दसैँतिहारका बेला आफ्नो गाउँघर फर्किएजस्तै अहिले फेरि विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट सुरक्षित रहन गाउँघर फर्किनेको भीड देखिने गरेको छ।
विभिन्न पेशा व्यवसाय तथा अध्ययन र जागिरको कारण सहरमा बस्नेहरू यतिबेला घर फर्किन थालेका छन्। गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लुङ लगायतका जिल्लाबाट बुटवल, भैरहवामा बसोबास गरेकाहरू केही दिनका लागि भन्दै गाउँ फर्किन थालेका छन्।
जसले गर्दा बुटवल बसपार्कमा यात्रुको भीड देखिएको छ। बुटवल बसपार्कबाट यसक्षेत्रका पहाडी जिल्लाहरुमा नियमित रुपमा छुट्ने भन्दा धेरै संख्यामा बस छुट्ने गरेका छन्।
यात्रुहरुको संख्या बढेपछि यातायात व्यवसायीले पहाडी जिल्लामा जाने बसको संख्या थप गरेका छन्। पश्चिम नेपाल बस व्यवसायी प्रालिका उपाध्यक्ष जीवनकुमार बञ्जाडेले दसैँ तिहारको समयमाजस्तै यात्रुहरुको चाप बढेपछि सवारी साधन थप गरेर भएपनि पठाउने गरेको जानकारी दिए।
बुटवलबाट गुल्मीका विभिन्न स्थानलाई गन्तव्य बनाएर अन्य समयमा दैनिक ४८ वटा बस जाने गरेकोमा पछिल्लो चारदिन यता दैनिक ५४ वटा बस जाने गरेको बञ्जाडेले बताए।
त्यस्तै अर्घाखाँची, पाल्पाको रामपुर, प्यूठान, बाग्लुङ लगायतका जिल्लामा छुट्ने बसहरुको संख्या पनि थप गरिएको छ।
सामान्य अवस्थामा आधा संख्यामा सिट खाली भएर गुड्ने बस पनि अहिले यात्रुहरुले खचाखच भरिने गरेका छन्। ‘अहिले बसको सबै सिट ‘प्याक’ हुने गरेको छ’ कम्पनीका कार्यालय प्रमुख कृष्ण भट्टराईले भने।
बुटवलबाट बाहिरिने मात्र होइन काठमाडौंबाट बुटवल आउनेकोे संख्या पनि दसैँतिहारमा जस्तै बढ्ने गरेको छ। आइतबार मात्रै नियमित रुपमा जाने बस बाहेक १२ वटा थप खाली बस यात्रु लिन काठमाडौंका लागि पठाइएको कम्पनीका उपाध्यक्ष बञ्जाडेले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि आइतबारदेखि चैत २१ गतेसम्म सरकारले अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेपछि सर्वसाधारण आ–आफ्नै घर फर्किएका हुन्।
हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित बिरामी फेला नपरे पनि छिमेकी मुलुक भारतमा संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएपछि नेपाल पनि उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ।