रुपन्देहीको बुटवलकी रिना राना यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको अधिकारको क्षेत्रमा सक्रिय निलहिरा समाज रुपन्देहीमा काम गर्छिन्।
मेला महोत्सव तथा पर्व र अवसरहरूमा आयोजित साँस्कृतिक कार्यक्रममा आकर्षक नृत्य समेत प्रस्तुत गर्दै आएकी रिना आफू पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पर्छिन्।
सधैंजसो आफ्नै समुदायका युवायुवतीको हक अधिकारका लागि बिहानैदेखि खटिने रिनाको दैनिकी पछिल्लो डेढ महिना यता भने फेरिएको छ।
सधैंजसो आफ्नै समुदायका व्यक्तिहरूको बीचमा नाचगान र रमाइलोमै दिन बिताउने रिना अहिले भने सीप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छिन्। पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यकहरू संगठित बन्दै गएका छन्।
तर राज्यले अझै पनि सबै क्षेत्रमा महिला र पुरुषलाई प्राथमिकता दिएजस्तै तेस्रो लिंगीहरूलाई समेट्न सकेको छैन।
यसैबीचमा बुटवलमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई मात्रै लक्षित गरी फेसन डिजाइन तालिम सञ्चालन गरिएको छ।
रिना सोही तालिमकी सहभागी हुन्।
‘सधैं अर्कैको संस्था र अफिसमा काम पाइँदैन। त्यसैमाथि तेस्रो लिंगीलाई जो कोहीले काम पनि दिँदैन, नाचेर पनि सधैं जीविका चल्दैन सीप सिकेर आफ्नै व्यवसाय चलाउने योजना छ,’ उनले भनिन्।
लामो समय स्वतन्त्र रूपमा काम गरेको र हिँड्डुल गरेकी रिना दैनिक ६ घण्टा एउटै कोठामा बसेर कैंची र फिता छोपेर कपडा सिलाउँदा भने गाह्रो भएको बताउँछिन्। ‘यसरी काम गर्ने बानी परेको थिएन, त्यसैमा कहिल्यै नछोएको मेसिन चलाउन सिक्दा अप्ठ्यारो त लागिहाल्छ तर अहिले हात बस्दै छ,’ उनी भन्छिन्।
समाजमा आफूहरूलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भइनसकेकोले पनि आफूहरू आत्मनिर्भर बन्नुपर्ने उनी बताउँछिन्।
निलहिरा समाजसँगको सम्बन्धले चितवनबाट बुटवल आएकी रागिनी श्रेष्ठलाई डेढ महिनाको तालिमले पछि सटरमै भए पनि व्यवसाय चलाउने आत्मविश्वास बढाएको छ।
आफ्नै समुदायका साथीसंगीसँग रमाइलोमै दिन बिताउने रागिनीका दिन पनि अहिले कपडामा आकार दिँदै र मिलाउँदैमा बित्ने गर्छन्।
‘सुरूमा त केही अप्ठ्यारो भएको थियो अहिले बानी पर्दैछ,’ उनले भनिन्।
बुटवलकै दिया सारु आफूहरूको लागि यो नौलो र आवश्यक तालिम भएकोले सहभागी भएको बताउँछिन्।
‘यो हाम्रो समुदायको लागि नै भनेर आएको तालिम हो, त्यसैमा यस्तो तालिम हामीलाई आवश्यक पनि थियो।’
‘तेस्रो लिंगी भन्ने थाहा पाए अरूले रोजगारी पनि दिन खोज्दैनन्, हामीलाई जीविकोपार्जनको लागि पनि यस्तै स्वरोजगारका तालिम आवश्यक छ,’ उनले भनिन्।
तालिममा सिकेको सीपलाई व्यवसायिक बनाएर अरू समुदायका युवायुवतीलाई समेत सेवा दिने उनीहरूको लक्ष्य छ।
डेढ महिनाको अवधिमा व्लाउज, गाउन, कुर्ता, प्लाजो, पेटीकोट जस्ता कपडा सिलाउन सक्ने भएका छन्।
