बुट्टासहितको ढाकाको चौबन्दी चोलो, सेतो र रातो बुट्टे ढाकाकै सारी। कम्मरमा रातो पटुकी र रातै डोरीले चुल्ठी बाटेको कपाल। कालो जुत्तासँगै सबैका मोजा समेत एउटै रङका।
एउटै उमेर समूहका उनीहरु जब हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर पञ्चेबाजा बजाउन सुरू गरे त्यहाँको माहोल नै फेरियो।
केही बेर अघिसम्म चौबन्दी चोलो र सारीसहित सजिएका उनीहरूलाई विवाहको लागि कुनै समूहमार्फत आएको टोली सम्झिएकाहरू नौमती बाजा बज्न थालेपछि हेर्न झुम्मिए।
‘टुङ टुङ... र झ्याइँ..झ्याइँं’ को तालमा ताल दिँदै सहनाइको सुरिलो लयमा तुतु...धुई...ई गर्दै नर्सिङ्गा र कर्नाल बज्न थालेपछि माहोल नै फेरियो।
कुनै जाति विशेष वा पुरूषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यता तोडिँदैछ।
ब्राहमण महिलाले बाजा छुन हुँदैन भन्ने समाजमा हुर्किएकी काठमाडौं गोंगबुकी पुनम भुसाललाई बाजा बजाउँदै विभिन्न ठाउँमा पुग्न सहज थिएन। पुनम त्यसअघि कुनै गैरसरकारी संस्थामा काम गर्थिन्। सोही क्रममा महिलालाई नौमती बाजा बजाउन सिकाई उनीहरुलाई व्यवसायीक बनाउने योजना बन्यो।
आफ्नो नजिक भएका महिला दिदीबहिनी तथा घरपरिवारसँग सल्लाहपछि नौमती बाजा बजाउन सिक्नकै लागि समूह तयार गरिन्। समूहमा आवद्ध महिलाहरूले त्रिपुरेश्वरस्थित घरेलु कार्यालयबाट प्राप्त सहयोगबाट तीन महिनाको तालिम लिए।
पूर्व प्रहरी धु्रवबहादुर परियारले नौमती समूहमा पर्ने सबै बाजा बजाउन सिकाए। तीन महिनामा सबै बाजा बजाउन निपूर्ण नभएपछि महिलाहरूले आफैले शुल्क तिरेर तालिम लिए। यो २०७१ सालको कुरा हो।
सुरूआतमा व्यवसायिक बन्न सकिएला नसकिएला भन्ने डर भएपनि तालिम लिँदै गर्दा उनीहरूमा आफ्नो सीपलाई व्यवसायिकता दिने आत्मविश्वास बढिसकेको थियो।
६ महिना लामो तालिमले दिएको सिपलाई व्यवसायिकता दिँदै २०७३ सालमा लोक सांस्कृतिक महिला नौमती बाजा समूहको स्थापना भयो।
कृष्णा क्षेत्री अध्यक्ष, पुनम भुसाल सचिव, अम्बिका परियार कोषाध्यक्ष रहेको लोक सांस्कृतिक महिला नौमती बाजा समूहमा विष्णु परियार, नम्रता भुसाल, सरिता परियार, राधिका परियार, रिता नेपाली र मीना परियार सदस्य छन्। धु्रव परियारले उनीहरुलाई बाजा बजाउन सिकाउँदै गुरुको जिम्मेवारी पुरा गर्दै आएका छन्।
सुरूआतमा छरछिमेकी र आफन्तबाटै टिकाटिप्पणी सुन्दै आएका उनीहरु अहिले भने विवाह, व्रतबन्ध तथा कुनैपनि शुभकार्यमा बाजा बजाउनकै लागि देशका विभिन्न सहर पुग्ने गरेका छन्।
गतहप्ता एउटा विवाहमा नौमती बाजा बजाउनकै लागि उनीहरु बुटवल आइपुगेका थिए। आफूहरू नौमती बाजा बजाएर उत्पादनशील कार्यमा लागेदेखि घरपरिवार र समाजमा सही सन्देश गइरहेको भुसाल बताउँछिन्। बाजा बजाउनको लागि बाहिर जाँदा आत्मबल बढेको र बजाएको देख्नेहरुमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको बुझाई छ।
समूहमा आवद्ध रहेका सबै महिला विवाहित छन्, छोराछोरी हुर्किसकेका छन् भने कतिपयका श्रीमान वैदेशिक रोजगारीमा त कतिपयका स्वदेशमै काम गरिरहेका छन्। तर सबै जनालाई घरपरिवारको राम्रो सहयोग छ।
पुनमका श्रीमान राजु भुसाल श्रीमतीको कामबाट अत्यन्त खुसी लागेको बताउँछन्। ‘पश्चिमा संस्कृति भित्रिन थालेपछि नौमती बाजाको संस्कृति लोप भएर गएको थियो, यस्तै समूहले बजाउन सुरू गरेपछि अहिले नौमती बाजा बज्न थालेका छन्’ सेतोपाटीसँग उनले भने ‘त्यसमा पनि महिलाहरू यो अभियानमा अग्रसर हुँदा सबै क्षेत्रबाट प्रशंसा हुने गरेको छ।’
विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरूको स्वागत र विदाई, राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा नौमती बाजा बजाउन आफूहरूलाई निमन्त्रणा आउने गरेको उनीहरु बताउँछन्।
आमाहरूको मेहनत र सक्रियतामा छोराछोरीले समेत हौसला थपिदिएका छन्। ११ कक्षामा पढ्ने पुनमका छोरा प्रज्वल भुसाल आमाले गर्दै आएको कामबाट आफूलाई पनि काम जस्तोसुकै पनि गर्न हुन्छ भन्ने हौसला मिलेको बताउँछन्। ‘साथीहरुले तिम्रो आमाले बाजा बजाएको देखेँ भन्छन्, मलाई खुसी लाग्छ, मेरो आमाले महिलाले यस्तो काम गर्नुहुँदैन भन्ने सोच्नु भएन, हिम्मत गर्नुभयो,’ उनले भने।
समूहकी अध्यक्ष कृष्ण क्षेत्री पैसाको लागि मात्र नभई सांस्कृतिक परिवर्तनको लागि बाजा बजाउने काम सुरू गरेको बताउँछिन्। ‘यो कामबाट भन्दा अरू पेशा गरेपनि पैसा कमाउन सकिन्थ्यो, तर हाम्रो कामबाट समाजमा अरू महिलामा सशक्तीकरण र सचेतना जागृत होस् भन्ने हाम्रो उद्देश्य हो’ उनले भनिन्।
सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा साउती गर्नेहरूले पनि अहिले प्रशंसा गर्ने गरेको उनले बताइन्।। ‘अर्कोतर्फ गाउँघर र बजारमा लोकबाजा, पञ्चेबाजा बज्न छोडेको अवस्थामा समूहबाट सुरू भएपछि अहिले नौमती र पञ्चेबाजाका धुन गुञ्जिन थालेका छन्’ उनले भनिन्।
पञ्चेबाजा भनिए पनि यो समूहमा ९ जनाको टिम आवश्यक पर्छ। दुईजनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाह बजाउँछन्। समूहमा एकएक जनाले ढोलकी, ट्याम्को र झ्याली बझाउँछन्। नांै वटा बाद्यवादनलाई एउटै सुर र तालमा मिलाएर एकैपटक बजाएको हेर्दा जति आनन्द लाग्छ बजाउन पक्कै पनि सजिलो छैन, तर उनीहरूको मेहनत र लगनशिलताले सहज बनाएको छ।
‘कसले के भन्छ, कसले कसरी हेरेको छ भन्नेतिर ध्यानै गएन, जसरी पनि राम्रोसँग बाजा बजाउनुपर्छ भन्नेतर्फ ध्यान गयो यसले पनि सिक्न र बजाउन सजिलो भयो’ कृष्णा भन्छिन्।
समूह तयार गरेपछि नौमती बाजा बजाउन देशका विभिन्न जिल्लाबाट निम्ता आउन थालेकाले लगनको महिना उनीहरूलाई भ्याईनभ्याई हुने गर्छ।
बाजा बजाउनकै लागि उनीहरू काठमाडौं बाहिर बुटवल, चितवन, गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकसम्म पुग्ने गरेका छन्। खासगरी बैशाख, माघ, फागुन, मंसिर, असार, असोज महिनामा पर्ने विवाहका लगनमा कामको चाप हुने गरेको उनीहरू बताउँछन्।
त्यस बाहेक अरू महिनामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, सुटिङ तथा मेला महोत्सवमा समेत महिला बाजा समूहको माग बढ्न थालेको छ।उनीहरुको माग यति बढेको छ, की दुई तीन हप्ता मात्र होइन विवाह तथा ब्रतबन्धको तिथिमिति तय भएपछि दुई तीन महिना पहिलेदेखि नै बाजा बजाउने दिन बुकिङ हुन्छ।
भारतमा रहेको क्षेत्री समाजले बैशाख महिनामा आयोजना गर्ने सांस्कृतिक कार्यक्रमको लागि फागुनमै बुकिङ गरिसकेको पुनमले बताइन्।
‘सिजनमा त फुर्सद नै हुँदैन, ‘सिकेर राम्रै ग¥यौं भन्ने लाग्छ, दुईचार हजार कमाउन त अरू व्यवसायमा पनि कमाइन्थ्यो तर संस्कृति जोगाउने कार्यमा हाम्रो केही योगदान समेटिएको छ, यसैमा सन्तुष्ट छौं,’ पुनमले भनिन्।
सुरूका दिनमा विवाहमा के कार्य गर्दा कस्तो धुन बजाउने भन्ने बुझ्न समय लागेपनि अहिले भने उनीहरु अभ्यस्त भइसकेका छन्। कतै अलमल भइहाले सँगै रहेका गुरू धु्रवले सघाउँदै आएका छन्।
नौमती बाजाका बाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैले बोक्छन्, आफैले बजाउँछन्। यो समूहमा ४० देखि ५५ वर्षसम्मका महिला आवद्ध छन्।