बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।
सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।
थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए।
घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।
थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।
‘उहाँलाई अरू केही रोग भएको पनि देखिएको छैन,’ डाक्टर थापाले भने।
कोरोना हो कि भनेर आइतबार उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो।
‘तर रिपोर्ट आइसकेको छैन,’ डाक्टर थापाले भने,‘उताबाट सोमबारसम्म आउने जानकारी आएको छ।’