बुटवल उपमहानरगपालिकाले महिलाहरूलाई उद्यमी, स्वावलम्बी र कामकाजी बनाउन विशेष अभियान सुरू गरेको छ।
महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना शीर्षकको कार्यक्रममार्फत् महिलाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउने उपमहानगरको लक्ष्य छ।
सोही अनुरूप यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई फेसन डिजाइनसम्बन्धी तालिम सञ्चालन गरिएको हो।
यो तालिममा १६ जना यौनिक तथा अल्पसंख्यक सहभागी छन्।
प्रशिक्षक कमला चापागाई पहिलो पटक लैंगिक अल्पसंख्यकहरूलाई तालिम दिएकोले नौलो अनुभव भएको बताउँछिन्।
‘सुरूका दिनमा केही असहज लागे पनि अहिले त सहज लागेको छ, २० वर्षदेखि तालिम दिँदै आएको र यो अवधिमा झण्डै ५ हजारलाई तालिम दिए पनि तेस्रो लिंगी समुदायलाई दिएको भने पहिलो हो,’ उनले भनिन्।
प्रशिक्षक चापागाईंका अनुसार तीन महिनाको तालिम अवधिमा १२ देखि १५ प्रकारका पोशाक तयार गर्न सिकाइन्छ। तर सहभागीहरूले भने बेसिक कोर्षले मात्र नपुग्ने भन्दै अझै तीन महिनाको एडभान्स तालिम समेत ल्याउन माग गरेका छन्।
सशक्तीकरण नेपालका अध्यक्ष आनिक राना स्थानीय सरकारबाट पहिलो पटक यौनिक तथा अल्पसंख्यकहरूका लागि सञ्चालन गरिएको तालिमले आफूहरूको हौसला बढाइदिएको बताउँछिन्।
‘घरपरिवार र समाजबाटै अपहेलित तिरस्कृत हुँदै बसेका हामीहरूलाई यो तालिमले आत्मविश्वास बढाएको छ, यहाँ सीप सिकेर व्यवसायिक बन्ने लक्ष्य छ हामीलाई सफल बनाउने जिम्मेवारी पनि यही समाजको हातमा छ,’ आनिक भन्छिन्।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जुन समुदायको लागि पनि आत्मनिर्भर बन्न सीप चाहिने भएकोले यसपटक यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको लागि फेसन डिजाइनसम्बन्धी तालिम सञ्चालन गरिएको बताइन्।
महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजनामार्फत् सीप सिकाउने मात्रै नभई सिकेको सीपलाई व्यवहारमा उतार्ने स्वावलम्बी नागरिक उत्पादन गर्ने उपमहानगरपालिकाको योजना छ।
उपमहानरगरपालिका र यूएनडिपीले सञ्चालन गरेको तालिमलाई बुटवल टेक्निकल इन्स्टिच्यूटले व्यवस्थापन गरिहेको छ।
तेस्रो लिंगीको लागि फेसन डिजाइनसँगै पहिलो चरणमा महिलाहरूका लागि विभिन्न १२ प्रकारका विषयमा तालिम सञ्चालन भइरहेका छन्।
पहिलो चरणमा सुरू भएको तालिममा टुरिजम तथा हस्पिटालिटी, गार्मेट कटिङ मास्टर, इलेक्ट्रिकल, ढाका कपडा बुनाइ, कफीका परिकार बनाउने, हेयर कटिङ तथा श्रृंगार, फेसन डिजाइन तथा वारिष्टाजस्ता विषयलाई समावेश गरिएको छ।
बिटीआइको व्यवस्थापनमा सुरू गरेको यो परियोजनामा बुटवल उपमहानगरपालिका र राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको आर्थिक साझेदारी रहेको छ।
बुटवल उपमहानगरले ६४ लाख र यूएनडिपीले ६७ लाख गरी यो परियोजनाका लागि कूल एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।