई सधै नराम्रो नजरले हेरिरह्यो, अरु समुदायका व्यक्तिहरु हाम्रो जात भन्नेबित्तिकै टाढा भइहाल्ने घुलमिल हुन नचाहने’ उनी भन्छिन्।
यी त प्रतिनिधि पात्र मात्र हुन्। मिना र सृजनाले भोगेका समस्या अधिकांश बादी समुदायका महिलाका साझा भोगाई र समस्या हुन्। वर्षौअघि नै बादी समुदायका महिलाहरुले यौन पेशा चलाउन बन्द गरेपनि समाजको नजर नबदलिएकोमा उनको चित्त दुख्छ। ‘हाम्रो समुदायमा पहिले केहीले त्यस्तो पेशा गरेहोलान् तर हामीलाई त्यसको सजाय किन दिइन्छ?’ मिना प्रश्न गर्छिन् ‘अरु जातिका महिलाले यौन पेशा गरेपनि हाम्रै समुदायको नाम बेचिरहेका छन्, प्रहरीले होटलमा छापा मार्छ, अरु जातिका महिला युवती पक्राउ गर्छ, मिडियामा आउँदा बादी समुदायका महिलाहरु यौन पेशामा संलग्न भनेर समाचार आउँछ’ उनले दुखेसो गरिन्।
केही वर्ष अघिसम्म बादी समुदायका पुरुषहरु मादल बनाउने र माछा मार्ने गर्थे। महिलाहरु यौन पेशा गर्थे तर, अहिले महिलाहरुले यौन पेशा गर्न छोडेका छन् उनीहरु बाख्रापालन, बंगुर पालन, कृषि तथा अरु सिपमुलक काम गर्न थालेका छन्।
बादी समुदायको सबैभन्दा ठूलो समस्या गरिबी भएकोले राज्यले आयआर्जनको लागि सहयोग गर्नुपर्ने मिनाको भनाई छ। ‘हामीलाई अहिलेसम्म जति सहयोग भएको छ सबै गैरसरकारी संस्थाले गरिरहेका छन्, राज्यले कुनैपनि सहयोग गरेको छैन, पहिलो त हामीलाई आर्थिक रुपमा बलियो बनाउनुपर्यो त्योसँगै मानसम्मान पनि चाहियो’ मिना भन्छिन्।
वर्षैपिच्छे बादी समुदायका दस्तावेज लेखेर समस्या देखाईरहेपनि माथिल्लो तहमा आफूहरुको प्रतिनिधित्व नहुँदा समस्या सम्वोधन नभएको उनीहरुको बुझाई छ। सबैभन्दा बढी राज्यबाटै पीडित र अपहेलित हुने गरेको उनीहरु बताउँछन् ।
कमिट नेपाल दाङका अध्यक्ष सितारा नेपाली बादीलाई अरुले गाली गलौज गर्दा समेत आफ्नो जातिलाई जोडेर गरेको सुन्दा नमिठो लाग्छ।
उनले अहिले दाङमा त्यस्तो अवस्था नभएपनि रोजगारीको कमी हुँदा माथि उठ्न गाह्रो रहेको बताउँछिन्। ‘अहिले पढेलेखेका छन् तर रोजगारीको कमी छ, विगतकै छापले छोरीहरु बाहिर खुलेर हिँड्न हिच्किचाउँछन्’ उनले भनिन्।
स्थानीय तहले गर्ने सहयोगका कार्यक्रममा समेत आफूहरु सूचना पाउनबाट वञ्चित हुने गरेको उनले बताइन्। पढेका महिलालाई त्यही अनुसारका काम र नपढेका महिलाहरुलाई बाख्रापालन, बंगुर पालन, च्याउखेती, माहुरीपालन जस्ता व्यवसायमा सघाउन उनले आग्रह गरिन्।
समाजले लगाउने लाञ्छना र दुव्र्यवहारबाट जोगिन कतिपयले बसाईसराई गरी थर र जात समेत लुकाउने गरेपनि आफूले भने आफ्नै जात र थरबाट पहिचान बनाउन लागिरहेको उनले बताइन्।
समाजले गर्ने व्यवहार देखेर छोराछोरीले थर परिवर्तन गरौं भनेपनि आफू आफ्नै जात र थरबाट पहिचान बनाउन लागेको उनले बताइन्। ‘राम्रो वा नराम्रो जुन काम गर्ने हो कुनै जात र थरले होइन मानिस आफैले हो, हामी बादी समुदायकै भएर समाजमा राम्रो काम गर्ने भनेर चिनिनुपर्छ भनेर छोराछोरीलाई हौसला दिने गर्छु’ उनले भनिन्।