रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएस आइटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो।
कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको जनाएको छ। सम्बन्धन प्राप्त भएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने तयारी गरिएका नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउने गरी नगरपालिका आफैंले कलेज सञ्चालन गर्न थालेको जनाएको छ।
नगरप्रमुख घिमिरेले समयक्रमसँगै कलेजलाई बहुमुखी कलेजको रूपमा विस्तार गरी अन्य संकायका कक्षा समेत सञ्चालन गर्ने योजना रहेको बताए।
नगरपालिकाको वडा नं. १४ सुपौलीस्थित साविक नर्मदेश्वर प्राविको जग्गामा निर्माण गर्न लागिएको कलेजको लागत ५ करोड १७ लाख अनुमान गरिए पनि कालिगण्डकी निर्माण कम्पनीले ३ करोड ७७ लाखमा ठेक्का लिएको नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए।
तीनवटा तलमा निर्माण हुने भवनमा २४ कोठा रहनेगरी भवन डिजाइन गरिएको छ। भवनको निर्माण कार्य एक वर्षमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ।
साविक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकोले सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ।
नगरपालिकाको दुई करोड र प्रदेश सरकारको समपुरकबाट छुट्याइएको दुई करोड गरी कलेज सञ्चालनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।
नगर प्रमुख घिमिरेले कलेजलाई नगरको गौरवको योजनाको रूपमा लिएको र कलेज सञ्चालनले नगरकै मुहार फेर्ने विश्वास व्यक्त गरे।
शिलान्यास कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमाले शिक्षामा विशेष महत्व दिएको उल्लेख गर्दै कलेज सञ्चालनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई फाइदा पुग्ने बताइन्।
प्राविधिक शिक्षा तुलनात्मक रूपमा महँगो हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पहुँच पुग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले आफैंले कलेज सञ्चालन गर्न थालेको हो।
नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य अनुप बराल, वडाध्यक्ष सोहन प्रसाद चौधरी लगायतले कलेज सञ्चालनको प्रक्रिया तथा आवश्यकताको बारेमा प्रकश पारेका थिए।