बोराको थुप्रोले थिच्दा भैरहवामा चार जनाको मृत्यु भएको छ। मृतक चारै जना एकै परिवारका हुन्।
बुधवार राति भएको उक्त घटनामा परी भारतको बिहार घर भई १२/१५ वर्षदेखि भैरहवामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशवराज ज्ञवालीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीमा भाडामा बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा फेला पारेका थिए।
उनीहरू सुतिरहेको कोठामा मैदाका खाली बोराहरू खात बनाएर राखिएको थियो। सुतेको बेला तिनै बोराका खात खसेर च्यापिन पुग्दा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।